एजेन्सी । जोखिम बढ्दो भए पनि सगरमाथा बेस क्याम्प तत्काल नसारिने भएको छ ।
जलवायु परिवर्तन र बढ्दो मानवीय गतिविधिका कारण रहेको खुम्बु हिमनदी पग्लिएपछि त्यसमाथि रहेको बेस क्याम्प जोखिममा परेको हो । जोखिम बढेसँगै नेपालको पर्यटन मन्त्रालयले गत वर्ष जुनमा बेस क्याम्प तल सार्ने योजना समेत बनाएको थियो । तर, हालै मन्त्रालयले गरेको छलफलमा ९५ प्रतिशत पर्वतारोहण व्यवसायीले बेस क्याम्प सार्न नहुने धारणा राखे। त्यसपछि मन्त्रालय बेस क्याम्प सार्ने योजनाबाट पछि हटेको हो।
पर्वतारोहणमा व्यवसायमा सक्रिय स्थानीय शेर्पा समुदाय पनि बेस क्याम्प सार्ने योजनाको पक्षमा नभएको बिबिसीले जनाएको छ। ‘बेस क्याम्प सार्नुपर्ने कुनै कारण छैन,’ खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले बिबिसीलाई भनेका छन्।
व्यवसायीहरूका अनुसार पर्वतारोहीहरूले सगरमाथा बेस क्याम्पबाट खुम्बु आई सफल हुने क्षेत्र बिहानै पार गर्न सक्छन्। घाम लागेपछि भने उक्त क्षेत्रमा हिउँ पग्लिने, हिम पहिरो जाने, चट्टान खस्ने र धाँजा फाट्ने लगायतका जोखिम हुन्छ। यस्तो जोखिम पार गर्न सहज हुने भएकाले सगरमाथा बेस क्याम्पको विकल्प नभएको ब्यबसायीहरुको भनाइ छ।
सगरमाथाबारे लेख्दै आएका एलन अर्नेटका अनुसार सन् १९५३ देखि सन् २०१६ बिच नेपालबाट सगरमाथा आरोहण गर्नेहरूको मृत्युमा २५ प्रतिशत हिस्सा आइसफलकै छ। गत अप्रिलमा पनि हिउँमा पुरिएर तीन जना शेर्पाको निधन भएको थियो। खुम्बु आइसफ क्षेत्रमा सन् २०१४ मा गएको हिम पहिरोमा परेर १६ जना नेपाली पर्वतारोहीले ज्यान गुमाएका थिए।
जानकारहरू बेस क्याम्प सार्नुको सट्टा सगरमाथा आरोहणको अनुमति घटाउन, संवेदनशील क्षेत्रमा हेलिकोप्टरको प्रयोग गर्न नदिन लगायतका विकल्पमा जानुपर्ने बताउँछन्। चालु आवमा सरकारले ११ हजार अमेरिकी डलरका दरले चार सय ६३ आरोहण अनुमति जारी गरेको छ। यो रकम देशका लागि ठुलो आय स्रोत त हो। तर, यसरी अनुमति दिँदा मौसम अनुकूलनका लागि पर्वतारोहीको टोली बेस क्याम्पमा हप्तौँ बस्छन्। यसले गर्दा बेस क्याम्पमा मानव भिडभाड अचाक्ली बढेको छ।
शेर्पा र सहयोग गरी पर्वतारोहीको करिब दुई गुण मानिस हरेक वर्ष सगरमाथा बेस क्याम्पमा जान्छन्। त्यहाँ छ महिना मानिसको घुइँचो हुन्छ। उनीहरूले गर्ने फोहोरका कारण खुम्बु हिमनदीमा प्रदूषण बढेको छ।
कतिपय धनी पर्वतारोही त मसाज पार्लर र मनोरञ्जनका बिलासी सुविधा सहित बेस क्याम्प पुग्छन्। यसले खुम्बु बेस क्याम्प क्षेत्रमा थप समस्या थपेको छ। यस्ता गतिविधिका कारण हिम पहिरो आउने, धाँजा फाट्ने जस्ता समस्या सामान्य बनेको पर्वतारोहीहरू नै बताउँछन्।
बेलायतको एउटा विश्वविद्यालयले सन् २०१७ मा खुम्बु हिमनदीको अनुसन्धान गरेको थियो। उक्त अध्ययनलाई उद्धृत गर्दै उक्त हिमनदीको तापक्रम बढ्दो रहेको र त्यहाँबाट हरेक वर्ष हिउँ पग्लेर ९५ लाख क्युबिक मिटर पानी घटिरहेको युरो न्युजले जनाएको छ।