अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

न्यायाधीश र अधिवक्ताबीचको अडियोबारे छानविन गरी कारबाही गर्न बार एशोसियशनको माग

बिआरटीनेपाल २०७९ असार ८ गते ८:०४ मा प्रकाशित

नेपाल बार एशोसियशनले बारका निवर्तमान अध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाबीचको अडियो सम्बन्धमा छानबिन गरी कारबाही गर्न माग गरेको छ ।

एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच पूर्व सांसद इच्छाराज तामाङलाई घरौटीमा रिहा गर्नका लागि मोलमोलाई गरिएको अडियो सार्वजनिक प्रकरणमा ध्यानाकर्षण भएको जनाएको छ ।नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानून व्यवसायीहरुबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्य हुनु निन्दनीय रहेको बारको विज्ञप्तिमा उल्लेख छ ।

न्युज २४ टिभीले मंगलबार साँझ सार्वजनिक गरेको अडियोमा न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनको कुराकानी भएको छ ।सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरूलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् ।

अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् । अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास तोकेको छैन । न्यायाधीश र वकिलबीचको संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक बोलाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू