अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३५ | Colorodo: 15:50

उत्तर कोरियाले २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपणका तस्वीर सार्वजनिक

बिआरटीनेपाल २०७८ माघ १७ गते ६:२१ मा प्रकाशित

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले सन् २०१७ यताकै सबैभन्दा ठूलो भनिएको क्षेप्यास्त्र प्रक्षेपण गरेका तस्वीरहरू सार्वजनिक गरेको छ ।आकाशबाट खिचिएका तस्वीरमा कोरियाली प्रायःद्वीप र वरपरका क्षेत्रहरू देखिएका छन् । उत्तर कोरियाले उक्त ब्यालेस्टिक क्षेप्यास्त्र मध्यम दूरीको ह्वासङ–१२ रहेको बताएको छ ।

जापान सागरमा अवतरण गर्नुअघि क्षेप्यास्त्र आकाशमा दुई हजार किलोमिटर माथिसम्म पुगेको दक्षिण कोरिया र जापानले बताएका छन् । यी दुवै देशले प्रक्षेपणको तीव्र आलोचना गरेका छन् ।नयाँ वर्ष आरम्भ भएपछि उत्तर कोरियाले योसहित सातवटा क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले जारी गरेका तस्वीरहरू परीक्षण गरिएको क्षेप्यास्त्रको युद्धशीर्षमा जडित क्यामराबाट खिचिएको बताइएको छ ।

जापानी र दक्षिण कोरियाली अधिकारीहरूले उक्त क्षेप्यास्त्रले ३० मिनेट उडेर ८ सय किलोमिटर पर पुगेको बताएका छन् । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षणमा रोक लगाएको छ । तर, उत्तर कोरियाले राष्ट्रसंघको प्रतिबन्धलाई नियमित रूपमा अस्वीकार गर्दै आएको छ । नेता किम जङ–अनले आफ्नो देशको प्रतिरक्षा सुदृढ बनाउने वाचा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू