अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

कोप-२८ जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन सहभागी नहुने

बिआरटीनेपाल २०८० मंसिर ११ गते ६:०० मा प्रकाशित

अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुमाउने एक अमेरिकी अधिकारीले बताएका छन् । बिहीबारदेखि सुरु हुन लागेको कोप२८ मा राष्ट्रिय नेताहरू र पोप फ्रान्सिससहित करिब ७० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन हुनसक्छ ।

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसका लागि ह्वाइट हाउसले जारी गरेको तालिकामा यो साता उनीहरू दुबई जाने उल्लेख छैन । बाइडेनको व्यस्ततामा वायु ऊर्जामा अमेरिकी लगानी उजागर गर्नका लागि कोलोराडोको भ्रमण, अङ्गोलाका राष्ट्रपतिसँग बैठक र राष्ट्रिय क्रिसमस ट्रिको प्रकाश सामेल छन् । बाइडेनले यो साता कोप२८ मा वा डिसेम्बर १२ को वार्ताको अन्त्यको दोस्रो सत्रमा भाग लिने योजना नबनाएको एक अमेरिकी अधिकारीले पुष्टि गरेका छन् । दुबईमा एउटा उच्चस्तरको अधिकारीलाई पठाउने वा नपठाउने भन्नेबारेमा बाइडेन प्रशासनले छलफल गरिरहेको नाम नछाप्ने शर्तमा ती अधिकारीले बताएका छन् ।

पूर्वविदेशमन्त्री, सिनेटर तथा अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्नुहुने छ । बाइडेनले कोप २८ मा भाग नलिने निर्णयको कारणबारे ती अधिकारीले केही बताएनन् । यद्यपि बाइडेनले एक महिनाभन्दा लामो समयदेखि इजराइल र हमासबीचको युद्धमाथि ध्यान केन्द्रित गरिरहनुभएको छ र अमेरिकी राष्ट्रपति निर्वाचनका लागि एक वर्षभन्दा पनि कम समयमा घरेलु एजेन्डालाई उजागर गर्न खोजिरहनुभएको छ ।

बाइडेनसम्म अमेरिकी राष्ट्रपतिका लागि प्रत्येक कोप शिखर सम्मेलनमा भाग लिने चलन थिएन । आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्प पेरिस जलवायु सम्झौताबाट बाहिरिएपछि अमेरिकाले पुनः जलवायुमाथि विश्वव्यापी नेतृत्वको भूमिका निर्वाह गर्ने प्रतिज्ञा गर्नका लागि सन् २०२१ मा बाइडेनले ग्लासगोको भ्रमण गर्नुभएको थियो । ह्वाइट हाउस जान खोजिरहेका ट्रम्प जलवायुप्रति संशयवादी रहनुभएको छ र यो कार्य अमेरिकाका लागि अत्यन्त महङ्गो हुने बताउनुहुन्छ । राष्ट्रपति बाइडेनले गत वर्ष पुनः इजिप्टको शार्म अल–शेखमा कोप २७ को एउटा छोटो भ्रमण गर्नुभएको थियो । तथाकथित मुद्रास्फीति न्यूनीकरण ऐन र विद्युतीय कारका लागि प्रोत्साहनसहित हरित अर्थतन्त्रका लागि अर्बौं डलरको लगानी गर्दै उहाँले घरेलुस्तरमा जलवायुलाई उच्च प्राथमिकता दिनुभएको छ ।

कोप २८ शिखर सम्मेलनअघि केरीले आफ्ना चिनियाँ समकक्षी झि झेनहुआसँग विस्तारित वार्ता गर्नुभएको थियो । उनीहरूले विश्वका सबैभन्दा दुई ठूला हरितगृह ग्यास उत्सर्जक आ–आफ्ना मुलुकले दुबईमा प्रगतिका लागि मिलेर काम गर्ने वाचा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू