अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

पाठ्यक्रममा नै वित्तीय शिक्षा अनिवार्य गर्ने तयारी भइरहेको छ : गभर्नर अधिकारी

बिआरटीनेपाल २०८० चैत ५ गते ६:३५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यालय तहको पाठ्यक्रममा नै वित्तीय शिक्षा अनिवार्य गर्ने प्रयास भइरहेको बताउनुभएको छ । सोमबार ‘ग्लोबल मनी विक–२०२४’ उद्घाटन गर्दै स्कुल तहदेखि नै वित्तीय शिक्षामार्फत बचत र लगानीको बानी विकास गर्ने वित्तीय शिक्षा अनिवार्य गर्न लागिएको अधिकारीले बताउनुभयो । उहाँले लगानी र बचतको बानी विकास गर्न वित्तीय शिक्षा अत्यावश्यक रहेको बताउनुभयो । ‘फाइनान्सियल इन्क्लुजनका लागि वित्तीय साक्षरता विश्वभरि नै अवरोधका रूपमा रहेको छ,’ उहाँले भन्नुभयो, ‘ग्लोबल मनी विकका माध्यमबाट विश्वभरि नै वित्तीय चेतना बढाउने काम भइरहेको छ ।’

यस वर्ष ‘प्रोटेक्ट योर मनी सेलेक्ट योर फ्युचर’ भन्ने नारासहित विश्वभरि नै ग्लोबल मनी विक मनाइरहेको अधिकारीको भनाई छ । ‘ओईसीडी’ को नेतृत्वमा सन् २०१२ अन्तर्राष्ट्रिय रूपमा हरेक वर्ष ग्लोबल मनी विक मनाइँदै आएको छ । ओईसीडीको नारा ‘लर्न, अर्न, सेभ’ भन्ने रहेको गभर्नर अधिकारीले बताउनुभयो। कमाएर बचत गर्नेभन्दा पनि स्कुल तहदेखि नै वालबालिका र युवालाई बचत र लगानी गर्न सिकाउनुपर्छ भन्ने उद्देश्य रहेको गभर्नर अधिकारीले बताउनुभयो ।

‘बचत कमाएर गर्ने होइन, अहिलेदेखि बानी बसाउने हो,’ उहाँले स्कुल तहका विद्यर्थीलाई बचत र लगानीबारे बुझाउँदै भन्नुभयो, ‘यसले भविष्य सुरक्षित गर्छ । बचत भएन भने भविष्य सुरक्षित गर्न सकिँदैन । त्यसले अहिलेदेखि नै बचतको बानी बसाल्नुपर्छ ।’ ग्लोबल मनी विक मनाउन नेपाल राष्ट्र बैंकको संयोजनमा हरेक नियामक निकायको समिति बनेको छ । सोही अभियान अन्तर्गत १ सय ७६ देशको ६ करोडभन्दा बढीमा यो कार्यक्रम पुगिसकेको डेपुटी गभर्नर बमबहादुर मिश्रले बताउनुभयो । ‘खाता खोल्ने, बचत गर्ने, बीमा पोलीसी किन्ने धितोपत्र बजारमा सानैदेखि लगानीका लागि सिकाउने कार्यक्रमको उद्देश्य हो,’ डेपुटी गभर्नर मिश्रले भन्नुभयो, ‘विद्यालय शिक्षादेखि नै लगानी र बचतबारे जानकारी दिनु कार्यक्रमको उद्देश्य हो ।’

प्रतिक्रिया