अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

बाघले माला जपेपछि

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७९ फागुन ६ गते २१:१९ मा प्रकाशित

साथमा मन्त्रमाला छ खरानी छ ललाटमा
शाकाहारी बनेँ भन्छ बाघ आई नजिकमा
गरूँ विश्वास के होला ? नङ्ग्रा, दाह्रा उचाल्छ कि ?
धर्मसङ्कट यो कस्तो ! क्षणभित्रै पछार्छ कि !१।

बास कहाँ बसेको थ्यो, कुन संस्कार हुर्कियो !
मिर्ग साथै बस्यो कि वा तिनैलाई सिधै निल्यो ?
नबुझी अघिको यात्रा साथै मन्त्र कता जपौँ
शिर छोपौँ कि वा मैले मुटुलाई अझै कसौँ ! २।

होला वचनको पक्का ? कि त छक्का छ दाउमा ?
इरादा उसको के छ ? दल्ला मलम घाउमा ?
सिकारी जातकै जङ्गी, जाति आफ्नै विरुद्धमा
अचम्म ! कसरी लाग्यो, छैन उत्तर प्रश्नमा ! ३।

मेरो मानवतालाई खोज्छ तौलन कि अझै !
दिनमा चिम्लिँदै आँखा, गर्जन्छ कि त रातमै ?
माला जप्दै कि यो आयो मेरो बाटो चियाउन
उठ्दा शङ्काहरू यस्तै म सक्दिनँ निदाउन !४।
——————————-
गोरखा , लप्सीबोट ; हाल : काठमाडौँ- ६, सरस्वतीनगर ।