अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

नेपाली पब्जी टाेली एसियाली खेलकुदकाे सेमिफाइनलमा

बिआरटीनेपाल २०८० असोज १२ गते ६:४७ मा प्रकाशित

नेपाली पब्जी टाेली १९ औँ एसियाली खेलकुदकाे सेमिफाइनलमा पुगेकाे छ । चीनको हान्झाउमा चलिरहेकाे प्रतियाेगिताअन्तर्गत ई–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलमा पुगेकाे छ ।आज शुक्रवार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेकाे हाे । याे समूहबाट हङकङ पनि सेमिफाइनलमा पुगेको छ । हङकङ शीर्ष स्थानमा रह्याे । समूह ‘सी’ मा नेपाल, हङकङ, प्यालेस्टाइन र साउदी अरेबिया थिए । हङकङकाे टाेलीले ५१ मिनेट ०९ दशमलव ९८३ सेकेन्डमा र नेपालले ५४ मिनेट ०४ दशमलव ८४२ सेकेन्डमा खेल पूरा गर्‍याे ।

यस्तै समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड, समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन् । अब सेमिफाइनलमा चार समूहका शीर्ष दुई टोलीबीच दुई समूहमा प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलको दुवै समूहमा चार–चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । यीमध्ये समूहका दुई टोली फाइनलमा पुग्नेछन् । फाइनलमा पनि चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमध्ये शीर्ष तीनमा रहने टोलीको पदक पक्का हुनेछ ।

पब्जीमा नेपालको खेलाडीमा कप्तान सुबिन महर्जन, दीपेश गुरुङ, सागर भण्डारी, समीर गुरुङ र संगिन भट्टराई छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू