अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 18:23

राई इज किङ माथि स्टेजमै हातपात, आयोजकद्वारा घटना ढाकछोप

बिआरटीनेपाल २०७८ पुष १७ गते १३:४८ मा प्रकाशित

न्यू योर्क । चर्चित गायक राजेश पायल राईमाथि स्टेजमै हातपात भएको छ । नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा न्यू योर्कमा भएको सांगितिक कार्यक्रममा राई इज किङको उपनाम पाएका गायक राईमाथि हातपात भएको हो ।

गायक राई स्टेजमा उक्लिएको करिब १२ मिनेटमा हातपात गर्ने मानिस पनि स्टेजमा उक्लिएका थिए । सामाजिक सञ्जालमा उलब्ध लाइभ भिडियोमा ती व्यक्तिले गायक राईलाई पछाडिबाट घाँटिमा पाखुराले समाएर तानेको देखिन्छ । त्यसक्रममा गायक राई सन्तुलन गुमाएर झण्डै लडेको देखिन्छ ।

‘राई इज किङजस्तो राष्ट्रिय स्तरको कलाकारलाई बोलाएर बेइजत गरे,’ न्यू योर्क सिटीको क्वीन्सस्थित क्वीन्स प्यालेसमा भएको कार्यक्रममा सहभागी एक व्यक्तिले भने, ‘हात हालेको सबै सहभागीले देखेका छन् । तर आयोजकले होइन भनेर किन ढाँटेको हो, बुझ्न सकेको छैन ।’ सामाजिक गतिविधिमा सक्रिय ती व्यक्तिले हात हाल्नेलाई कानूनी कारवाही नगरि छाड्ने हो भने नेपाली समुदायमा जसले जे गरेपनि हुने रहेछ भन्ने नकारात्मक सन्देश जाने बताए ।


गायक राईलाई हात हाल्ने व्यक्तिको नामा पासाङ दावा शेर्पा भएको र उनी ज्याक्सन हाइट्सस्थित फयुलनामक टिबेटन रेस्टुरेन्टका काम गर्ने स्रोतको दाबी छ । हात हाल्ने व्यक्तिको पहिचान खुल्न भने बाँकी छ । ती व्यक्तिले गायक राईलाई पाखुराले घाँटि कसेर करिब ६ सेकेण्ड आफ्नो नियन्त्रणमा लिएका थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार हात हाल्ने व्यक्तिले उनी गायक राईको फ्यान भएको बताएका थिए । ती व्यक्ति मातेको हुनसक्ने प्रत्यक्षदर्शीहरुको भनाइ छ । आयोजक बुद्ध ट्याक्स र आयोजकनिकट मानिसहरुले हात हाल्ने व्यक्तिको मानसिक सन्तुलन ठीक नभएको प्रचार अप्रत्यक्ष रुपमा गरिरहेका छन् । घटना लगत्तै उनीहरुले सार्बजनिक सञ्चार माध्यममा यो घटना सामान्य भएको र फ्यानले अंगालोमात्र मारेको हो भन्ने अभिव्यक्ति दिएका छन् ।

कतिसम्म भने सार्वजनिक सञ्चार माध्यममा लाइभ भिडियोलाई सम्पादन गरिएको भनेर आयोजकले घटना ढाकछोप गर्ने प्रयत्न गरेका छन् । यस सम्बन्धमा कार्यक्रम आयोजकसँग विभिन्न माध्यमबाट सम्पर्क गर्न गरिएको प्रयास सफल हुन सकेको छैन ।

गायक राईलाई हात हाल्ने मानिसलाई सेक्युरिटी गार्डले हलबाट बाहिर निकालेका थिए । त्यसपछि उनले कार्यक्रमस्थल छाडेका थिए । उनलाई के गर्ने भन्ने सम्बन्धमा आयोजक र गायक राईबीच छलफल चलिरहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया