अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

एसपीपी सम्झौता ड्राफ्टको सम्बन्धमा खोजी हुनुपर्छ : प्रदीप ज्ञवाली

बिआरटीनेपाल २०७९ असार ५ गते ७:३४ मा प्रकाशित

नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको ड्राफ्ट बाहिरिएको सम्बन्धमा खोजी हुनुपर्ने बताउनुभएको छ ।आइतबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद ज्ञवालीले स्टेट पार्टनरसिप प्रोग्राम सम्झौताको ड्राफ्टलाई बेवारिसे भनेर टार्न खोजिएको बताउनुभयो । उहाँले सो सम्झौताको विषय गम्भीर भएको भन्दै राज्यका निकायहरुमा कसरी र कहाँ–कहाँबाट पुग्यो यसको उद्गमको खोजि गर्नुपर्ने बताउनुभयो ।

उहाँले सो सम्झौताको विषयलाई सन् २०१५ देखि २०१९ सम्मको पत्राचारको चरण, सन् २०१९ मा सरकारले अध्ययन गरेको चरण र हाल ड्राफ्ट बाहिरिनुसम्मको चरण गरी तीन चरणकै खोजि गरिनुपर्ने बताउनुभयो ।ज्ञवालीले कसैको व्यक्तिगत रिसले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई महाअभियोग लगाएर न्यायालयलाई विवादमा तानिएको बताउनुभयो । उहाँले महाअभियोग लगाएर व्यक्तिगत आत्मसन्तुष्टि भएपनि यसरी राज्यका संस्थाहरु बलियो नहुने बताउनुभयो ।

त्यसैगरी नेपाली सेनालाई पनि विवादमा ल्याउन खोजिएको बताउनुभयो । उहाँले सेनालाई कमजोर पार्न लागिएको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो । सांसद ज्ञवालीले राज्यका विभिन्न निकायहरुले अन्तर्राष्ट्रियस्तरमा पत्राचार गर्नुपर्दा सम्बन्धित मन्त्रालयहरुको समेत अनिवार्य रुपमा राय लिएर परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू