अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 13:23

प्रश्नोत्तर

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७९ माघ ९ गते २१:३१ मा प्रकाशित

म आफ्ना प्रश्नहरूको
आफै उत्तर दिँदै हिडिरहेको छु
मौनताको कुनै श्रोताहरू छैनन्
मेरा प्रश्नहरू प्रकट छैनन्
म वाचाल भित्रभित्रको
मेरा उत्तर पनि सार्वजनिक छैनन् ।

गुरुहरू बोली एउटा
व्यवहार अर्कै बाटो हिँडे
आस्था खण्डित भो
मेरो जिज्ञासु कोमल हृदयमा
श्रद्धाभाव हट्दै गयो
अनादर्श पदचापमा

आदर्श कुन् उत्तरको आशा गरौँ ?

विचारले तीर हानिरहेको छ – आफैतिर
मुटु आफ्नै छाम्ने आदेश गरिरहेको छ
पुस्तक र प्रमाणपत्रको सिरानीमा
मनको प्रयोगशाला रचेर
म आफ्नै उचाइ नापिरहेको छु
के प्रश्न जन्मने गर्भमा
उत्तरका बास हुँदैनन् ?
यो प्रश्न पनि आफैलाई ।

भूगोलको पूरै भाग
एकैपटक छायाले छेकिँदैन
छलिएका किरणहरू बिस्तारै आउँछन्
सुस्केराका किरणहरू नै उत्तर हुन्
आँखाभरि पोतिने रङ्गहरू प्रत्यक्ष छन्
उब्जने प्रतिक्रियाहरू स्वाभाविक छन्
आफैलाई नछामी-
लोकका क्षणिक आकृतिहरूमा
शतश: समर्पण
जीवन नामको मृत्यु हो
विधान – मान्छेबाट लेखिएका अक्षरहरू
याम/ बेयाम च्यातिएका छन्
कृत्रिम हावाले भरिएका
बेलुनहरू फुटेका छन्
दमका/ ब्याट्रीका घडीहरू सुतेका छन् !

हिमाली धवलता रित्तिएनन्
झरनाका गति सुकेनन्
ऋतुले नाम बदलेनन्
स्वभावमा परिवर्तन भएनन्
स्वीकृति र अस्वीकृतिका जुलुसहरूमा
तिनले कहिल्यै भाग लिएनन्
यी निरुत्तर यात्रीहरू
मेरा मौनताका साथी हुन सक्छन् !

त्यसैले
आँखाभरि दृश्य बोकेर
म मौन छु
कानका – शब्दहरू
छालाका – स्पर्शहरू
नाकका – गन्धहरू
जिब्राका- स्वादहरू
सबै सबै स्पष्ट छन् – मभित्र
परिचित अभिवादनहरूमा
हात उठाउँदै
बाहिरी कोलाहलमय भीडमा
आशा अलि पर राखेर
समस्या अनि समाधान
अखण्ड-दीप जलाएर
म मौन – मौन
ऊर्ध्वगामी यात्रामा
मनका पाइलाहरू चालिरहेको छु !!

——————
गोरखा, लप्सीबोट; हाल: काठमाडौँ- ६, सरस्वतीनगर ।