अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 07:05

प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव सम्पन्न

सकियो ‘इनरुवा उत्सव’: अन्तिम दिन ‘धोकेबाज’ गायिका एलिनाले पिटिन तहल्का

बिआरटीनेपाल २०७९ फागुन २० गते ११:२७ मा प्रकाशित

सकियो ‘इनरुवा उत्सव’: अन्तिम दिन ‘धोकेबाज’ गायिका एलिनाले पिटिन तहल्का

इटहरी । गएको फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा सुरु भएको ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव’ सम्पन्न भएको छ । हिजो १७ गते अन्तिम प्रस्तुतिका लागि लोकप्रिय गायिका एलिना चौहानको उपस्थिति रहेको थियो । महोत्सवको अन्तिम दिन झन्डै ५ हजार इनरुवावासीको उपस्थिति रहेको आयोजकले जनाएको छ । चौहानको क्रेज यति बेला देश तथा विदेशमा निकै नै छ । पहिलो पटक इनरुवा आएकी उनी यत्ति धेरैको उपस्थिति देख्दा दङ्ग परेकी छन् । आयोजकले समेत यो नसोचेको उपस्थिति बताएको छ ।

चौहानले धोकेबाज हौ तिमि, मिनिरल वाटर, गोदावरी बनैमा लगायत आफ्ना हिट गीतहरू गाएर इनरुवाबासिलाई झुमाइन् । उनले मञ्चबाट गाउँदै गर्दा उपस्थित दर्शकले पनि निरन्तर एलिनालाई गाएर साथ दिएका थिए । यसर्थ उनको क्रेज इनरुवामा समेत रहेको बुझ्न सकिन्छ । नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका सुनसरीको संयोजनमा सञ्चालन भएको यो महोत्सव फरक शैलीमा आयोजना गरिएको थियो । इनरुवामा पहिलो पटक आयोजना भएको यो महोत्सवले स्थानीय मौलिक भाषा, कला, संस्कृति, पहिचान र प्रतिभालाई प्रवर्द्धन गर्न सफल भएको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सवका परिकल्पनाकार अरुण कुमार प्रधानले बताए ।

महोत्सवको सुरुवाती दिन देखी ५ दिनसम्म चलचित्र महोत्सव अन्तर्गत प्रदेश १ मा बनेका लामो तथा छोटो १८ चलचित्रहरूलाई इनरुवामा अवस्थित शिवि सिनेमा हलमा नि:शुल्क प्रदर्शन गरिएको थियो । यस्तै इनरुवा उत्सव अन्तर्गत इनरुवामा योगदान दिएका ब्याक्तित्वहरु तथा वहाँका परिवारहरूलाई सम्मान गरिएको थियो भने कोसी प्रदेश को नाम उच्च राख्ने यहाँका चलचित्रकर्मी तथा कलाकारहरूलाई सम्मान समेत गरिएको थियो । ११ दिने उत्सवका अवधिमा कुस्ती प्रतियोगिता, बेहुली सुन्दरी प्रतियोगिता, तरकारी उत्पादन प्रतियोगिता, निबन्ध प्रतियोगितासँगै साहित्य सम्मेलन, फेसन शोका माध्यमबाट जातीय पहिरन प्रदर्शन लगायतका कार्यक्रमहरूको आयोजना गरिएको थियो । विविध कारणवश सोचेका, बोलेका र अझै गर्न खोजेका केही योजनाहरू गर्न नसकेको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव परिकल्पनाकार प्रधानले बताए । महोत्सवको अन्तिम दिन चलचित्र पत्रकार सुवास सङ्कल्पले साङ्गीतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया