पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार ५ सय ६९ जनाको पीसीआर र ३ हजार २ सय ६५ जनाको एन्टिजेन गरी १३ हजार ८ सय ३४ जनाको नमुना परीक्षण गर्दा २ हजार २ सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो कुल परीक्षणको १६ प्रतिशतभन्दा केही बढी हो । हिजो शनिवारको तुलनामा आज सङ्क्रमणदर केही घटेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ७ लाख ३४ हजार ७ सय ९९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको छ ।
थप १८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७ सय १३ जना पुगेको छ । अहिले नेपालमा २७ हजार २ सय २८ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय ६६ जनाको आईसीयू र १ सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।