अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 18:45

बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने प्रवृत्ति सरकारका लागि सह्य हुँदैन : अर्थमन्त्री पुन

बिआरटीनेपाल २०८० चैत ३ गते ५:२० मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले आफ्नो सीमित स्वार्थ पूरा गर्नका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिनुभएको छ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले काठमाण्डौमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालोसूचीमा परेकाहरुले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स र निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

अर्थमन्त्री पुनले नेपालको बैंकिङ प्रणाली विश्वमै उत्कृष्ट रहेको भन्दै बैंकहरु जत्तिको व्यवस्थित रुपमा सञ्चालित कुनै पनि संस्था नेपालमा नरहेको दाबी समेत गर्नुभयो । आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा कोही पनि डराउनुपर्ने अवस्था नरहेको भन्दै अर्थमन्त्री पुनले कुनै बैंकर्सले गल्ती गरेको भए कारबाही हुने पनि बताउनुभयो । तर आरोपित व्यक्तिका परिवार र बैंकिङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकामा चिन्ता जनाउँदै मन्त्री पुनले एउटा बैंकर्सले गल्ती गर्दा सबै बैंकर्सलाई आरोपित गर्न नमिल्ने बताउनुभयो ।

मन्त्री पुनले देशभित्रै बसेर केही सकारात्मक काम गर्छु भन्ने प्रवृत्तिलाई भने सरकारले सम्मान गर्ने पनि दाबी गर्नुभयो । नेपाली समाजमा सबै राजनीतिज्ञ, बैंकर्स, निजी क्षेत्र, निर्माण व्यवसायी, उद्योगी व्यवसायी, न्यायालय सबै खराब भन्ने डरलाग्यो भाष्य स्थापित गर्न खोजिएकामा समयमै सबै सचेत हुनुपर्ने अर्थमन्त्री पुनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू