अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१६ | Colorodo: 16:31

जेठ २ बाट व्यावसायिक उडान गर्दै गौतमबुद्ध विमानस्थल

बिआरटीनेपाल २०७८ फागुन १७ गते ५:२६ मा प्रकाशित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यावसायिक उडान सञ्चालन हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै वसन्त जयन्तीका दिनदेखि व्यावसायिक उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेबाट परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ । वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने पनि प्राधिकरणले जनाएको छ ।विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले बताउनुभयो ।

उहाँले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै आकासमै होल्ड बस्नुपर्ने समस्या समाधान हुने बताउनुभयो । हवाईमार्गमा आपतकालीन अवस्था आउँदा बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै काठमाडौं आइरहन पर्ने बाध्यताको अन्त्य हुने पनि दाबी गर्नुभयो ।नेपालमा आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार व्यवस्थासहितको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुको विकल्प छैन । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या आउँदा जहाजहरू भारतको लखनउ डाइभर्ट हुनुपर्ने अवस्थाको अन्त्य हुने महानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

गौतमबुद्व विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमता अनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्ड बनेको अधिकारीको भनाइ छ ।त्रिभुवन विमानस्थलको भन्दा थप प्रतिकूल मौसममा पनि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अब गौतम बुद्ध विमानस्थलमा सुरक्षित अवतरण हुन सक्नेछन् । त्यस्तै, उक्त विमानस्थलमा ल्याण्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्यांकमा आएका समस्या, विमानको पंखामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकुल मौसममा समेत सुरक्षित अवतरण गर्नसक्ने बताउनुभयो ।

विमानस्थलमा उडानको लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच जीटुजी मार्फत काम भइरहे पनि तत्कालको लागि पुरानै रुट अनुसार विमानस्थलमा हवाई उडान हुने महानिर्देशक अधिकारीको भनाइ छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा दिगो पर्यटन विकास गर्ने लक्ष्य सरकारको छ । विमानस्थलको रन–वे ३ हजार मिटरको रहेको छ ।विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा भवन मर्मत गरेर जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरेर सञ्चालन गर्ने उद्देश्य सरकारको लक्ष्य रहेको अधिकारीले बताउनुभयो ।

विमानस्थलमा उडान सुरुवात भएसँगै विश्वका बौद्धधर्मावलम्बीहरू सिधै लुम्बिनीमा आउनसक्ने उहाँको भनाइ छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको बताउनुभयो । उहाँले अध्यागमन, भन्सार, क्वारेन्टाइन र सुरक्षा एजेन्सीहरूको सोही अनुसारको दरबन्दीमा जनशक्ति व्यवस्थापन भएको जानकारी दिनुभयो ।

विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा निर्माण भएकाले प्राधिकरणको मात्रै विमानस्थल नभएको भन्दै अधिकारीले लगानीकर्ता सबैले आ–आफ्नो तरिकाबाट काम गरिरहेको बताउनुभयो ।त्यस्तै, महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थल सञ्चालनको लागि नेपालमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने विमान कम्पनीहरूसँग औपचारिक रूपमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा समेत सबैले जानकारी पाउने गरी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको डाटाहरू प्रकाशन गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।

विमानस्थलको डाटा प्रकाशनपछि क्यानले अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई बोलाएर विमानस्थल तयार भएको र सरकारले दिने सहुलियतको विषयमा स्पष्ट जानकारी दिने उहाँको भनाइ छ ।अधिकारीले अहिलेको अर्थतन्त्र बजार बेसको अर्थतन्त्र भएकाले बजार नभएर जति नै प्रचारप्रसार गरे पनि कोही आउने अवस्था नभएको तर्क गर्नुभयो । उहाँले हाम्रो बजार राम्रो रहेकाले विमानस्थल राम्रोसँग चल्ने विश्वास व्यक्त गर्नुभयो ।

महानिर्देशक अधिकारीले विमानस्थल व्यवसायिक ढङ्गले सञ्चालन गर्दा विमानस्थलको अप्रेशन, मर्मत लगायत समग्र विमानस्थलको सञ्चालन निजी क्षेत्रलाई दिनुपर्ने बताउनुभयो । उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ ले विमानस्थलहरूको निर्माण, मर्मत, सञ्चालन प्राधिकरणले गर्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।

अहिलेको संरचना पुरानो भएकाले तत्कालै परिर्वतन गर्न नसकिने भन्दै विस्तारै सरकारले नीति परिर्वतन गर्नुपर्ने महानिर्देशक अधिकारीले बताउनुभयो । यो विमानस्थल निजी क्षेत्रले निर्माण गरेको भए यसको प्रचारप्रसार फरक हुने तर्क गर्दै अधिकारीले सरकारले निर्माण गरेकाले प्रचारप्रसार गर्दा नीतिहरू केलाउनुपर्ने अवस्था रहेको बताउनुभयो । विद्यमान कानून नियमावली र बजारलाई हेरेर बढी भन्दा बढी काम गरिने महानिर्देशक अधिकारीको भनाइ छ ।

महानिर्देशक अधिकारीले अब सरकारले निजी क्षेत्रलाई सञ्चालन गर्न दिने नीति लिनु आवश्यक भएको बताउनुभयो ।अधिकारीले सरकारले भएको संरचनाबाट विमानस्थल राम्रो बनाउने भए पनि खोजेस्तो राम्रो बनाउने उत्तम उपाय निजी क्षेत्रलाई सञ्चालन गर्न दिने नै रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया