अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

त्रिभुवन विमानस्थलमा एटीएम थपिँदै

बिआरटीनेपाल २०७९ वैशाख ५ गते ७:२९ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेशिन थपिने भएको छ । अनअराइभल भिसामा नेपाल आउने विदेशी पर्यटकहरूका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि राष्ट्रिय वाणिज्य बैंकले एटीएम थप्न थालेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको अनअराइभल कक्षमा आज साेमवार नै राष्ट्रिय वाणिज्य बैंक एटीएम मेशिन जडान गरिने तयारीअनुसार काम भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि विमानस्थलमा प्रभु बैंकको एउटा एटीएम मेशिन मात्रै भएको र त्याे मेशिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आएको थियो ।

अनअराइभल भिसाका लागि विद्युतीय भुक्तानीमा देखिएको समस्या समाधानका लागि यात्रु प्रस्थान कक्षमा बैंकको एटीएम राखिने योजनाअनुसार काम भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेकाे नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  विमानस्थलमा विद्युतीय भुक्तानी प्रणालीमा समस्या देखिएपछि विमानस्थलको अध्यागमन कार्यालयले एक सूचना निकालेर पर्यटकहरूलाई साथमा दुई सय डलर बोकेर आउन आग्रह गरेको थियो । धेरै भिड तथा प्राविधिक समस्याका कारण रकम ननिस्कने समस्या देखिएपछि नगद बोक्न आग्रह गर्दै कार्यालयले सूचना प्रकाशित गरेको थियो । त्याे सूचनाको चौतर्फी आलोचना भएपछि विमानस्थलले सुधारका लागि तयारी गर्नुका साथै एटीएमसमेत थप गर्न थालेको हो ।

प्रतिक्रिया