अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१२ | Colorodo: 13:27

बुढीगण्डकी आयोजना कार्यालय तोडफोड, प्रहरीले हान्यो २१ राउन्ड अश्रुग्यास

बिआरटीनेपाल २०७३ मंसिर १६ गते २०:१६ मा प्रकाशित

गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालयमा प्रभावित क्षेत्रका बासिन्दाले ताला लगाउन खोजेपछि आज झडप भयो ।

बूढीगण्डकी राष्ट्रिय सरोकार समितिको आह्वानमा बिहानैदेखि सिउरेनीटार पुगेका प्रभावित क्षेत्रका बासिन्दाले कार्यालयमा ताला लगाउन खोजेपछि झडप भएको हो ।

दिउँसो ३ बजेपछि करिब २० मिनेट झडप भएको हो । प्रभावितले कार्यालयमा ताला लगाउने प्रयास गरेपछि प्रहरीले रोकेको थियो । कार्यालयको ढोकामा ताला लगाउन पुगेका सरोकार समितिको टोलीलाई प्रहरीले रोकेपछि कार्यालय परिसरमा रहेका प्रभावितले ढुङ्गा प्रहार गरी कार्यालय तोडफोड गरेका हुन् ।

१० वटा सार्वजनिक बस रिजर्भ गरी घेराउ गर्न आएका स्थानीयवासीहरुले ताला मार्न खोजे पछि प्रहरीसँग भीडन्त भएको थियो । आन्दोलनकारीले कार्यालय तोडफोडमा उत्रेपछि प्रहरीले २१ सेल अश्रुग्यास प्रहार गरी भीडलाई तितरबितर पारेको थियो । प्रहरीले तोडफोडमा संलग्न भन्दै ६ जनालाई गिरफ्तार समेत गरेको छ ।

बेनीघाट प्रहरीले तोडफोडमा संलग्न रहेको आरोपमा गोरखा नाम्जुङ-१ का २९ वर्षीयलाई दीपेन्द्र पोखरेललाई गोरखा प्रहरीलाई बुझाएको छ ।

सरकारले जग्गाको ११ वटा वर्गाीकरण गरि ५ लाख ५३ हजारदेखि पौनै ९ लाख सम्मको मुअब्जा तोक्दा पनि दोब्बर हुनु पर्ने माग राख्दै स्थानीयहरु विरोधमा उत्रेका छन् । ‘डुबान क्षेत्रमा १ सय १० रोपनी जग्गा भएकाहरुले जग्गाको भाउ बढाउन आन्दोलनलाई चर्काईरहेको, वर्षौ अघिदेखि राजधानी र चितवन बसाईसराई गरेका व्यक्तिहरुले स्थानीयवासीलाई उकासेर बस रिजर्भ गर्ने रकम लगानी गर्ने गरेको सूचना हामीले पाएका छौं,’प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भने ।

आन्दोलनका अगुवाहरुले एक घरबाट एकजना आउनै पर्ने उर्दीजारी गरेका थिए । आयोजनाले गोरखा तर्फ ३५ सय र धादिङ तर्फका ३७ सय परिवारको जग्गा प्रभावमा पार्ने छ ।

जिल्ला सदरमुकाममा गत १२ गते मात्रै मुआव्जाको रकम सार्वजनिक गर्ने कार्यक्रम राख्दा केही अगुवाहरु सिउरेनीटारमा भेला भइ हप्ता मात्रै घेराउको प्रयास गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू