अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

असल मित्रको वनभोज यात्रा !

युवराज मैनाली २०८० वैशाख १६ गते १७:५६ मा प्रकाशित

लघुकथा
टम र ज्याक नामक दुई व्यक्ति थिए। उनीहरूका जन्मजात रसायन मिलेजस्तै हरेक आनीबानी उस्तै लाग्थे। टमको रङ्गरुचि जे हुन्थ्यो ज्याकको उहीँ, ज्याक जुन गीतसङ्गीतमा झुम्थ्यो टम उसैमा । देख्ने बुझ्ने चिन्ने हेर्नेलाई नै अचम्म लाग्थे यी दुईका सबै कुरा र काम पनि।

एक दिन यी दुवैले वनभोजको तयारी गरे। टाढा निकै टाढा स्वभाविक पनि हो। वनभोजस्थलमा पुग्दा झमक्क साँझ पर्यो।

सुनसान समयसङ्केत। मौसमको प्रहार चिसो गोलीको वर्षा। सुरक्षार्थ दुवै आआफ्नै तरिकाले संलग्न तर दुवैको उस्तै मानौँ उनीहरू जन्मजात एउटै पात चिरिएर सबै साथ र सोच एउटामा नै आबध्द छन्।

सङ्कटको घडी नआई मानिसको वा मित्रको सच्चा परिचय पाइन्न। सबै रसायन मिले पनि कतै अलग छन् किको पहिचान जीवनको निकै अप्ठेरा अवस्थामा मात्र हुन्छ। सुखमा साथ त हरेक स्वार्थीहरूले दिन्छन् नै।

असाध्य चिसो। जङ्गलमा केको मङ्गल? शीतका थोपा तप्प तप्प रातको छिप्याइ अझ झप्प। सर्दी,रुघाखोकीका सम्भावनाबाट बाँच्नका लागि हस्याङ्फस्याङ् दुवैले टेन्ट तयार गरे। सुत्ने तर्खर भयो। ज्याक झल्यास्स नभई रहन सकेन। स्लिपिङ्ग ब्यागभित्र पस्नका लागि खोज्दा लैजान नै बिर्सेछ। साथीकामा घुस्रौँ उसले निर्णय गर्यो। त्यस बेला टम सायद अर्धनिद्रामा हुनुपर्छ। ज्याक पस्न खोज्यो पुरै आयतन लिईसकेको छ। कतै अौँला अड्याउने ठाउँसम्म बाँकी छैन। चिच्यायो जोडले, सासको सङ्केत नै थाहा पाउने साथी अहँ नबोलेझैँ नसुनेझैँ टसमस कतै नभएपछि ज्याकले सोच्यो-“ऊ ठाउँ दिन तयार छैन।” बल्ल यथार्थ थाहा भयो र ज्याक सत्यको यथार्थ जीवन जन्माएर सुनसान गन्तव्यतिर पाइला सार्दै गयो….अझ पर…टमको दृश्यबाट टाढा…निकै टाढा….!