अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 11:10

पूर्वका उद्योगीद्वारा कर्जा दर एकल अंकमा झार्नेगरी मौद्रिक नीति ल्याउन माग

बिआरटीनेपाल २०८० असार १९ गते ६:३५ मा प्रकाशित

पूर्वका उद्योगी व्यवसायीले आगामी मौद्रिक नीतिले उद्योग क्षेत्रमा प्रवाह हुने कर्जा दर एकल अंकमा झार्नेगरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वको प्रतिनिधि मण्डलले अर्थमन्त्री र नेपाल राष्ट्र वैंकका गर्भनरलाई भेटेर यस्तो माग गरेको हो । टोलीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसँग पनि भेटेर विद्युतसँग सम्बन्धित समस्या अवगत गराई दीर्घकालिन समाधानका लागि आग्रह गरेको छ ।

अर्थ मन्त्री डा. प्रकाशशरण महतसँगको छलफलमा संगठनका अध्यक्ष सुरानाले दीर्घकालिन आर्थिक एवं औद्योगिक विकासका लागि निजी क्षेत्रले अनुमानयोग्य नीतिगत व्यवस्थाको अपेक्षा गरेको हुनाले आर्थिक विकास, औद्योगिक पूर्वाधार विकास, जस्ता मूलभूत विषयहरुमा न्यूनतम साझा मापदण्ड लागू गरी निजी क्षेत्रलाई ढुक्क भई लगानी गर्न सक्ने वातावरण तयार आग्रह गर्नुभयो । उहाँले गभर्नर महाप्रसाद अधिकारी समक्ष संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्दै आगामी मौद्रिक नीतिले उद्योग व्यवसाय क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याज एकल अंकमा सीमित हुने गरी ल्याउनु पर्नेमा जोड दिनुभयो । गभर्नर अधिकाले उद्योग व्यवसायलाई सहजीकरण गर्नेगरी मुद्राको आपूर्ति र मागको व्यवस्थापन गर्ने नीति राष्ट्र बैंकको भएको बताउँदै उद्योग व्यवसायको गुनासो सम्बोधन गर्ने गरी आगामी मौद्रिक नीति ल्याउने स्पष्ट पार्नुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका साथ भेटमा संगठनले कोशी प्रदेशका उद्योगले सुख्खायाममा भोग्नु परेको अघोषित लोडसेडिङ, ट्रिपिङ, भोल्टेज अनियमितताको समस्याबाट उद्योग व्यवसाय आजित भएको जानकारी गराएको थियो । आगामी ५ वर्षमा प्राधिकरणको विद्युत आपूर्ति योजना, आगामी वर्षदेखि सुख्खायाममा विद्युत उपलब्धताको अवस्था र गुणस्तरीय विद्युत आपूतिमा देखापरेको भोल्टेज अनियमितता तथा ट्रिपिङको समस्या सम्बोधन गर्ने योजना स्पष्ट पार्न संगठनले माग गरेको थियो ।

प्रतिक्रिया