नयाँ शताब्दीको बूढो बालक–हेमप्रभास

Published on August 10, 2016 at 1:51 pm

hem pravas

 

यही ठाउँ हो–
वषौँ पहिले म हराएको !

फूलहरु जो थिए, आज छैनन्
यही बाटो भएर
घामले निर्भय पीङ खेलेको
मैले देखेकै हुँ,
आज छैन त्यो पहेँलो कान्ति !
मान्छे– जो छिचोल्थे सबेरै
उमेरभन्दा लामा बाटाहरु
र, हेर्थे– काटिआएका भञ्ज्याङहरु
ती पनि छैनन् …
यतै कतै थियो– बूढो दरबार
बालिकाहरु ल्याउने
र, केश पाकेपछि फर्काउने महल !
यहीँनेर थियो– सिसाको ठूलो घर !
सिसाको झ्यालमा बसेर
सडकमा ढुङ्गा हानिरहने महाराज
यहीँ थिए, ती कहाँ गए ?

कहाँ गयो–
महाराजको सिरानीछेउको रातो चोलो ?
रून नसकेर हाँसेको अभिनय गर्ने नर्तकी
र, काँचले भाग्य काटेर हिँड्ने सुसारेहरु
कहाँ गए ?
कहाँ गए–
टुँडिखेललाई आकाशतिर पु¥याइदिने
महाराजको हाँसो ?
गोलीको छर्राले अनुहार बिग्रँदा
बिफर बल्झेको स्विकार्ने सेवकहरु ?
बहुसङ्ख्यकको श्रीपेचवाला ईश्वर
र, स्वयम् महाराजको
थोरै रङ उग्लेको बडेमानको फोटो
कहाँ गयो ?

समय सधैँ एकनासको हुँदोरहेनछ
हावा एकै दिशामा मात्रै बहँदोरहेनछ
घामले फूललाई मात्रै पे्रम गर्दोरहेनछ !

आज अर्कै भएको छ परिवेश
आफू हराएकै ठाउँमा
वर्षौँपछि भएको छ मेरो आगमन
म हुँ– नयाँ शताब्दीको बूढो बालक !
———

Loading...

यसमा तपाइको मत