अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२६ | Colorodo: 03:41

ढुङ्गो

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०८० जेठ २४ गते २१:३५ मा प्रकाशित

ढुङ्गो –
बच्चाहरूको आँखा खुलाउने
वर्ण हो/ अक्षर हो/ अङ्क हो
रमाइलो खेलको साधन
गट्टा हो
बूढाहरूको बाघचालको गोटी पनि हो ।

ढुङ्गो –
अन्न र मरमसला पिसाइमा
जाँतो हो / सिलौटो हो /खल हो
हातोको शिर हो / पुच्छर हो
हतियारको धार हो
सुकाइमा विकल्पमा अन्नपातको
मान्द्रो पनि हो ।

ढुङ्गो –
विश्राममा चौतारो हो
ओछ्यान हो / तकिया हो
यात्रामा – सिँढी हो
गासमा- चुलो हो
बासमा- ओडार हो / गुफा हो / कुर हो ।

ढुङ्गो-
निर्माणमा – गिटी हो
रोडा हो/ बालुवा हो
जग हो / आँगन हो / पर्खाल हो
भित्ता हो / छाना पनि हो ।

ढुङ्गो-
आकारमा-
स्थूल शिखर हो
सूक्ष्म अणु पनि हो ।

ढुङ्गो-
ज्ञानमा स्लेट हो
विज्ञानमा प्लेट हो ।

ढुङ्गो –
सीपमा / सिर्जनामा
कला हो / मूर्ति हो / अभिलेख हो
आस्थामा –
शालिग्राम हो / प्रतिमा हो / देवता हो
ढुङ्गो –
क्रोधमा / विनाशमा / दुर्मतिमा
घातक हतियार पनि हो ।

पारदर्शी/ अपारदर्शी !
ढुङ्गो-
जाने – माटाको भर हो
गर्भमै आगो बोक्न सक्ने
अनन्त अखण्ड प्रकाश हो
जीवनको आधार हो
नजाने – प्राणै रित्याउने
घनघोर अँध्यारो हो
मृत्युको क्रूर रूप पनि हो !!

——————-
गोरखा, लप्सीबोट ; हाल : काठमाडौँ – ६ , सरस्वतीनगर ।