अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 11:45

जीवन्त कथाकार गुरुप्रसाद मैनाली

युवराज मैनाली २०७९ पुष २५ गते ११:०२ मा प्रकाशित

नेपाली साहित्यका प्रमुख चार विधाका रूपमा–कविता, निबन्ध, नाटक र कथा रहेका छन् । । अझ यसलाई आख्यान र आख्यानेत्तर भने पनि सजिलै होला । आख्यानअन्तर्गत कथा, निबन्ध,नाटक, उपन्यास पर्दछन् भने आख्यानेत्तर अन्तरगत कविताका सबै स्वरूपलाई लिन सकिन्छ । आख्यान अन्तरगत पर्ने कथा विधा लोकप्रिय विधा हो । यसमा समाजका घटनाहरू कुशलतापूर्वक सजाइने हुँदा भावकमा राम्रो प्रभाव सञ्चारित हुनपुग्छ । विश्वमै व्यापक र लोकप्रिय भइसकेको कथाले विभिन्न ढाँचा र स्वरूपमा आफूलाई परिचित गराइसकेको छ । पूर्वीय र पाश्चात्य साहित्यका विद्वान्, समालोचक, विचारक र स्रष्टा स्वयंंले आआफ्ना ढङ्गबाट यसको परिभाषा गरिसकेका छन् । सबैको परिभाषा यहाँ दिनु सम्भव र आवश्यक पनि रहन्न । लेखन क्रमसँगै साहित्यमा पनि नयाँनयाँ परिभाषा आउँने क्रम भइरहन्छ, यो स्वभाविकै पनि हो । सबैका अहिलेसम्मका परिभाषा अध्ययन गर्दा गद्यमा लेखिएको एउटा पात्र र घटनालाई आधार बनाएर पाठकमा एउटै प्रभाव उत्पन्न गर्न सक्ने जीवनको एक अंशको सिलसिलेवार कलात्मक भाषिक प्रदर्शनात्मक सिर्जना कथा हो । कथामा उद्देश्य रहेको हुन्छ र उद्देश्य परिपूर्तिका लागि कथानक, परिवेश, दृष्टिविन्दु, भाषाशैली आदि भाषाका संरचक घटकहरूलाई उपयुक्त तरिकाले संयोजन गरेर कथाको निर्माण गरिन्छ । विषयवस्तु, प्रवृत्ति, प्रस्तुति, आयाम र शैलीका आधारमा कथाको वर्गीकरण हुन्छ ।

नेपाली साहित्यमा यहाँका विभिन्न धार्मिक ग्रन्थहरूमा रहेका नायकसम्बन्धी वर्णनले आख्यानको प्रारूप दिएका हुन् यसैले महाभारत, रामायण, स्वस्थानी व्रतकथा, श्री सत्यनारायण कथाहरूलाई यसका आदिम रूप मान्न सकिन्छ । हुन त प्रत्येक मानिसका कथा, व्यथा हुन्छन् । त्यस्ता कतिपयः कथाहरू लोकोक्तिका आधारमा पनि रहेका देखिन्छन् । गोरखापत्रको प्रकाशनपूर्व प्रकाशित कथालाई समालोचकहरूले यस विधाको प्राथमिक काल भनी स्वीकारेका छन् । त्यस अवधिमा लेखिएका कथाहरू संस्कृत, अरबी र फारसीबाट अनुवाद गरिएका पाइन्छन् । पुराण, धर्मग्रन्थबाट ईश्वरको भक्तिगान गरिएका कथाहरू मौलिक निश्चय नै होइनन् । यिनमा सामाजिक जीवन थिएन । देवशमशेरका पालामा गोरखा पत्रको प्रकाशन भएको हो । यसैबेलादेखि विभिन्न भाषाबाट खालखालका कथाहरू प्रकाशित छन् र यिनलाई केवल पूर्व सङ्केतका रूपमा मात्र लिन सकिन्छ । वि सं १९५८ मा गोरखा पत्रको प्रकाशनदेखि गुरुप्रसाद मैनालीको ‘नासो’ को प्रकाशनपूर्वको समयलाई माध्यमिक काल भनिएको छ र यस कालमा पनि प्राथमिककालीन प्रवृत्तिकै विस्तार भएको देखिन्छ । अनुवाद, रूपान्तरणका साथै यस अवधिमा केही मौलिक लेखन भएका पाइन्छन् । ऋध्दिबहादुर मल्लले साहित्यका उन्नयनका निमित्त वि सं १९९१ ‘शारदा’ पत्रिकाको प्रकाशन प्रारम्भ गरे । यसले नेपाली साहित्यको उत्थानमा ऐतिहासिक भूमिका निर्वाह गरेको तथ्य हाम्रासामु छँदै छ । यसै पत्रिकामा गुरुप्रसाद मैनालीको ‘नासो’ कथा १९९२ मा प्रकाशित भए लगत्तै नेपाली कथा साहित्यमा नयाँ युगको ढोका खुल्दछ । यस कथाबाटै आधुनिक नेपाली कथा शुभारम्भ हुनपुंग्छ र गुरुप्रसाद मैनालीलाई प्रथम आधुनिक कथाकारको सहज श्रेय उपलब्ध हुन्छ ।

गुरुप्रसाद मैनाली नेपाली कथा साहित्यका आधुनिक प्रथम र सचेत कथाकारका रूपमा देखा पर्दछन् । हिन्दी कथाकार प्रेमचन्दका कथा पढेका मैनाली उनीझैँ नै सामाजिक कथालेखनमा खप्पिस लाग्दछन् । नेपाली समाजलाई अत्यन्त नजिकबाट चिनेका मैनालीका कथा सामाजिक कथामा सामाजिक आदर्शोन्मुख यथार्थवाद नै आत्मस्थ भएको भेटिन्छ । गाउँमा जन्मे हुर्केका र न्यायक्ष्ोत्रमा लामो समय काम गर्दा उनले अनेक घटना देखे । मानिसका गतिविधि अध्ययन गरे र उनको मन सबभन्दा बढी प्रभावित भएको विषयवस्तु उठान गरे । घटना र पात्रलाई अनुकूल बनाएर मिलाए । त्यस स्थानमा मनोरम प्रकृतिका विम्बलाई उतारे । कथाका आवश्यक तत्व वा उपकरणहरूलाई उपयुक्त किसिमले संयोजन गरेर परिपुष्ट हुनेगरी कथा लेखे । नेपाली कथालाई जीवन दिए । पैतृक थलो काभ्रेको कानपुर, जन्मस्थान धनकुटा र जागिरे जीवनका क्रममा नेपालका विभिन्न जिल्ला पुगेका मैनालीले तिनै स्थानका जीवन्त कथा लेखे । थोरै लेखेर प्रतिष्ठा कमाउनेमा मैनाली अब्बल भएर उभिए । १९९२ को ‘शारदा’ पत्रिकामा ‘नासो’को प्रकाशन हुनु नेपाली कथा साहित्यका परम्परामा महत्वपूर्ण उपलब्धि थियो । नैतिक र उपदेशात्मक अनि उडन्तेपनबाट कथा फुत्कियो । कथाका विषयले विशाल क्षेत्र ओगट्यो । यस्ता सफल र सशक्त कथा लेख्ने मैनालीको कृति भने धेरैपछि मात्र प्रकाशित भयो । फुट्कर रूपमा मैनालीका कथा पढेका नेपाली पाठकहरूमा उनको कृतिको अभाव खड्किरह्यो । प्रसिध्द समालोचक ताना शर्माको सम्पादकत्वमा २०२६ सालमा आएर मात्र मैनालीका एघारवटा कथा सङगृहीत ‘नासो’ शीर्षक कथा बाहिर आउन सफल भएपछि मैनालीका एकभन्दा एक महत्वपूर्ण कथा एकै ठाउँमा कथाका पाठकले अध्ययन गर्न पाए । यस कथा सङग्रहको लोकप्रियताले व्यापकता लियो, लिनु नै थियो पनि । त्यसपछि कथाका धेरै कृतिहरू प्रकाशित भए । तिनको महत्व आआफ्ना ठाउँमा रहे पनि मैनालीको ‘नासो’ जति लोकप्रिय अहिलेसम्म कुनै पनि कृति कथाफाँटमा देखिन सकेका छैनन् । स्तरीय लेखियो भने दर्जनौँ कृति लेखनको आवश्यकता छैन जीवित रहनका लागि । मैनाली यसका उदाहरण हुन् नेपाली कथाका क्षेत्रमा ।

गुरुप्रसाद मैनालीका कथा सामाजिक यथार्थका ऐना हुन् । खराब पात्रलाई दण्ड दिलाएर आदर्शको सङ्केतमा पुग्नु मैनालीको कथात्मक आँत हो । सङ्ग्रहको पहिलो कथा र कृतिको शीर्षकसमेत रहेको ‘नासो’ यथार्थ कथा हो । यसका पात्र देवीरमण सम्पत्ति, ख्याति सबै भएर पनि सन्तानको अभावमा पिरोलिरहेको वा रहँने तत्कालीन समाजको प्रतिनिधि पात्र हो । छोरो विना परत्र बिग्रने विश्वासमा रहेका देवीरमण सन्तानकै लागि सीतासावित्रीजस्ती शुभद्रा भएर पनि आफूभन्दा निकै कान्छी केटीसित विवाहसूत्रमा बाँधिन्छन् । लक्ष्मीबाट छोराको जायजन्मले आफ्ना वंशको रक्षा हुने देखेर उनी अत्यन्त सुखको अनुभूति गर्दै रहन्छन् । छोरा सुशीलको जन्म लक्ष्मीबाट भए पनि स्याहारसुसार, खानपान सबै शुभद्राबाट हुँदा ऊ आफ्नी आमाभन्दा ठुली आमासँग बढी झ्याम्मिन्छ । तीर्थाटनमा जाँदा लक्ष्मीलाई लिएर जानु आफूलाई एक वचन पनि नसोध्दा शुभद्रा दुःखित हुन्छिन् । नोकर्नी नौली आगामा घिउ थप्दै जान्छे । सौतेनी घोचपेचले मनोमालिन्य झाङ्गिन्छ र शुभद्रा घर छाडेर जानेसम्मको अवस्था सिर्जना हुन्छ । फुपूको घरमा गएर बसेकी शुभद्रा सद्वीउ छर्ने दिन पशुपतिमा नौलीलाई भेट्छिन् र घरको सबै हालखबर सुनेर दःुखित हुँदै फेरि घर फर्कन्छिन् । मृत्युशै्ययामा छट्पटाइरहेकी लक्ष्मी पहिले गरेको गल्तीप्रति माफी माग्दै नासोका रूपमा आफ्नो छोरा सौता शुभद्रालाई सुम्पन्छिन् र आफू चिरनिद्रामा सुत्छिन् । कथा अत्यन्त मार्मिक भएर अन्त्य भएको छ । यस कथामा सामाजिक अन्धविश्वास, बहुविवाह, अनमेल विवाह, नोकर राख्ने प्रवृत्ति, ज्योतिष देखाउने चलनजस्ता तात्कालिक समाजका यथार्थ चित्रण चित्राङ्कित भएका छन् ।

‘छिमेकी’ कथामा मर्दापर्दा छिमेकी भन्ने गाउँ समाजको मान्यता उजेल्लिएको छ । छिमेकीको महत्व अझ गाढा बनाइको छ । गाउँतिर सानातिना कुरामा हुने झैझगडा, अर्मल, पैँचोऐचोको कुरामा रिस उठेपछि बाबुका गल्तीलाई समेत ओकल्ने समाज, अरूलाई उचाल्ने÷पछार्ने र रमिता हेर्नै प्रवृत्तिका यथार्थलाई झल्काइएको छ । गुमानेको गोरु बालीमा पस्नेबित्तिकै धनजितेले गोरु चुट्नु, गुमानेले अर्मल तिर्ने कुरा गर्नु, भनाभन हुनु र धर्मानन्दको भनाइले हात हालाहालको स्थितिसम्म पुग्नु, झगडा छुट्याउनु, बोलचाल बन्द हुनु, आवतजावत ऐँचोपैँचो रोकिनु यी सबै सन्दर्भमा नेपाली समाजको जीवन्त स्वरूप झल्किएका छन् । आशामरु साहुको हिउँदे पसलको प्रसङ्ग ल्याइनु, आँठेको महामारीमा गाउँका मानिस सोत्तर हुनु यी सबै जीवन्त पक्षहरू हुन् । बिरामी हुँदा धनजिते गुमानेका घरमा हेर्न नआए पनि धनजिते बिरामी हुँदा गुमाने उसकहाँ गएर सेवासस्रुषामा जुट्नु, गाईवस्तु जङ्गलमा लगेर चराइदिने काम गर्नु मानवीय उदार हृदयका उत्कृष्ट उदाहरण हुन् । सच्चा छिमेकीका नमुना हुन् । धनजिते, गुमाने, धर्मानन्द आदि पात्रहरू हाम्रै घरगाउँका सजीव पात्र हुन् खराब असल दुवै खालका । आशामरु साहुको हिउँदे पसल यतै कतै हाम्रा काभ्रेतिरकै रोसी खोलाको कटुन्जे र धुल्पुरेका धुलिखेले बनेपालीका पसलझैँ लाग्छ ।

‘प्रायश्चित्त’ कथा असमयमै पति गुमाएकी एक जना बिधवाको मार्मिक कथा हो । महिलालाई मात्र सताउने, पुरुषको गल्ती नदेख्ने, महिलाले महिलाकै कुरा काट्ने, माइत बसेकी नन्दआमाजुप्रति भाउजुबुहारीले गर्ने व्यवहार, नारी स्वतन्त्रताका सिध्दान्त फलाक्ने, आदर्शका गुड्डी हाँक्ने, आफैँले प्रेम गरेर ग्रहण गर्ने कुरामा विश्वास दिलाउने तर बच्चा पेटमा भएको थाहा हुनासाथ इच्छा हुँदाहुँदै पनि समाज÷परिवारका डरले भाग्ने गोविन्दजस्ता पात्रको कथा हो । छिमेकी बि .ए .सम्म अध्ययन गरेको गोविन्दसित बिधवा गौरी आकर्षित हुन्छिन् । गोविन्द पनि उनीप्रति लहसिन नजिकिन्छ । परिणामतः उनको जिउ भारी हुन्छ । गौरी यसको जानकारी गोविन्दलाई दिन्छिन् । समाजले उनको कुरा काट्दै जान्छ । भाउजुसमेत दाजुलाई उनका चरित्रको कुरा देखाएर उचाल्छिन् । गोविन्दलाई भेट्न जाँदा आँगनमा देख्नेबित्तिकै गोविन्दकी आमाले अपशब्द बोल्दा त्यसलाई सबैले गहिरिएर हेरेको दृश्यमा उनलाई नराम्रो चोट पुग्छ । समाजमा रहनका लागि आफ्नो कुनै पनि स्थान नभएको महसुस गरेर पतिदेवको तस्बिर सामु उभिएर आफूले जीवनमा गल्ती गरेको र त्यसकै प्रायश्चित्त गर्न आएको कुरा गर्छिन् । रानीपोखरीमा गएर सदाका लागि आफ्नो जीवनलीला समाप्त गर्न विवश हुन्छिन् । पुरुषले जे गरे पनि हुने तत्कालीन समाज कथाले देखाएको छ । ‘पापको परिणाम’ पाप गर्नेले त्यसको परिणाम जीवनकालमै देख्दछ भन्ने कुराको सङ्केत छ । तालुक, मुखिया, जाली, फटाहाहरूले गाउँका सिधासाधालाई कसरी जालमा पार्छन् र सरकारी अड्डा अदालत पनि निरीहका लागि होइनन् उनीहरू टाठाबाठाका मतियार हुन् भन्ने भाव देखिन्छ । कान्तुपाध्या शोषकको प्रतिनिधि पात्र हुन् । आफ्नो कुत्सित मनसायले सार्वजनिक वन र चौरसम्म सरकारी कर्मचारीको मिलेमतोमा उनी दर्ता गर्न पुग्छन् । गाउँका वस्तुभाउ चराउने र घाँसदाउरा गर्ने समस्या उत्पन्न हुन्छ । रानीवन, सिमलचौर आफ्नो नाममा दर्ता गरेर, सर्वसाधारणलाई गाईबाख्रा चराउने र घाँसदाउरा गर्ने अधिकार खोसेर कान्तु मुखिया गाउँमा हैकम चलाउँछन् । गाउँका छोरीबुहारीको घाँसदाउरा खोस्दै अनेक दुःख दिन्छन् । पछाडि कुरा काटे पनि उनका सामु कोही बोल्न सक्दैनन् । वनको पुछारको सिमल चौर सम्म थियो । सुकुम्बासी घर्तीहरूले कान्तुसित सिमलचौरमा बस्न जग्गा दिन अनुरोध गर्दा कान्तु झन कडा बन्छन् । घर्तीहरू मिलेर सिमलचौरमा राति नै टहरा बनाउँछन् । हटाउन घर्तीहरूले नमानेपछि उनीहरूको नाममा वन फडानीको मुद्दा लगाइन्छ । गाउँ समाज कान्तुकै पक्षमा उभिन्छ । अदालतबाट घर्तीहरूलाई सजाय भयो । उनीहरू जेल परे, आइमाई र केटाकेटीको बिचल्ली भयो । यस घटनाको एक वर्ष पनि नपुग्दै गाउँमा झाडापखालाको महामारी फैलिन्छ । गाउँमा दिनहुँ मानिसहरू मर्न लाग्छन् । कान्तुकी स्वास्नी र दुई छोरा पनि झाडापखालाले बित्छन् । कान्तुमा भावना बदलिन्छ । धर्मप्रति आस्था बढ्छ । सम्पत्तिको मोह घट्छ । एक दिन काठमाडौँको सडकमा घुम्दै जाँदा एउटा दीनहीन बालक सडकमा एउटा पैसा दिनोस् हजुर भन्दै दयाको भीख मागिरहेको देखेर एक मोहोर दिन्छन् । चिनेजस्तो लागेर सोध्दा घर सिमलचौर जुठेको छोरो सन्ते भएको कुरा थाहा हुन्छ । रात परेपछि लुकेर पछिपछि लाग्दै जाँदा मङ्गली सिकिस्त भएर सुतिरहेको देख्छ । उसले आफूलाई सरापेको सुन्छ । रोगीको प्रलाप सुनेर कान्तुका आँखा तिरमिर हुन्छन् । कसैले उनलाई कानमा आएर यो तेरै पापको परिणाम हो भनेजस्तो लाग्छ । यो शोषण र अन्यायको चरम अवस्थाको विम्ब हो ।

‘बिदा’ सहरिया परिवेशको कथा हो । आफूभन्दा माथिको जात र कुलीन परिवारमा छोरी बिहे गर्न उद्यत पात्र अगमसिँह खत्री हुन् । प्रभा वयस्क बन्दै गर्दा बाबुको हठका कारण जीवनसाथी पाउँदिनन् । उनको रूप र यौवनमा टोलका युवाहरू आकर्षित हुन्थे । साथीसँगातीका जोडी देखेर र उनीहरूका कुरा सुनेर प्रभा कल्पन्छिन् । कलेजका केटाहरू पनि प्रभासित आँखा जुधाउँछन् । मेजर चन्द्रविक्रमका छोरा नरेन्द्रविक्रम प्रभासित आकर्षित हुन्छन् । नरेन्द्रले प्रभासित बिहे गर्न कुरा गर्दा उनका बाबुबाट सहमति हुँदैन । नरेन्द्रले कोठा खोजेर प्रभालाई भगाउँछन् । यसको गाइगुइँ सुनेपछि नरेन्द्रको विवाह गरिदिन्छन् । वरियात गएको प्रभा आफैँले देख्छिन् । उनी चिन्तित हुँदै एउटा माईसित हिँडेर भक्तिशिलामा परिणत हुन्छिन् । नरेन्द्र डेरामा गएर सोध्दा उनी हिँडेको थाहा पाउँछन् । अध्ययनका सिलसिलामा उनी कलकत्ता मेडिकल कलेज जान्छन् । अध्ययनमा पनि प्रभाको स्वरूप सामुन्ने आइरहन्छ । उनी पढाइ छोडेर हरिद्वारतिर लाग्छन् । बिरामी अवस्थामा नरेन्द्र वास माग्न आइपुग्छन् । प्रभा उनको स्याहारसुसार राम्ररी गर्छिन् । एक दिन एउटा पत्रमा “ छोरा जिम्मा लिनोस् विदा ” भनेर नदीमा आत्मस्थ हुन्छिन् । अभिभावकले हठ लिँदा छोरीका जीवन कस्ता भयावह बन्छन् भन्ने कुरा यस कथाले राम्ररी उजागर गराएको छ ।

‘परालको आगो’ लाग्नेस्वास्नीका झगडामा आधारित कथा हो । चामे र गौँथली यस कथाका केन्द्रीय पात्र हुन् । दिनभरि हलो जोतेर आएको चामे भोकले भुतुक्क हुन्छ । गौँथली घरमा आग्लो लगाएर विहे हेर्न गएकी हुन्छे । हत्तपत्त घरमा आई पँधेरातिर गाग्रोसहित जाँदै गरेको देखेर चामेका कन्पारा तात्छन् । ऊ लात्तीले भकुर्छ । गौँथली पनि मुख छाड्न बाँकी राख्दिन । घटनाले गौँथली घर छाडेर माइती जानेसम्मको अवस्था सिर्जना गर्छ । भैँसी दुहुन जाँदा चामेलाई उसले लात बजार्छ । रिसले भैँसीलाई कुट्दा दाम्लो छिनालेर कोकलेको बालीमा पुग्छ । कोकले यसै रिसले चामेका गालामा चड्कन दिन पुग्छ । ऊ भोकै सुत्यो । यसरी गौँथली नहुँदा चामेको अतीत पश्चात्तापमा परिणत हुन्छ र ससुराल गएर श्रीमती ल्याउन चामे विवश हुन्छ । उनीहरू पहिलेजस्तै घरव्यवहार चलाउँदै जान्छन् । यसरी कथाकारले लोग्नेस्वास्नीको झगडा क्षणिक मात्र हो भन्ने तथ्य दिएका छन् । यो परालको आगोजस्तै अस्थायी हुन्छ भन्ने यथार्थ उजागर गरेर समाजसामु राखिदिएका छन् कथाकारले ।

‘अभागी’ बाल्यावस्थामै आमा गुमाएको मातृममताबाट बञ्चित एकजना टुहुरोको मार्मिक कथा हो । पण्डित माधवप्रसादकी पत्नी गङगाको अल्पायुमै मृत्यु हुन्छ । अन्तिम समयमा गङगाले कृष्णमाथि दया गर्नु होला भनेर आफ्नो मुटुको टुक्रा एक मात्र सन्तान पति माधवको जिम्मा लगाएर संसारबाट बिदा लिन्छिन् । आमाको मृत्युपछि कृष्ण अत्यन्त चक्चके भएर गलत सङ्गततिर जान्छ । पढ्नेतिर उसको मन लाग्दैन । माधवप्रसाद जता गए पनि छोरा कृष्णलाई सँगै लिएर जान बाध्य हुन्छ । कथं नलिई जानु पर्ने भए ढोका बन्द गरी जान बाध्य भएको अवस्थासम्म पुग्छ । भातभान्सा पनि सधैँ आफैले गर्नु पर्ने हुन्छ । आफन्त र शुभचिन्तकका सरसल्लाहमा माधवले करुणासँग अर्को विवाह गर्छन् । करुणाको गृहप्रवेशसँगै कृष्णका दुःखका दिन सुरु हुन्छन् । उसको खानपिनमा ध्यान दिइदैन । करुणा कृष्णका लागि अकरुणाकी औतार बनेर देखिन्छिन् । उनको कुटाइपिटाइ खानु कृष्णको दैनिकीजस्तै रहन्छ । उसले भोकभोकै रहन बाध्य हुनुपर्दछ । दशैँको दिनसम्म पनि उसले सौतेनी आमाका कटु वचन र यातना खप्न परिरहन्छ । करुणाबाट एक छोरा केशव जन्मन्छ । कृष्ण केशवलाई अत्यन्त माया गर्छन् तर आमा करुणा कृष्णलाई देख्ने बित्तिकै आगो हुन्छिन् । एक दिन शिवरात्रीमा कानफट्टा जोगीका साथ कृष्ण घर छाडी दिन्छ । कथा दुखान्त भएकाले यसमा सौतेनी टोकसोले बालक कसरी बरबाद भएको भएकै हुन्छन् भन्ने मूल भाव यसमा रहेको छ ।

‘शहीद’ कथा राणाकालीन नेपालमा साहुका चक्रवर्ती ऋणले परदेश लाग्न विवश नेपालीको कथा हो । गरिबी र अभावले घरपरिवार छाडेर विदेशिनु परेका अवस्था यहाँ देखाइएको छ । वीरवहादुर स्वाभिमानी पात्र हो । आफ्ने गाढा खेत साहुलाई बन्दकी दिएर ऊ विदेश जान्छ । घरमा एक छोरो र श्रीमती हुन्छन् । दरवान र पछि रिक्सा चलाउने कामबाट केही मात्रामा जम्मा गरेको रुपियाँ पनि चोरी हुन्छ । यत्तिकैमा एक मात्र छोरो रामको मृत्युले उसको मनमा गहिरो चोट पुग्छ । एउटा ट्याङ्का मात्र लिएर घर फर्कने क्रममा प्रजातान्त्रिक आन्दोलन अन्तर्गतको मुक्तिसेनामा भर्ना हुन्छ । गोली लागेर उसले त्यहीँ सहादत गर्दछ । राणाकालीन नेपालको शोषण र तिनका लागि गरिएका आन्दोलन यस कथाभरि देखिन्छन् । भारतमा गएर पनि धनेजस्ता चोरीमा लागेका व्यक्ति पनि नभएका होइनन् भने सम्धिनीजस्ती वेश्यावृत्तिमा लागेका व्यक्तिहरू पनि यसमा देखाइएको छ ।

‘कर्तव्य’ कथाबाट कुल वंशमा कर्तव्यबोध गराइएको छ । झगडा, वैमनस्यता जे भए पनि जसले जे गरे पनि समाजका सामु देखावटी नै किन नहोस् कर्तव्य गर्नु नै पर्ने हुन्छ । उदार हृदय भएका व्यक्ति मुखिया गङ्गाधरका दुई छोरा– मुरलीधर र शशिधरलाई उभ्याइएको छ । गङ्गाधरको मृत्युपछि पिपले खेतको जिउनीलाई शशिधरले मुद्दा हाली जितेर आफ्नो बनाएपछि दाजुभाइका बिच बोलचाल बन्द भएकै अवस्थामा शशिधर बिरामी हुन्छन् । छोराको बिहे हुन्छ । उनी जान सक्दैनन् । गाउँटोल सबैलाई बोलाएर धुमधामसँग गरेको विवाहमा नबोलाए पनि मुरलीधरको मनले मान्दैन । उनी दुलहीका घरमा गएर आफ्नो उपस्थिति दर्शाउने मात्र नभई बेइज्जत हुने सङ्कटपूर्ण अवस्थाका समेत समाधान गरेर आएको खबरले शशिधरमा पश्चात्तापको ज्वाला बल्यो । खेत आधा आधाको प्रस्ताव राख्न पुगेका भाइको प्रस्ताव इन्कार गर्दै आफूलाई सम्पति आवश्यक नै नभएको खबर दाजुले दिनासाथ ज्वरग्रस्त बिमारमा शशि पुग्छन् । मुरलीधरले दिएको विशाल हृदयको परिचय सारा असल मानिसको प्रतिनिधित्व हो त्यस्तै शशिले दिएको परिचयय परिवर्तन हुन खोज्ने खराबहरूको हो । भाइ सिकिस्त बिरामी हुँदा विदेशसम्म लगेर निको पार्ने मुरली विशाल मनका धनी देखिन्छन् ।

‘प्रत्यागमन’ कथामा डेढ वर्षको छँदा मातृवियोगमा परेको छोरा रामुको कथा छ । मर्ने बेलामा सौतेनी बुहारी शोभालाई जिम्मा लगाएकाले शोभाले पनि आमाजस्तै गरेर रामुलाई हुर्काउँछिन् । रामु भाउजुलाई आमाजस्तै मान्छ ।आमासितजस्तै लाडिन्छ । झ्याम्मिन्छ ।साधारण शिक्षकको जागिर भएर पनि भाइको पढाइमा उनी कुनै पनि कसर राख्दैनन् । भाइको भविष्यका लागि निर्मल सधैँ चिन्तित रहन्छन् । बाइस वर्षको उमेरमा रामुले एमएसी प्रथम श्रेणीमा उत्तीर्ण गर्दछ । रामुको सफलतामा निर्मल र शोभा अत्यन्त गर्व गर्दछन् । रामुको सफलता सबैलाई सुनाउँछन् । आफूलाई केही सोध्न कोही आएमा उनी रामुलाई सोध्नु भनेर भाइतिर पठाउँछन् । दाजुभाइबिच सुमधुर सम्बन्ध थियो । निर्मल र शोभाका हरि र वसुधा दुई सन्तान जन्मे । हरि र वसुधालाई रामु अति माया गर्छ । बाहिरबाट आउँदा चक्लेट लगायतका चिजविज किनेर ल्याइदिन्छ । रामुसित उनीहरू बाबुआमासितभन्दा बढी नजिकिन्छन् । रामुसितै उनीहरू सुत्छन् । एमएसी पास गरेको केही महिनामा गुरुपुरोहित उत्तमराज पण्डितले रामुलाई कन्या सुम्पे । ठुलो खानदानी परिवारमा व्यवहार हुँदा गरिब निर्मलले घर धितो राखेर विवाह गरिदिए । रामु त्रिचन्द्र कलेजमा साइन्सका प्राध्यापक भए । साठी रुपियाँ भित्रिने रामुको घरमा पाँचसय साठी भित्रिन थाल्यो । सबैमा खुसी छाउनु स्वभाविकै हो । छोटै समयमा रामुकी दुलही घोचपेच गर्ने, निहु खोज्नेजस्ता कुराले माइतीको धाक लगाउन लागिन् । अब रामुले आफ्नो तलव पनि घरमा दिन छोड्यो । श्रीमतीले उचालेका भरमा दाजुबाट अलग हुन अंश माग्न लाग्यो । एक दिन उनीहरू घर छाडेर ससुरालीको जुध्दसडकतिरको घरमा लागे । त्यहीँ बसे । रामुको एउटा छोरा जन्म्यो ।ऊ कुनै दिन सिकिस्त बिरामी हुन्छ । अस्वस्थ अवस्थामा श्रीमतीको व्यवहारले उसको मन परिवर्तित हुन पुग्छ । ऊ भाउजुलाई लिन पठाउँछ । केही ठिक भएपछि भाउजुका साथ लागेर रामु दाजुका घरमा आउँछ । त्यहीँ बस्न लाग्छ । नारी आवेग र भौतिक आकर्षण नै सम्बन्ध विनाशका कारण हुन् भन्ने सन्देश यसमा दिइएको छ ।

‘चिताको ज्वाला’ शीर्षक कथाले एउटी नारीको अन्तर वेदना र छट्पटीलाई देखाएको छ । आफ्नो इच्छा अनुसार जीवनसाथी नपाउँदाको पीडाको चित्रण यसमा भएको छ । हरि र शशीको बालप्रेमले अव्यक्त रूपमै एक अर्कालाई चाहन्छन् । हरि अध्ययनका सिलसिलामा बनारस पुग्छ । पढाइमा अब्बल भएकै कारण बि .ए .मा सर्वप्रथम भएका हरिका सामु एउटा चिठी देखा पर्छ । चिठीमा शशीको एउटा लफङ्गा केटासित विवाह भएको, सधैँ कुटपिट गरेर दुःख दिएको कुरा महेशले लेखेको हुन्छ । यो हेरेपछि हरिका सामु शशीको सुन्दर स्वरूप उदाउँछ । उसले विवाह गरेको कुरा सुन्दै हरिका मनमा दुःखले डेरा जमाउँछ । अर्को साल ऊ घर जान्छ । शशीसित भेटेर एक अर्काका बिचमा पुरानादेखि अहिलेसम्मका कुरा हुन्छन् । शशीलाई ठिक नहुने रोग लागेको चाल पाउँछ हरिले । उनी मृत्यृशय्यामा छट्पटाइरहेकी हुन्छिन् । आफ्नो इच्छानुसार हरिलाई विवाह गर्ने सल्लाह दिन्छिन् । हरि यसमा सहमत हुँदैनन् । शशीवाहेक अरूसँग विवाह नगर्ने सोचमा थिए उनी तर शशीको विवाह अर्कैसँग भएकाले यो सम्भावना रहेन । बिरामी शशीको हालतले उनलाई अझ सतायो । यसरी यो कथा पनि दुखान्तमै टुङ्गिन्छ ।

यसरी कथाकार गुरुप्रसाद मैनाली सामाजिक आदर्शोन्मुख यथार्थवादी कथाकारका रूपमा उभिन्छन् । उनका कथा यथार्र्थका ठोस धरातलमा फैलिएका छन् । यिनका कथा चरित्र र घटनामा रमाउँछन् । यिनका कथामा मार्मिकता र हृदयस्पर्शिता हुन्छ । यिनका कथा सङ्गठनात्मक रूपमा सबल रहन्छन् । आदिमध्यान्तलाई अत्यन्त सचेतताका साथ यिनका कथाले समातेको हुन्छ । यिनको भाषा सरल, सहज र स्वभाविक रूपमा अगाडि बढ्छ । सरलतामै गहनता हुन्छ भन्ने कुरामा मैनालीका कथा उदाहरण बनेका छन् । मैनालीका प्रत्येक कथा मार्मिक छन् । ‘नासो’ मा शुभद्राले गृहत्याग गरेको घटना, लक्ष्मीको मृत्यु, छिमेकीमा धनजिते र गुमानेबिचको हात मिसामिस, प्रायश्चित्तमा बालकमै बिधवा भएको गौरीको अवस्था, गोविन्दको गर्भ बोके पनि उसले नअपनाएर रानी पोखरीमा हामफाल्दाको क्षण, पापको परिणाममा घर्तीहरूको उठिबास, महामारीले गाउँ सोत्तर भएको अवस्था, कान्तुकी श्रीमती र छोरा अघि लागेर एक्लै रहनु परेको अवस्था, ‘बिदा’की प्रभाको दुर्दशा, भिक्षुणी बन्नु परेको अवस्था र छोरो जिम्मा लगाएर नदीमा जीवन समाप्त गरेको घटना, ‘परालको आगो’मा चामेको कुटाइपिटाइले गौँथली माइत गएको, चामे दूध दुहुन बस्दा भैंसीले लात हानेको, भैंसी पिट्दा भैंसी भागेर कोकलेको बालीमा पस्दा कोकलेबाट थप्पड खाएको क्षण मार्मिक लाग्छन् । ‘अभागी’मा आमा गुमाएको कृष्ण सौतेनी आमाको कुटाइ र दुव्र्यवहारले जोगी भएर हिंडेको कृष्ण, ‘शहीद’मा वीरबहादुरको एकमात्र छोरा रामेको मृत्यु, वीरबहादुर शहीद भएको दृश्य, ‘कर्तव्य’मा श्रीधरको अस्वस्थ अवस्था अत्यन्त मार्मिक छन् । यस्तै ‘प्रत्यागमन’मा रामुले निर्मलको घर छोड्दाको अवस्था, ‘चिताको ज्वाला’मा हरि र शशीको अवस्था हेर्दा पाठक आँसु नबगाई रहनै सक्दैनन् । सबैका रचना सबै उत्तिकै स्तरीय हुँदैनन् भन्ने कुरा मैनालीका कथामा लागु हुँदैन । मैनालीका एघारै वटा कथा उत्तिकै स्तरीय र मार्मिक छन् । यथार्थको उद्बोधन गर्न सफल छन् । शीर्षक सार्थकताका दृष्टिले पनि मैनालीका कथा उच्च छन् । अरू त अरू अग्रणी उनका समकालीन कथाकार बालकृष्ण सम, पुष्कर शमशेर पनि नासो कथाका कथाजत्ति लोकप्रिय छैनन् । पात्रको स्वभाविक चयन, उपयुक्त संवाद, घटनाको यथार्थ र तिनको कुशल प्रस्तुतिले मैनालीका कथा हेरिरहुँ, पढिरहुँ जस्ता लाग्छन् । उनका कथा सूचिकारले छेकेर कपडा सिलाएजस्ता छन् । एउटा व्यवसायिक कुशल फोटोग्राफरले फोटो बनाएझैँ अत्यन्त सुन्दर छन् । महाकवि देवकोटाले भनेझैँ उनका कथामा आँखीझ्यालबाट जीवन चिहाउन सकिन्छ । अन्त्यमा कृतिका सम्पादक प्रसिद्घ समालोचक ताना शर्माका यी भनाइ राख्न सान्दर्भिक देखिन्छ —

“नेपाली जनजीवनलाई असाध्यै कलात्मकताका साथ मैनालीका कथाहरूले चित्रण गरेका छन् । उहाँको आफ्नै विशेषता हामी पाउँछौँ । हाम्रा ग्रामीण जीवनका वेदनात्मक पक्षको चित्रणमा उहाँका सबैजसो कथाहरू विरह, शोक र पीडाका प्रतीकका रूपमा उभिएका छन् । यस सङ्ग्रहमा कुनै पनि कथा छैन जसले हाम्रा आँखामा आँसु नल्याओस् ।”

सन्दर्भ ग्रन्थ
१) डा. ईश्वर बराल साझा प्रकाशन प्रथम संस्करण २०२९
२) प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल सुलेख कथा अङ्क कथा सिद्घान्त र नेपाली कथाको इतिहास अङ्क ६ पूर्णाङ्क २५ कथा विशेषाङ्क
३) डा. लक्ष्मणप्रसाद गौतम र ज्ञानु अधिकारी नेपाली कथाको इतिहास नेपाल प्रज्ञा प्रतिष्ठान २०७१ ।