अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

फेवातालमा भएको ‘ड्रागन बोट रेस’ को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जित्यो

बिआरटीनेपाल २०८० असार ९ गते ५:३६ मा प्रकाशित

पोखराको फेवातालमा भएको ‘ड्रागन बोट रेस’ को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ । दक्षिण एसियामै पहिलोपटक नेपालमा भएको ‘ड्रागन बोट रेस’ का पाँच सय र दुई सय मिटरतर्फ दुवै उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको हो ।

दुवै दूरीमा नेपाल एसोसिएशन अफ र्‍याफ्टिङ एजेन्ट्स (नारा) को टोली उपविजेता भएको छ । दुवै दूरीमा चीनको युनान तेस्रो भएको छ । उपाधि विजेता सिचुवानले दुवै विधामा गरी ११ लाख रुपैयाँ र उपविजेता नाराले दुवै विधामा गरेर ७ लाख रुपैयाँ हात पार्यो।

तेस्रो हुने युनानले ४ लाख रुपैयाँ पुरस्कारस्वरुप प्राप्त गर्‍यो । बोट रेसमा चीनका चार र नेपालका चार गरी ८ टिम सहभागी थिए । विजयी टिम र खेलाडीलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, पोखरा महानगर मेयर धनराज आचार्य लगायतले पुरस्कार प्रदान गर्नुभएको छ ।

दक्षिण एसियामै नेपालमा पहिलो पटक भएको ड्रागन बोट रेसले पोखरामा मात्रै नभइ नेपालकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने व्यवसायीले जनाएका छन् । चीनमा यो खेल निकै चर्चित भएकाले नेपालमा आयोजना हुँदा चीनमा नेपालबारे पर्याप्त प्रचार भएको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया