अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

कोदोखेती प्रवर्द्धनका लागि ‘इन्टरनेशनल इयर अफ मिलेट्स–२०२३’

बिआरटीनेपाल २०७९ पुष १ गते ५:५० मा प्रकाशित

काठमाण्डाैमा रहेकाे भारतीय दूतावासले बिहीबार कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणको सहकार्यमा ‘इन्टरनेशनल इयर अफ मिलेट्स–२०२३’ को सुरुवाती कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा भारतीय कृषि अनुसन्धान परिषद् र नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले सहभागिता जनाउनुभएको थियो । भेलामा दूतावासका नियोग प्रमुख प्रसन्न श्रीवास्तवले विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्न कोदोको विशेष महत्व रहेको चर्चा गर्नुभयो । प्राधिकरणका निर्देशक डा तरुण बजाजले अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ का लागि प्राधिकरणले गरेको निर्यात प्रवर्द्धन र क्षमता अभिवृद्धि प्रयासको बारेमा विस्तृत जानकारी दिनुभएको थियो ।

भारत सरकारको प्रस्ताव संयुक्त राष्ट्र सङ्घबाट पारित भएपछि सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रुपमा मनाइने भएको हो । भारत सरकारले सन् २०२१ मा गरेको त्यस प्रस्तावमा विभिन्न ७२ देशले समर्थन गरेका थिए । भारत विश्वमै सबैभन्दा धेरै कोदो उत्पादन गर्ने देश हो । भारतमा विभिन्न नौ प्रजातिका कोदो उत्पादन गर्दै आएको छ । भारतमा वार्षिक करिब १७ मिलियन टन कोदो उत्पादन हुन्छ । जुन विश्वको कुल उत्पादनको २० प्रतिशत हो ।

कोदो स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छ । कोदोमा  विभिन्न पौष्टिक तत्व पाइन्छन् । कोदो पर्याप्त पानी नपाइने सुख्खा जमिनमा, कम वर्षा हुने स्थानमा पनि सहजै फल्छ र मौसम परिवर्तनले पनि खासै प्रभाव नपार्ने बालीमा पर्छ । देशको आत्मनिर्भरता बढाउन तथा आयातित अनाज/अन्नमा निर्भरता कम गर्न कोदोको भूमिका प्रभावकारी हुने खाद्य तथा कृषि संगठनको ठम्याइ छ ।

कृषिमा भारत-नेपालबीचको सहकार्यलाई निरन्तरता दिँदै भारतीय राजदूतावासले सन् २०२३ को वर्षभरि नै विभिन्न गतिविधि तथा कार्यक्रममार्फत् कोदोको प्रवर्द्धन गर्ने जनाएको छ । भारत-नेपाल कृषि सहकार्य सन् २०१८ मा सुरुवात गरिएको थियो ।

प्रतिक्रिया