अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३ | Colorodo: 16:58

बसन्त ऋतुमा पाँच सय जनाले सगरमाथा चढे

बिआरटीनेपाल २०८० जेठ १० गते ४:५७ मा प्रकाशित

यस वर्षको बसन्त ऋतुमा करिब पाँच सय जनाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन् ।विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आजसम्म करिब पाँच सयले सगरमाथा आरोहण गरेको बताउनुभयो । “वसन्त ऋतुको सगरमाथा आरोहणमा चार सय ७८ ले आरोहण अनुमति ‘एक्सपीडिसन पर्मिट’ लिएकामा आजसम्म करिब पाँच सयको हाराहारीले सगरमाथाको सफल आरोहण गरेका छन् । यसमा आरोही तथा शेर्पा गाइड पनि छन्”, महानिर्देशक लुइँटेलले भन्नुभयो ।

मौसमले साथ दिएकाले अहिले सगरमाथालगायत हिमालमा उत्साहबर्द्धक रूपमा आरोहण भइरहेको विभागले जनाएको छ । यस वर्षको बसन्त ऋतुको आरोहण गत बैशाख ३० गतेबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका एक सय तीन महिला र तीन सय ७६ पुरुष गरी कूल चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू