अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 11:35

बागलुङ समाजको चैते दसैँ मेला सम्पन्न

बिआरटीनेपाल २०७९ चैत २८ गते ११:५५ मा प्रकाशित

बागलुङ सेवा समाज अमेरिकाले ०२ अप्रिलमा न्युयोर्कको ब्रुक्लिनस्थित हाइल्याण्ड पार्कमा चैते दसैँ तथा आउँदै गरेको नयाँ वर्ष २०८० को उपलक्ष्यमा चैते दसैँ मेला आयोजना गरेको छ। सांस्कृतिक कार्यक्रम तथा विविध खेलकुदको आयोजना गरी कार्यक्रम सभ्य, भव्य र सफल रूपमा सम्पन्न गरेको समाजले जनाएको छ।

बागलुङ सेवा समाज अमेरिकाका अध्यक्ष सकस बहादुर घर्ती क्षेत्रीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन समाजका महासचिव कृष्ण राज सुवेदी (कृष) बाट भएको थियो। उनलाई महिला संयोजक चमेली खाती परियारले सहयोग गरेकी थिइन्। कार्यक्रममा समाजकी अमेरिकाको महिला संयोजक चमेली खाती परियार र सहसंयोजक हिरा देवी भट्टराईले शुभकामना मन्तव्य दिएका थिए। संस्थाका वरिष्ठ उपाध्यक्ष मीन खड्काले बागलुङ कालिका मन्दिरको उत्पत्ति र महत्त्वका साथै चैते दसैँको बारेमा जानकारी गराएका थिए। बागलुङ कालिका मन्दिर नेपालका विभिन्न शक्तिशाली शक्ति पिठहरुमध्य एक मानिन्छ । मनोकामना पूरा हुने विश्वासका साथ यहाँ बडा दसैँ र चैते दसैँको अवसरमा लगायत वर्षभरि नै दर्शनार्थी भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

बाग्लुङ्ग कालिका मन्दिर उत्पत्तिको एउटा किंवदन्ती किम्वदन्तीअनुसार वि.स. १५९१ मा पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणि मुकुन्द सेनकी छोरीसँग विवाह गरेको र विवाह हुँदा छोरीले दाइजोस्वरुप माझकी देवीलाई आफ्ना बुबासँग मागेर ल्याएकी थिइन् । पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर रहेको ठाउँमा बिसाएर उठाउँदा नउठे पछी राज दम्पतीले उक्त ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको जनविश्वास र किंवदन्ती रहेको जानकारी समाज का महासचिव सुबेदीले दिए।

बागलुङ सेवा समाज अमेरिकाले सञ्चालन गरेको उक्त चैते दसैँ मेला तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बागलुङ जन्मथलो भई अमेरिकामा बसोबास गरिरहेका बाग्लुङ्गे लगायत पर्वते र म्याग्देलीहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । साथै न्युयोर्कमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, विभिन्न कलाकारहरू तथा पत्रकारहरूको पनि उपस्थिति थियो । कार्यक्रममा पञ्चेबाजाका साथमा वरिष्ठ लोक गायिका बिमा कुमारी दुरा, कलाकार तथा जादुगर महादेव त्रिपाठी, पार्कर, १४ पटक गिनिज वर्ल्ड रेकर्ड राखेका दिनेश सुनुवार जस्ता राष्ट्रिय स्तरका कलाकारहरूले कार्यक्रममा मनोरञ्जन प्रदान गरेका थिए। साथै समाजकी सह महिला संयोजक हिरा देवी भट्टराईले बाग्लुङ्गेथाली नाच प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा भलिबल, छेलो फाल्ने र लट्ठो तान्ने खेलको पनि प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू