अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउँदै

बिआरटीनेपाल २०७९ फागुन ८ गते ७:०० मा प्रकाशित

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताउनुभएको छ ।सोमबार आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै कार्यकारी निर्देशक नेपालले यस्तो बताउनुभएको हो ।उहाँले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै संस्थाले हेर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने उल्लेख गर्नुभयो ।

उहाँले वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको बताउनुभयो । उहाँले लघुवित्तमा पछिल्लो समय देखिएको समस्या सबै मिलेर समाधान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्दै मिटरब्याजीका कारण पनि स्थानीय स्तरमा समस्या बढी बढ्दै गएको बताउनुभयो ।नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजे भन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने,घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो । उहाँले लघुवित्तहरुले धेरै राम्रो काम उदाहरण रहेको भन्दै सबैलाई एउटै समूहमा हाल्दा ३० वर्षसम्म गरेका योगदान काम न लाग्ने बताउनुभयो । उहाँले कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दिन सबैलाई आग्रह गर्नु भयो । नेपालले लघुवित्त खारेज नभएर देखिएका समस्या समाधान गरी परिमार्जन गर्दै लैजान आवश्यक रहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरुले खराब काम गरेको भन्दै करेक्शन गरिने बताउनु भयो । उहाँले पछिल्लो समय केही शेयरका खेलाडीहरु लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेको समेत आरोप लगाउनुभयो । उहाँले कोरोना माहामारी र तरलता अभावको कारण पनि लघुवित्तहरुमा समस्या आएको बताउनु भयो ।त्यस्तै, माइक्रोफाइनान्स एशोसिएशन नेपालका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रोफाइनान्स भएकाले समस्या आएको बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन भित्र लघुवित्तहरु बसेर काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले लघुवित्तहरुले ग्रामिण क्षेत्रमा कसरी लगानी गरेर उत्पादन बढाउने र बजारको व्यवस्थापन गर्ने भन्ने विषयमा लागेको बताउनुभयो ।

उहाँले पछिल्लो समय लघुवित्तहरुमा देखिएको समस्याको विषयमा नजिकबाट हेरिरहेको बताउनुभयो । उहाँले लघुवित्तको समस्या समाधान गरेर जान तयार रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू