अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 01:08

शेयर बजार उच्च अङ्कले बढेर सकारात्मक सर्किट

बिआरटीनेपाल २०७८ मंसिर २८ गते ६:५४ मा प्रकाशित

पछिल्लो समय लगातार आरोलो लागिरहेको शेयर बजार आज मङ्गलवार भने उच्च अङ्कले बढेर सकारात्मक सर्किट लागेको छ । बजार खुलेदेखि नै उकालो लागेको शेयर बजार साढे १२ बजे पाँच प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द गरिएको थियो । त्यसपछि खुलेको बजार फेरि उकालो लागेर ६ दशमलव एक प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द भएको हो ।

नेप्से एक सय ३७ दशमलव आठ अङ्कले बढेर दुई हजार चार सय १८ दशमलव ८४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयरमा हरियाली देखिएको छ । आज दुई सय २० वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई वटा बाहेक सबैको शेयर बढेको छ । ४६ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस्तै २४ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज ४० लाख ८५ हजार कित्ता शेयर एक अर्ब ८४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको नौ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गएको शनिवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजार साम्राज्यवादीहरूको लगानी गर्ने थलो भएको बताएपछि आइतवार र सोमवार नेप्से उच्च अङ्कले घटेको थियो ।

तर हिजो अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समस्या समाधान भइरहेकाले नआत्तिन लगानीकतालाई आग्रह गर्नुभएको थियो । यस्तै लगानीकर्ता सङ्घहरूको संयुक्त कार्यदलले पनि अत्यावश्यक नपरी घाटा खाएर शेयर नबेच्न भन्दै विज्ञप्ति निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू