अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

कोलोराडोको सम्पूर्ण सङ्घसंस्थाहरू मिलेर जुलाइको १ र २ मा कोलोराडोमा ए.एन.ए. सम्मेलनको तयारी

बिआरटीनेपाल २०७९ चैत २९ गते २१:१९ मा प्रकाशित

कोलोराडोको सम्पूर्ण सङ्घसंस्थाहरू मिलेर जुलाइको १ र २ मा कोलोराडोमा ए.एन.ए. सम्मेलनको तयारीमा रहेको कुरा आज एएनएद्वारा आज गरिएको प्रेस रिलिजमा जनाइएको छ । सन् २०२३ को ए.एन.ए. कन्भेन्सन कोलोराडोको डेनभरमा हुने भएको हो । आज भन्दा २० वर्ष अघि सन् २००३ मा पनि कोलोराडोले एएनए कन्भेन्सनको आयोजना गरेको थियो ।

आगामी जुलाईको १ र २ मा हुने उक्त सम्मेलनको आयोजकको तर्फबाट सम्मेलनका चेयर तथा एएनए अध्यक्ष विजयराज भट्टराई र कन्भेन्सनका कन्भेनर विनोद त्रिपाठीद्वारा हस्ताक्षरित प्रेस रिलिजमा आज तयारी द्रुत गतिमा अघि बढेको जनाइएको छ ।

कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरू नेपाली घर, रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल (RMFN), अनेसास कोलोराडो च्याप्टर, एनआरएनए कोलोराडो च्याप्टर, कोलोराडो नेवा खल: लगायतका संस्थाहरुसंगको सहकार्यमा यो सम्मेलन हुन लागेको जानकारी विज्ञप्तिमा जनाइएको छ भने अन्य स्थानीय सङ्घसंस्थाहरू लगायत स्थानीय समाजसेवीहरू सहितको मूल आयोजक कमिटी निर्माण गरेर सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी अघि बढिरहेको जानकारी कन्भेनर विनोद त्रिपाठीले दिनुभयो ।

ए.एन.ए. ले उक्त २ दिन आफ्ना, परिवारको तथा अन्य कुनै सामाजिक गतिविधि नगरी सवै जना यही सम्मेलनमा भेला भएर यस नेपालीहरूको राष्ट्रिय सम्मेलन सफल पारौँ भनी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबैनीहरु, यस संस्थाको पूर्व पदाधिकारीहरू, सम्पूर्ण सदस्यहरू सवैमा हार्दिक अनुरोध गर्दै आएको छ । सम्मेलन DoubleTree by Hilton Denver Central Park मा हुने टुङ्गो भैसकेको छ र अव केही दिनमै रजिस्ट्रेसन सुरु गरिने जानकारी कन्भेनर विनोद त्रिपाठीले बिआरटी नेपाललाई दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू