अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५ | Colorodo: 17:00

अप्रिलमा नेपाल आउने पर्यटकको सङ्ख्या झन्डै १६० प्रतिशतले बढ्यो

बिआरटीनेपाल २०७९ वैशाख १९ गते ८:२३ मा प्रकाशित

अप्रिल महिनामा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा झन्डै एक सय ६० प्रतिशतले बढेको छ ।यस वर्षको अप्रिल महिनामा ५८ हजार तीन सय ४८ जना विदेशी पर्यटक आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । यस वर्ष नेपाल आउने पर्यटकमा २२ हजार चार सय ७७ जना भारतीय नागरिक छन् भने बाँकी तेस्रो देशका नागरिक हुन् ।

अघिल्लो वर्ष अर्थात सन् २०२१ को अप्रिल महिनामा २२ हजार चार सय ५० जना आएका थिए । यस्तै सन् २०२० को अप्रिल महिनामा १४ जना मात्रै विदेशी पर्यटक आएका थिए ।कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटन व्यवसाय प्रभावित भएको थियो । यस वर्षदेखि पर्यटन व्यवसायमा सुधार देखिएको छ । यस वर्षको अप्रिलमा आएका पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा भने ५३ प्रतिशतले कम हो ।

सन् २०१९ को अप्रिल महिनामा एक लाख नौ हजार तीन सय ९९ जना पर्यटक नेपाल आएका थिए । यो तथ्याङ्क विमानमार्फत नेपाल आउनेहरुको हो । यो वर्ष पर्वतीय पर्यटनमा सबैभन्दा बढी उत्साह देखिन्छ । यस वर्षको वसन्त याममा नेपालका २५ वटा हिमाल आरोहणका लागि आठ सय ९९ जनाले अनुमति लिएका छन् । यो सङ्ख्या सन् २०१९ को भन्दा पनि धेरै हो । हिमाल आरोहणका लागि आएका ७४ देशका नागरिकमध्ये सबैभन्दा धेरै अमेरिकाका एक सय ३३ जना रहेका छन् ।

प्रतिक्रिया