अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४० | Colorodo: 13:55

प्रधानमन्त्री प्रचण्ड र एनआरएनए अभियन्ताबिच भेट, कतारका अमिरको भ्रमणको विषयमा छलफल

बिआरटीनेपाल २०८१ वैशाख ८ गते ९:१० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपाध्यक्ष देवकाजी डंगोल सहित अभियन्ताहरु राजेन्द्रकुमार शर्मा (आरके) र खगेन्द्र न्यौपानेसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डसँग एनआरएनएका संस्थापक उपाध्यक्ष डा डंगोलले कतारी अमिरको आसन्न नेपाल भ्रमणमा उठाउनुपर्ने विषयको बारेमा छलफल गर्नुभएको थियो । डा डंगोल कतारमा व्यवसाय गर्ने पहिलो नेपाली हुनुहुन्छ । यस्तै कतारमा दुई दशकदेखि व्यवसायमा सक्रिय रहेका तथा गैरआवासीय नेपाली अभियन्ता आरके शर्माले अमिरसँग लगानीका विषयमा नेपालले उठाउनुपर्ने विषयमा छलफल गर्नुभएको थियो ।

नेपाल र कतारबिच कुटनीतिक सम्बन्ध गासिएपछि पहिलो पटक कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलो पटक नेपाल भ्रमणमा आउन लाग्नुभएको छ । “कतारका अमिरको भ्रमणमा नेपालले लगानीका क्षेत्रहरुमा विशेष पहल गर्नुपर्ने विषयमा सम्माननीय प्रधानमन्त्रीसँग छलफल भयो,”प्रधानमन्त्रीसँगको भेटपछि शर्माले भन्नुभयो ,“प्रधानमन्त्रीज्यूले कतारले हासिल गरेको आर्थिक विकासको अनुभव नेपालको लागि सहयोगी हुने गरी अमिरको भ्रमणमा फलदायी हुने सम्झौता हुने जानकारी दिनुभयो।”

यस्तै प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई नेपाल आउने र लगानी सम्मेलन सफल बनाउन संस्थापक उपाध्यक्ष डंगोल तथा अभियन्ता शर्मा र न्यौपानेलाई अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्रीले लगानी सम्मेलन सफल बनाउन र नेपालमा लगानी भित्राउने भूमिकामा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने हुँदा त्यो काम गर्न आग्रह गर्नुभयो । भेटमा सहभागी एनआरएनए संस्थापक डंगोल,शर्मा र न्यौपानेले गैरआवासीय नेपालीहरु नेपालको आर्थिक विकासमा सहयात्री बन्न तयार सधै रहेको र सम्मेलन लगानी बढाउने विषयमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू