अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 10:34

लुम्बिनीका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सम्झाैता

बिआरटीनेपाल २०७९ पुष ४ गते ५:३१ मा प्रकाशित

प्रदेशका पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान, प्रचारप्रसार, जनशक्ति उत्पादन र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशको पर्यटन विकास परिषद् र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच सम्झौता भएको छ ।नाथमका कार्यकारी निर्देशक राजेश उप्रेती र परिषद्का कार्यकारी निर्देशक रामु जोशीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । परिषद्ले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रचारप्रसार, प्रवद्र्धन, पर्यटन बजार व्यवस्थापनका साथै क्षमता विकासका कार्यक्रमहरू चलाउँदै आएको छ ।

लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीहरूको मागलाई ध्यानमा राखेर आवश्यक तालिम र पाठ्यक्रम तयार गरी सञ्चालन गर्ने तयारीमा रहेको परिषद्का कार्यकारी निर्देशक जोशीले बताउनुभयो । नाथम र परिषद्बाट व्यवसायको गुणस्तर विधि, स्थानीय रूपमा उत्पादित रैथाने खानाको ब्राण्डिङ तथा समग्र पर्यटन व्यवसायको प्रवर्द्धनका निम्ति प्रदेशभर अध्ययन र अनुसन्धानको कामसमेत गर्ने गरी सम्झौता भएको उहाँको भनाइ छ ।

पुस महिनामा रुपन्देही, बर्दिया, बाँके र पाल्पा जिल्लामा पर्यटन व्यवसायलाई लक्षित गरी तालिम सञ्चालन गर्ने तथा थप कार्यक्रमहरू तय भएको जोशीले बताउनुभयो । प्रदेशमा आवश्यक जनशक्तिको पहिचान र दक्षता अभिवृद्धि र स्थानीय रोजगार उत्पादनमा विशेष जोड दिइने उहाँको भनाइ छ ।

प्रतिक्रिया