अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८ | Colorodo: 12:43

युरोपका देशबाट ४० हजार श्रमिकको माग, दूतावासबाट मागपत्र प्रमाणीकरण नहुँदा समस्या

बिआरटीनेपाल २०८० असार २० गते ६:३८ मा प्रकाशित

युरोपका विभिन्न देशबाट झण्डै ४० हजार कामको माग भए पनि दूतावासहरूबाट मागपत्र प्रमाणीकरणको काम नहुँदा समस्या भएको छ ।रोमानिया, माल्टा, पोर्चुगल लगायत युरोपका विभिन्न देशहरूबाट ४० हजार नेपाली श्रमिकका लागि कामको माग भए पनि दूतावासबाट कामको मागपत्र प्रमाणीकरण नहुँदा श्रमिक पठाउन नसकिएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो ।

पछिल्लो समय युरोप रोजगारी आकर्षणको केन्द्र बिन्दु बनेको छ । तर युरोपका देशमा कामको माग हुँदा हुँदै पनि त्यहाँ रहेका दूतावासहरूले कामको मागपत्र प्रमाणीकरणको काम रोक्दा औपचारिक रूपमा श्रमिक पठाउन समस्या भएको हो । नेपालमा आउने कामको माग दूतावासहरूबाट प्रमाणीकरण हुनु पर्ने नियम छ । ‘अहिले पनि हामीसँग युरोपका देशबाट ४० हजार कामको माग छ’ अध्यक्ष भण्डारी भन्नुहुन्छ ‘तर युरोपका देशमा पहिले मागपत्र प्रमाणीकरणको काम गरिरहेका कतिपय दूतावासहरूले मागपत्र प्रमाणीकरणको काम रोकिदिँदा औपचारिक माध्यमार्फत पठाउन सकिएन ।’

युरोपका विभिन्न १० वटा देशमा नेपाली दूतावासहरू रहेका छन् भने कतिपय देशमा महावाणिज्य दूतावासहरू रहेका छन् । तर पछिल्लो समय युरोपका देशमा रहेका दूतावासहरूले मागपत्र प्रमाणीकरणको काम रोक्दा समस्या भएको भन्दै वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारको ध्यानाकर्षण समेत गराएको छन् ।

प्रतिक्रिया