अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

इरानमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुन २८ तारिखमा चुनाव हुने

बिआरटीनेपाल २०८१ जेठ ८ गते ४:५५ मा प्रकाशित

इरानमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुन २८ तारिखमा चुनाव हुने भएको छ । देशको १४ औँ राष्ट्रपति चयन गर्न जुन २८ तारिख अर्थात् आउँदो असार १४ गते चुनाव हुने त्यहाँको सरकारी निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।राष्ट्रपति इब्राहिम रायसीको अस्ति आइतवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बेरले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाउनुभएको छ । इरानको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि चुनाव गर्नुपर्ने व्यवस्था छ । रायसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिनुभएको थियो ।

इरानमा राष्ट्रपतीय चुनाव सन् २०२५ मा हुने तय भएको थियो । अघिल्लो चुनावमा रायसीलाई चुनौती दिन सक्ने नेतालाई उम्मेदवार बन्न दिइएको थिएन । इरानले राष्ट्रपति रायसी, विदेशमन्त्रीलगायत नाै जनाको दुर्घटनामा ज्यान गएपछि पाँच दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति पद दोस्रो वरीयताको हो । राज्यसम्बन्धी सम्पूर्ण मामिलाबारे अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले लिनुहुन्छ । तर देशको आन्तरिक र वैदेशिक मामिलामा भने राष्ट्रपतिको महत्त्वपूर्ण प्रभाव हुने गर्छ ।

रायसीको निधनले राजनीतिक अस्थिरता आउन सक्ने भए पनि यसले इरानको विदेश नीति वा मध्यपूर्वमा उसको भूमिका परिवर्तन गर्ने सम्भावना नभएको विश्लेषकहरूले बताएका छन् ।उनीहरूकाअनुसार रायसीको निधनले राजनीतिक व्यवस्थालाई स्थिरता सुनिश्चित गर्न भने चुनौती देखिन्छ । सर्वोच्च नेता खामेनीले राज्य सञ्चालनमा कुनै पनि अवरोध नहुने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू