अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 06:13

शेयर बजारमा देखिएका समस्या समाधान गर्न सुझाव समिति गठन गरिएकाे छ : अर्थमन्त्री

बिआरटीनेपाल २०७९ जेठ २५ गते ७:४५ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले नेपाली शेयर बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले चार सदस्यीय सुझाव समिति गठन गरेको बताउनुभएको छ । आज बुधवार नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित चार सदस्यीय समिति गठन गरेको बताउनुभएको हो ।अर्थमन्त्री शर्माले समितिले दिएको सुझावका आधारमा शेयर बजार सुधारको काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले शेयर बजारमा संलग्न रहेका लाखौँ लगानीकर्ता र सयौँ कम्पनीको समस्यालाई सरकारले गम्भीरताका साथ हेरर अनुगमनसमेत गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पुँजी बजारकाे समस्याहरूलाई हामीले हेरिरहेका छौँ । कसरी पुँजी बजारलाई व्यवस्थित बनाउने भन्ने कुरामा हामी पनि चिन्तित छौँ । हामी निरन्तर लगानीकर्ताको रक्षा गर्ने सन्दर्भमा इमानदारिताकासाथ लागिरहेका छौँ । हामी सबैको क्षमता बढाउनु जरुरी छ ।’मन्त्री शर्माले अर्थ मन्त्रालय सधैँ नियमनकारी निकायहरू स्वायत्त रहनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँले पुँजी बजार तथा वित्तीय क्षेत्रका नियमनकारी निकायहरू स्वायत्त नै रहेको दाबी गर्नुभयो । मन्त्री शर्माले अब नियमनकारी निकायले स्वायत्तता मात्रै नभएर जवाफदेहिता र पारदर्शितासहितको स्वायत्तता खोज्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया