अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१ | Colorodo: 20:56

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी

बिआरटीनेपाल २०७९ चैत १३ गते ८:३० मा प्रकाशित

नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा सुरु भएको छ । राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो । अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी भने यो पहिलोपटक आयोजना गरिएको हो । प्रदर्शनीमा लिच्छविकाल, मल्लकाल र शाहकालका मुद्रा एवं कागजी नोट प्रदर्शनीमा राखिएको छ । पशुपति मुद्रादेखि शाहकालसम्म निष्कासन भएका मुद्रा प्रदर्शनीमा राखिएको सङ्घको महासचिव समेत रहेका प्रदर्शनी संयोजक दीपेन्द्ररत्न शाक्यले जानकारी दिनुुभयो ।

प्रदर्शनीको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गर्नुुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैङ्क, टक्सार विभागका प्रमुख सत्येन्द्र सुवेदी, सङ्घका अध्यक्ष दीनेशराज मास्के र महासचिव शाक्यलगायतले मुद्रा सङ्कलनको महत्त्वका बारेमा प्रकाश पार्नुुभएको थियो । नेपालमा विसं २००२ देखि कागजको नोट प्रकाशन हुन थालेको हो । नेपाल राष्ट्र बैङ्कको स्थापना नभए पनि खजाञ्ची जनकराज पण्डितले हस्ताक्षर गरी रु पाँच, रु १० र रु १०० का नोट प्रकाशन भएको इतिहास रहेको आयोजक समितिका सदस्य राजु श्रेष्ठले जानकारी दिनुुभयो । मुद्राको इतिहास रक्षाका लागि पनि मुद्रा सङ्कलन महत्त्वपूर्ण हुने जनाइएको छ ।

प्रदर्शनीमा भारतका मुद्रा सङ्कलकको पनि सहभागिता रहेको छ । गत वर्ष भारतको कोलकातामा पनि यस्तै प्रदर्शनी गरिएको आयोजक समितिका अर्का सदस्य चन्द्ररवि श्रेष्ठले जानकारी दिनुुभयो । सङ्घमा हाल १५९ सदस्य सक्रिय रहेका छन् । जसले निरन्तररूपमा मुद्रा सङ्कलन गर्ने गरेको जनाइएको छ ।प्रदर्शनी बुधबारसम्म चल्नेछ । प्रदर्शनीमा मुद्रा किनबेच गर्नसमेत पाइने छ । पुराना मुद्राको निश्चित मूल्य नतोकिने भएकाले आपसी समझदारीमा किनबेच गर्न सकिने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू