अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

सबै खालका परिवर्तन माओवादीकै एजेन्डा हो – मन्त्री जनार्दन शर्मा

बिआरटीनेपाल २०७८ मंसिर १० गते ६:५३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले देश माओवादीकै एजेन्डामा आएको बताउनुभएको छ । नेपाल सरकारका अर्थमन्त्रीसमेत रहनुभएका शर्माले सबै खालका सकारात्मक परिवर्तन माओवादीको एजेन्डा भएकाले परिवर्तनको वाहक पार्टी माओवादीमात्रै भएको दाबी गर्नुभयो ।

अर्थमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुकुम पश्चिम आउनुभएका शर्माले शुक्रवार रुकुम जिल्लाका विभिन्न पालिकामा आयोजना गरिएका माओवादी केन्द्रका गाउँ तथा नगरपालिकास्तरीय सम्मेलनको उद्घाटन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

शर्माले आज रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनको उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा अर्थमन्त्री शर्माले संविधानले दिएका अधिकार कार्यान्वयन गर्न लागिपरेको तर विभिन्न तत्त्वहरूले माओवादीलाई कमजोर पार्न खोजेको बताउनुभयो ।

उहाँले श्रम, उत्पादन र रोजगार तथा सामाजिक, सांस्कृतिक रूपान्तरण अभियानमार्फत नागरिकको जनजीविका सरल बनाउन सकिने भएकाले त्यसतर्फ कार्ययोजना बनाउनसमेत अनुरोध गर्नुभयो । नागरिकसँग गरिएका वाचा पूरा गर्न आफू लागिपरेको बताउनुहुँदै शर्माले आफूले कहीँ कतै बाटो बिराएमा, गल्ती गरेमा नागरिकले खबरदारी गर्नुपर्ने बताउनुभयो । शर्माले आफू आफ्नो कारणले अर्थमन्त्री नभएर नागरिकको तागतले भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू