अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 12:45

प्रमुख विपक्षी दलको मान्यता माग गर्दै सभामुखलाई सांसद सुवालकाे निवेदन

बिआरटीनेपाल २०७९ माघ ७ गते ५:२६ मा प्रकाशित

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले आफ्नो पार्टी प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेहरु मध्ये सबैभन्दा ठूलो दल भएको उल्लेख गर्दै विपक्षी दलको मान्यता माग गनुभएको हो ।

सोही व्यहोराको निवेदन उहाँले संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम मार्फत सभामुखलाई दिनुभयो । उहाँले कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दलको रुपमा प्रस्तुत गरेको भन्दै आपत्ती समेत जनाउनुभयो । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको–पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम आफ्नो दल प्रमुख विपक्षी दलको हकदार भएको उहाँको भनाई छ । यो ऐन अनुसार सरकारलाई समर्थन नगर्ने दलमात्र प्रमुख विपक्षी दल हुन सक्छ ।

प्रतिनिधिसभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सो भन्दा बढी सदस्यहरु भएको कुनै पनि दल विपक्षमा नभए प्रतिनिधिसभामा सभामुखले र राष्ट्रिय सभामा राष्ट्रिय सभाका अध्यक्षले तोकिदिएको दल प्रमुख प्रतिपक्षी दल हुने व्यवस्था यस ऐनमा छ ।

मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दल बाहेकका दलहरुमा दश प्रतिशत सदस्य नभएको सदस्यहरु भएको अवस्थामा सभामुखले प्रतिनिधिसभामा र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभामा विपक्षी दल तोकिदिने व्यवस्था छ । यही व्यवस्था अनुसार प्रमुख विपक्षी दलको नेतामा दाबी गरेको सांसद सुवालको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू