अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 02:18

”रूपान्तरणको अभियान दूरदराजमा पुर्‍याउन आवश्यक” : प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०७९ चैत ११ गते ७:४८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिकसंस्थालाई दूरदराजमा पुर्‍याउन  आवश्यक रहेको बताउनुभएको छ ।‘लायन्स क्लब डिष्ट्रिक्ट–३२५ जे’को महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सामाजिक सङ्घ संस्थाले ग्रामीण क्षेत्रमा पुगेर सेवा दिनुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– “शहरकेन्द्रित शैक्षिक युवामा मात्र होइन, दूरदराजमा रहेका, परिवर्तनप्रति रूचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पुर्‍याउन सक्ने विपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेशी लगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीहरुको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता छ ।”

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक–आर्थिक चुनौती छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पबद्ध रहेको बताउनुभयो । सन् १९१७ मा मेल्भिन जोन्सले स्थापना गर्नुभएको लायन्स क्लब अन्तर्राष्ट्रियको प्रभाव विश्वव्यापी छ । नेपालमा सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा लायन्स क्लब अफ विराटनगर स्थापना भएको पाइन्छ । त्यही ऐतिहासिक पृष्ठभूमिको जगमा उभिएर नेपालमा लायन्स क्लबले सामाजिक क्षेत्रमा विविध गतिविधि गर्दै आएको छ । हाल नेपालमा लायन्सका १५ डिस्ट्रिक्ट र ५० हजारभन्दा बढी सदस्य छन् । यस महाधिवेशनले सामाजिक सेवाका क्षेत्रमा आफूलाई थप परिस्कृत र परिमार्जित गर्दै अगाडि बढ्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

उहाँले भन्नुभयो– “राजनीतिक एवं शैक्षिकरूपले चेतनशील र जागरूक युवाको विशेष सक्रियतामा लायन्स क्लबले देशभरि विभिन्न सामाजिक एवम् मानवीय कार्यको नेतृत्व गरिरहेको छ । खासगरी कोभिड–१९ महामारी, महाभूकम्पजस्ता राष्ट्रिय बिपत्तिमा लायन्सले आफूलाई अग्रमोर्चामा उभ्याउँदै सामाजिक जिम्मेवारी पूरा गरिरहेको छ ।”देशको विकास र समृद्धिको आकांक्षा राख्ने युवाका निम्ति प्रेरणाको विषय मात्र नभएर देश निर्माणको अग्रमोर्चामा अग्रसर राजनीतिकर्मीका लागि समेत लायन्स गौरवको विषय भएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक राज्यप्रणालीमा राज्य र नागरिकको बलियो सहकार्यका आधारमा नै समाज सेवा र सामाजिक रूपान्तरणका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन गर्न सकिन्छ । राज्य र नागरिकको बलियो एकता नै लोकतन्त्रको त्यस्तो आधारस्तम्भ हो ।” उहाँले राज्यप्रति नागरिकको अपनत्वबोध गराउने र सामाजिक आन्दोलनलाई राज्यको नीति निर्माणसँग जोड्न सफल हुने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो– “राजनीति सबै नीतिको केन्द्र हुनुका नाताले सामाजिक जीवनका सम्पूर्ण क्षेत्रमा राजनीतिको केन्द्रीय भूमिका रहन्छ । हामीले राजनीतिलाई जति आदर्शवान, मर्यादित, नैतिक र जनमुखी बनाउन सक्छौँ, सामाजिक जीवनका अन्य क्षेत्रसमेत त्यसरी नै जिम्मेवार र उत्तरदायी बन्दै जान्छन् । यसका लागि राजनीतिमा देश र जनताको परिवर्तन र सामाजिक रूपान्तरणका निम्ति केही गर्ने संकल्प बोकेका युवाको संलग्नता र नेतृत्व अपरिहार्य रहन्छ ।”

सिद्धान्तनिष्ठ, विचारकेन्द्रित, शिक्षित, अनुशासित, राष्ट्र र जनताको जिम्मेवारीबोधले ओतप्रोत युवा शक्तिले मात्र आजको परिस्थितिमा राष्ट्र निर्माणको ऐतिहासिक दायित्व बोध गर्न सक्ने उहाँको प्रष्टोक्ति छ । लायन्सले राष्ट्रिय विपत्तिका हरेक घडीमा आफूलाई अग्रमोर्चामा उभ्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो– “शैक्षिक एवम् सामाजिक गतिविधिमा अग्रसर भएको छ, जनचेतना र सामाजिक रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, अर्थतन्त्र चलायमान बनाउन एवम् आत्मनिर्भर र व्यवसायी युवा निर्माणका लागिसमेत उत्प्रेरित गरिरहेको छ । यो आफैमा महत्वपूर्ण कुरा हो ।”

आजको विकसित परिस्थिति र समावेशी लोकतन्त्रको मान्यताअनुरूप यस्ता क्लबले आफ्नो कार्यक्षेत्र र दायरा थप फराकिलो बनाउन आवश्यक रहेकामा प्रधानमन्त्री प्रचण्डले जोड दिनुभयो । उहाँले भन्नुभयो– “तेस्रो कार्यकालका रूपमा मलाई चुनौतीपूर्ण अवसर प्राप्त भएको छ । तसर्थ, यस कार्यकालमा बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नु, निरासालाई चिर्दै देशमा आशाको रक्तसञ्चार सिर्जना गर्नु, राष्ट्रिय सहमति र सहकार्यका आधारमा चुनौतीलाई अवसरमा बदल्नु नै मेरो संकल्प रहेको छ । सरकारको यस संकल्पमा समेत यहाँहरूको सकारात्मक सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु ।”

सामाजिक जीवनमा राष्ट्रिय छवि र प्रतिष्ठा हासिल गरेको क्लबको महाधिवेशनले लायन वर्ष २०२३/२४ का लागि क्लबको नीतिगत परिस्करण र नयाँ नीति तर्जुमाका साथै कुशल नेतृत्व चयनमा थप सफलता प्राप्त गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू