अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

जलवायुको जोखिमलाई ख्याल गरेर लगानी गर्न गभर्नरको आग्रह

बिआरटीनेपाल २०८० चैत ३ गते ६:२२ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय वाणिज्य बैंकद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तीय संस्थाहरूलाई जलवायु परिवर्तनबारे सचेत गराउनुभएको हो । यसका लागि गभर्नर अधिकारीले मेलम्ची खानेपानी आयोजना बाढीले बगाएको उदाहरण पेस गर्नुभयो ।

गभर्नर अधिकारीले जलवायु परिवर्तनको असरलाई ख्याल गरेर लगानी गर्ने कुरामा नेपाल राष्ट्र बैंक र नेपाल सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘बैंक तथा वित्तीय संस्थाले जलवायु परिवर्तनले ल्याउने जोखिमलाई ध्यानमा राखेर लगानी गरे मुलुकको आर्थिक विकास सबल ढंगले अघि बढाउन सकिन्छ ।’ गभर्नर अधिकारीले ‘ग्रिन फाइनान्स ट्याक्स इकोनमी’बारे अध्ययन भइरहेको पनि बताउनुभयो । उहाँले जोखिमको क्षेत्रमा लगानी नगर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रहसमेत गर्नुभएको छ ।

प्रतिक्रिया