अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

मालीविना बन्छ र फूलबारी ?

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७९ वैशाख १० गते ८:०९ मा प्रकाशित

इच्छा छ जे-जे सब पूर्ण हुन्छ
सत्कर्मले राष्ट्र विशाल चुम्छ
तिम्रो कतै हार हुँदैन जान्नू
अर्ती दिएँ यो जुन सत्य मान्नू ।१।

आएर देवी मनकामनाले
उत्साह भर्दै सपना दिनाले
बनेर दन्के रणभित्र राँको
हेरेर चारैतिर भई चनाखो ।२।

उसै गरी गोरखनाथ आए
भविष्यका कर्मकला सिकाए
मिलेर दैवी वर बारबार
उत्सर्गका निम्ति भए तयार ।३।

चिरा चिरा खण्डित राज्यलाई
माला उने आपसमा मिलाई
पृथ्वी थिए दूर भविष्य देख्ने
यो राष्ट्रको सुन्दर भाग्य लेख्ने ।४।

सङ्कल्प यो साहस छैन कम्ती
खुलस्त भो यो रणसाथ चम्की
ढले सबै हाँक दिने गलेर
पतङ्ग के टिक्छ र दीपनेर ? ५।

भूगोल गाँसे ,कटुभाव नासे
विभिन्नका जात र वर्ण गाँसे
थला परे खण्डितका विचारी
भो रम्य यौटै अनि फूलबारी ।६।

यतै दिए जीवन काल जम्मै
परे सबै पौरखले अचम्मै !
यो दुख्खले आर्जित राज्यलाई
चुसे ,लुटे हुन्छ कहाँ भलाइ ? ७।

कडा कडा पत्थर छेउमा छन्
ती घर्किए घाउ बडा बडा छन्
सोची विचारी भर पर्नुपर्छ
सन्देश हेरौँ कति मर्मको छ ! ८।

फुटाउनैमा चर पस्छ भित्र
लाटो बने लुट्दछ राष्ट्रचित्र
सङ्केतमा सालिक ढल्न थाले
सत्ता छ के दर्शनका विनाले ? ९।

मान्छे त हो सिर्जनको मुहान
ऊ भित्र छन् शक्ति अनन्त ज्ञान
जो शूर छन् काल चिनेर चल्छन्
प्रकाश भई रात समस्त गाल्छन् ।१०।

बढ्दै गए वानरका बथान
लुछ्छन् सबै दृष्टि र दिव्यज्ञान
मोटाउलान् नाच चले मदारी
मालीविना बन्छ र फूलबारी ? ११।

————————
गोरखा, लप्सीबोट; हाल: काठमाडौँ – ६, सरस्वतीनगर ।