अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 20:38

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७३ मंसिर ३ गते ७:१४ मा प्रकाशित

नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गरियो

१. हाल विद्यमान नेपाली भाषामाथिका अव्यवस्था र अराजकता भित्र्याउने सर्वप्रमुख कारक तत्त्व नेपाली बृहत् शब्दकोश (२०७२) भएको यस सञ्जालको ठहर हो । यस शब्दकोशमा प्रयोग गरिएको वर्णविन्यास आम प्रयोक्ता र सरोकारवालाहरूले स्वीकार गरिआएको मानक वर्णविन्यासअनुरूप नभएको र यसमा प्रयुक्त विवादित वर्णविन्यास, लिपिचिह्न र प्रविष्टिले नेपाली भाषामा अराजकता फैलाएको हुँदा नेपाली बृहत् शब्दकोश (२०७२) लाई तत्काल खारेज गरी नेपाली बृहत् शब्दकोश (२०५८) को संस्करणलाई निरन्तरता दिनुपर्ने यस सञ्जालको स्पष्ट दृष्टिकोण र दृढ धारणा रहेको कुरा सर्वविदितै छ । यस सञ्जालको प्रतिनिधिमण्डलले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति र उपकुलपतिलाई भेटेर दबाबसहित अवधारणा प्रस्तुत गरेको हो ।

२. यस सञ्जालद्वारा नेपाली बृहत् शब्दकोश (२०७२) खारेजीका सम्बन्धमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति र उपकुलपतिसँग पटकपटक गरिएका छलफलबाट प्राप्त निष्कर्षस्वरूप नेपाल प्रज्ञा प्रतिष्ठानको २०७३—७—३० मा बसेको प्राज्ञ परिषद्को बैठक नं. २६÷०७३ ले यस सञ्जालका अवधारणालाई सम्बोधन गरी नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिद्वारा हस्ताक्षरित मिति २०७३—८—१, च.नं. १९÷२०७३ को यस सञ्जाललाई प्राप्त पत्रअनुसार निर्णयको बुँदा नं. क–घ र तिनका उपबुँदामा उल्लिखित निर्णयहरूका आधारमा नेपाली बृहत् शब्दकोश (२०७२) नवौँ संस्करण खारेज भएको, नेपाल प्रज्ञा प्रतिष्ष्ठानको वेबसाइटमा रहेको शब्दकोश बन्द गरेको र तत्काल दसौँ संस्करण प्रकाशित भएपछि नवौँ संस्करणका क्रेताहरूलाई मूल्य समायोजन गरी दसौँ संस्करण सट्टामा उपलब्ध गराउनेसमेत निर्णय भएकाले नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गरिएको स्वतः स्पष्ट हुन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गर्ने यस निर्णयलाई हामी सजगतापूर्वक कार्यान्वयनका तहसम्म निगरानीसहित सकारात्मक रूपमा लिई हार्दिकतापूर्वक स्वागत गर्दछौँ । यसै निर्णयको बुँदा नं. ‘(ङ) मानक वर्णविन्यासका लागि विमर्श चलाउने’ भन्ने कुरा पनि स्वागतयोग्य छ । यस कार्यमा सञ्जालको सक्रियतापूर्वक संलग्नता रहनेछ ।

३. त्रिभुवन विश्वविद्यालयमा प्रयुक्त अमानक वर्णविन्यासलाई खारेज गर्ने नेपाली केन्द्रीय विभाग, यस सञ्जालले अगि सारेका अवधारणाप्रति विज्ञप्तिमार्फत ऐक्यबद्धता जनाउने विभिन्न क्याम्पसहरू, विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू, हाम्रा दृष्टिकोणलाई प्रचारप्रसार गरी जनसमक्ष पु¥याउन सहयोग गर्ने सम्पूर्ण विद्युतीय एवं छापा सञ्चार माध्यमसँग सम्बद्ध सञ्चारकर्मीहरू, प्राज्ञपरिषद् र प्राज्ञसभाका सदस्यहरू, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग ‘मानक नेपाली भाषा अभियान २०७३’ का सल्लाहकार र पदाधिकारीहरू, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापक एवं कर्मचारीहरू तथा तमाम प्राध्यापक, शिक्षक, विद्यार्थी, साहित्यकार, कानुन व्यवसायी तथा विभिन्न खुलापत्र, अन्तर्वार्ता, परिसंवाद आदिका माध्यमबाट हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, फेसबुकमा राखिएका हाम्रा अवधारणालाई सेयर, कमेन्ट र लाइक गरी समर्थन गर्नुहुने नेपाली भाषाप्रेमी आम प्रयोक्ता र सरोकारवालालगायत सम्बद्ध सबैलाई हार्दिक धन्यवादज्ञापन गर्दछौँ ।

४. विद्यालय तथा उच्चमाध्यमिक तहका पाठ्यपुस्तक, प्रकाशनशैली आदिमा प्रयुक्त अमान्य र अमानक नेपाली वर्णविन्यास तथा लेख्यरूपलाई यस सञ्जालको अवधारणाअनुरूप मानकीकरण गरी तदनुरूप संशोधनको कार्यान्वयन नभएसम्म यस सञ्जालले आफ्नो अभियानलाई निरन्तरता दिने कुरासमेत आम प्रयोक्ता तथा सरोकारवाला सबैमा जानकारी गराउँदै नेपाली भाषालाई मानकीकरण गर्ने यस सञ्जालको अभियान निरन्तर रहने छ । यो अभियान गन्तव्यमा नपुगुन्जेलसम्म अहिलेजस्तै गरी यस सञ्जाललाई सहयोग गरिदिनुहुन सम्बद्ध सबैलाई हामी हार्दिक अनुरोध गर्दछौँ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिद्वारा हस्ताक्षरित मिति २०७३—८—१, च.नं. १९÷२०७३ को यस सञ्जाललाई प्राप्त पत्र यसैसाथ संलग्न छ ।

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
अध्यक्ष
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल

प्रतिक्रिया