अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 06:40

नेपाली साहित्यमा भूपि

युबराज मैनाली २०७८ कार्तिक २९ गते १९:५६ मा प्रकाशित

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुत भरेर नगए

कत्ति छातीका व्यथाहरू धरतीमा

सुसाइरहे होलान् त्यो तिनले सुन्नुपर्दछ । सुनेर, बुझेर कोर्नुपर्दछ । कत्ति पसिनाका थोपाहरू बालुवामा पोखिएर खेर गए होलान्। , त्यो तिनले उतार्नु पर्दछ । त्यसलाई छाडेर उर्वर माटोमा पोखिन र फल्न दिन आवाज घन्काउनु पर्दछ । त्यो नासो हो, जसको निमित्त जसले आफूलाई कलाकार सम्झन्छ, जनताका साझा सम्पतिको रूपमा आफूलाई उभ्याउँछ, उसको नाम अनुसारको काम नै हो । मुर्त र अमूर्त जीवनलाई उभ्याउनु, शब्दहरूबाट प्रस्टाउनु अनि बन्धन बाधाहरूबाट पीडा यातना अदि मारबाट बनिएको पासो छिनाल्नु, तब मात्र एउटा जीवित युगको भानुको रूपमा प्रतिस्थापित भइन्छ र प्रतिष्ठित बनिन्छ । अनि हामी तिनैको जागृति वरिपरिको न्यानो ताप्छौँ रापिलो संसर्गमा छेलोखेलो खेल्छौ, घुम्दछौ, फिर्दछौ र एउटा दायित्वको तृप्ति लिएर जान्छौ । अकन्टक हाम्रो पथ यही छ र यही नै रहेछ । स्वतन्त्र पाइला फिँजाएर हिँड्ने हामी निर्धक्क बाच्न खोज्दछौ । स्वतन्त्र पाइला बढाएर हिँड्ने हामी आफ्नो मनोगत प्यास मेटाउन हरदम उद्धत रहन्छौँ र कसैको मिच्ने, थिच्ने हेप्ने र थोपर्ने प्रवृत्तिको दबदबालाई पन्छाउने ऊर्जाको स्वरूपमा हामी प्रत्येक बिहानी आशामुखी पाराले स्वागतका आँखा बिछ्याइ रहन्छौँ ।

हाम्रो आस्थाहरूमा अडेस दिँदै हाम्रा फोइएका अनि फोइन नसकोका भावनालाई सँगाल्दै कहिलेकाहीँ समयले भनूँ या परिस्थितिजन्य वातावरणले कोही कसैलाई उभ्याइदिंदारहेछन् । यस्ता उभ्याइमध्ये प्रतीक स्वरूपमा एक हुन्, भुपि शेरचन, जसका कोराइहरू हाम्रा सङ्गीत बनेर गर्जिरहेछन् निरन्तर । तिनै भूपि अर्थात् भूपेन्द्रमान शेरचन गइसकेका छन् अनन्त यात्रामा । जानुअघि उनले स्वीकारेका थिए निजी जीवनको यात्राको केही कुराहरू, जसको दुष्प्रभाव नेपाल टेलिभिजनको पर्दामा विच्छयाउनामा टाँसिएका घ्यार घ्यार बोलीमा छर्लङ्घिएको थियो रक्सीको । देवकोटा चुरौटे भएर यसरी नै आवश्यकताको बागमती बहाउँदै आर्यघाटमा “न भक्ति यो ज्ञान न भो विवेक”, भन्दै प्रायश्चित गदै थिए, कुनै बेला । विडम्बना नै हो साहित्यकार, कालकारहरू मरेपछि स्वर्ग देख्न पुग्छन् । अरू कारहरुचाहि जिउँदै स्वर्ग भोग्छन् । यिनै भोगाइको प्रतिबिम्ब विडम्बनाका गीत सुस्केकार स्वरूपमा उजेलिएका छन् जसमध्ये पनि “घुम्ने मेचमाथि अन्धो मान्छे” चर्चित र अनुकरणीय बन्न पुगेको देखिन्छ ।

सधैँ द्वन्द्व प्रतिद्वन्द्वमा थिचिएर बाँच्नुपर्ने, अर्काले बाँच्न सिकाउनुपर्ने हामी बन्धनमा जेलिएका वीर हौँ । साहसको नाममा ठगिएका अरूको निम्ति रगत बगाउने हामी लट्ठु हौँ । हाम्रा लट्ठुपनमा नेपाल आमाका छातीभित्र कत्ति चिसा चिसा सुस्केराहरू सलबलाउँदै गरेका होलान् सायद तिनै सुस्केराहरूको बाढी ल्याउने साधनका रूपमा बेलाबखत यस्ता कलमवीर साधकहरू उभ्याउँदी हुन् उनी । थोरै (संख्यात्मकरुपले) जिम्मेवारीको दायित्व पुर्‍याएर गइहाल्ने भुल्किएका घामका रेसाहरूमा भूपि शेरचन पनि एक हुन् भन्दा अतिशयोक्ति नहोला । स्वतन्त्रात्मक अभिव्यक्तिको प्रस्फुरणलाई अङ्गालेर वातावरणीय यथार्थ अभिव्यक्तिका ज्वलन्त नमुना बनेर आएका भुपिका काव्य पहाडका कन्दरादेखि सहर – बजारका खाल्टा –खोपिल्टा , चोक–गल्ली हुँदै तराईका फाँट –फाँटका ऐना छर्लङ्ग्याउन आँटिला खाकामा फैलिएका छन् । स्वच्छन्दता कुनै प्राकृतिक लयात्मक लयमा मात्र उद्वेलित रहेर भौतिक परिवेशको समेट्यई पनि लहरै उनिएका छन् , उनको साधनामा । सृष्टिको अनुपम बरदान मान्छे भएर पनि अहमको अन्धकारमा अभिशप्त दासत्वको अँगालोमा स्वयंलाई होम्ने बत्तीकिरो झैँ होमिनु एउटा खेदपूर्ण कुरा रहेको जिकिरका साथ उनको भावना प्रभावित रहेको कुरा यहाँनेर आएर अझ प्रस्टिन्छ –
हामीले आफ्नो पूर्व स्मृति गुमाइसक्यौँ,
हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौँ ….र
अन्तमा थकित भएर तल ओर्लिन्छौँ शान्त हुन्छौ
समर्पित हुन्छौ ।

(हामी पृष्ठ ६)
मूलतः पूर्व स्मृति गुमाइन्छ, आफ्नो सामान्य उचाइ बिर्सिन्छ । उसको दासत्वले जेलिएको मनोवृत्तिले ऊ आफ्नो उचाइ बिर्सेर अरूको उचाइ अग्लो देख्न पुग्छ । अनि ऊ आफ्नो मनोगत द्वीपमा काल्पनिक कथा पात्र गुलिभर उभ्याएर आफूलाई लिपिलुट आस्थामा बदल्दै गुलिभरसँग खेल्न सक्दछ । खेल्दाखेल्दै ऊ थाक्छ र गुलिभरको अग्लो छायाबाट तल झर्छ । शान्त भएर विट मार्दछ अनि ऊ समर्पित हुन्छ । हामो बर्तमानलाई हामीले यसरी चलाइरहेको, उभ्याइरहेको छैनौँ त ?

हो, हामी आफैलाई ढाँटिरहेकाछौं, छलिरहेका छौँ, पहिले आफैलाई अनि त्यसपछि आफन्तलाई त्यसपछि अरू–अरूलाई यो आडम्बरलाई । उनी साँझको नयाँ सडक जिन्दगीको यात्रामा चिम्टीले टिप्न थाल्दछन्, एक–एक गरेर । यसरी मैडम टेरिउन, कुमारी, लुपकुमारीहरु पाखुराभरि पेन्सिलिन इन्जेक्सनको यात्राका पद चिन्हहरू बोकेर अँध्यारो गल्लीहरूतिर लम्किन्छन् । मैडम टेरिउन, मिस नाइलन र सुश्री टेरिलिनदेखि एउटी माग्ने आइमाईले न्युज सेन्टर अगाडी उभिएको सुटेड टाटकुमार नेपालीको रित्तो खल्तीको एक्सरे गरिदिन्छे पाँच पैसा मागेर (बेला बदलिसकेको छ पैसा रुपैयाँमा पुर्‍याइएको छ । बजारलाई भलै क्रमिक रिजियोस अरू सबै विना लगानीका व्यापारीलाई छाडेर) आफैलाई झुक्न बाध्य गर्ने गरी उनको टिपाई अवलोकनको एक्सरे हो र सूक्ष्मताको शुक्ष्मछेदक यन्त्रको पहिल्याई हो । यस्तै टिपाइहरूले भूपि भुपि बने अरू बन्न सकेनन् । यसैले थोरैमा धरै नाम कमाउने एक दुईभित्र उनी पनि परे । साँच्चि नै नेपाली कविता साहित्यको मोडहरूमा छाँयावादिताको उपमामय फुलौराभन्दा यथार्थताको ठोस ट्याफी प्वाक्क प्वाक्क हनाइतर्फ बढ्दै एउटा क्रान्तिकारी दायित्वको थालनी हुन पुगेको देखा पर्दछ, उनीबाट । हुन त यस मार्गको सुनसान पथमा हुँकार गोपालप्रसाद रिमालबाट भएको छ ।

एक युगमा एक दिन एक चोटि आउँछ उलट–पुलट उथल–पुथल र हेरफेर ल्याउँछ–
लाटा सुधा बोल्न थाल्छन्, ओठ चल्छ दुखको
सहेँ भनी सम्झिएका ईख फेर्न उठ्दछन् ।
सडकै उचाल्न खोजिएको छ यस्तै अर्को वानकीमा फेरि एकचोटी –
बमहरू बोकेर उडिरहेको छ हवाईजहाज र रकेट मुनी बसेर
लेख्छु प्रियजनहरूको नाममा सफलता शान्ति र दीर्घायुको शुभकामना पत्र ।

रिमालमा कल्पनाशीलताको उडान अनि बादलको ओसिलो प्रवाह छ भने भूपिमा यथार्थको चट्टान चढाई छ । यसो हुन पुग्नुमा समय सापेक्ष परिवर्तनका अनुकूल वातावरणको पनि स्थिति बदलिनुसँगको तारतम्यता, नवीनता, सचेतता र मिठासपूर्ण तरङ्गमा प्रवाहित छन् । यही क्रममा २०२६ मा प्रकाशित घुम्ने मेचमाथि अन्धो मान्छे यहाँ देखा परेको छ । मेरो चोक , सधैँ सधैँ मेरो सपनामा शहीदहरूको सम्भनार्मा र हामी “यो हल्लै हल्लाको देश हो” “मर्दैछ हामीमा हामी बाँचेको युग” र “गलत लाग्छ मलाइ मेरो देशको इतिहास” आदिले चसक्क छुन्छ । आधुनिक गद्य कवितामा मोहन कोइराला, वैरागी काइला, ईश्वर वल्लभ, उपेन्द्र श्रेष्ठ आदिद्वारा जुन भूमिकाको निर्वाह भएको छ, त्यस भन्दा बेग्लै प्रकारको निर्माण भूपिले आफ्नो परिवेशमा उभ्याउन खोजेका छन् । यी कविहरूमा संवेदनशील भाषिक ठाडो भाषाको व्यङ्ग्यात्मकता देखा पर्दछ । विशेषतः विसङ्गति र विकृतीहरुलाई भूपिको तत्कालै यही पुस्तककै प्रकाशनबाट उनी पनि उजेलिए । उनकै यी पङ्क्ति ठाउँ ठाउँमा भाषणसँग गाएर कैयौँ नेताले चुनाव जिते, अरू अरूले पनि खुब रटे, यो हल्लै हल्लको देश हो भाव पक्षमा उच्च सिर्जनाको वैशिष्ट्य बोकेको भूपिका कवितार्मा मेरो चोर्क कविता पनि अघि सार्न सकिन्छ –

यहाँ के छैन सब थोक छ
असङ्ख्य रोग छ
अनन्त भोक छ
असीम भोक छ
तर, केवल हर्ष छैन
त्यसमाथि रोक छ ।

भूपिका काव्य रचनाकालदेखी घुम्ने मेचमाथि अन्धो मान्छेको दसौँ संस्करणसम्म आइपुग्दा पनि यहाँको उही अवस्थामा बाँच्नु, रात रातभरि उपियाँले टोक्नु, व्यवस्थाको पाटा पल्टिएर पनि भाग्य नपल्टिएका यहाँका बहुसङ्ख्यक मानिसको नियति शाश्वत स्वरूपमा उजेलिएबाट काव्यमा कालजयीपन पनि देखा पर्दछ । सत्यलाई फाँसी न्यायलाई भिख, धर्मलाई स्वार्थको अनुकूलता र परिपन्चको सेरोफेरोमा आफूलाई चिन्न र ऐक्यबद्धतामै विकृतिविरुद्धको भाव स्पष्टता उनको काव्य राग स्वरूपमा प्रकट भएको छ । शैली र भाषामा मामुली व्यङ्ग्य पोखेझैँ गरेर गहन चिन्तनमा पाठकलाई घोत्लिन बाध्य पार्नु उनको काव्य विशिष्टता हो र। सधैँ सधैँ मेरो सपनार्मा यथार्थ बिपनाको धरातलीय परिवेश उदाङ्गो पार्नु हाम्रो माताहरूको मातृत्व गाथा अब मेरो दुधको कुनै मूल्य छैन भनेर लाहुरेप्रतिको मातृभूमिको बाध्यता आदि मार्मिकढंगले प्रस्तुत गर्न सक्षम भूपि प्रत्येक कवितापिच्छे बेग्लाबेग्लै दङ्ग र रङ्ग लिएर उजिलिएका छन् । साहित्यको सार्थकता यथार्थ धरातलीय परिवेशबाट टाढिएर रहन सक्दैन । युगसापेक्ष प्रवाहहरू यदि साहित्यमा फुर्न सकेनन् भने त्यसको खास महत्त्व रहन सक्दैन । यस परम्परालाई सकारेर स्वजाति र स्देश मोहको रस उनको काव्यमा बहेको देखा पर्दछ । कतै कतै भने उनका प्रवाहमा शिथिलता पनि भेटिन्छ । विशेष गरी रोमान्टिक प्रवाहमा उनी प्रस्टिन टाढिएको आलङ्कारिक अभिव्यञ्जनमा विनाशब्दहरु नै बटारिएर भावजन्य पक्षबाट टाढिएको आदि पक्षचाहिँ गद्य विधाका प्रायशः कलमजीवीहरुको कमजनेर पक्ष हो कि ?
जे होस कवि भूपि एक नयाँ परम्पराका थालनीका प्रयोगकर्ताको रूपमा पनि देखा परेका छन्

अज्ञात धुलोबाट निस्केर
डस्न गेमन काठमाडौँलाई
बस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
एक भेट हुँ ।
एउटा चिसो आइस जस्तो छ
यो चार भन्ज्याङ खाल्टो
अनि
मैले पिएकोमा रिसाएका साथीहरू पिएर त हेर पिउन भन् कति गाह्रो छ भनेर
शहीद हुनेहरू
जिएर त हेर
जिउन भन कति गाह्रो छ ।

आधुनिक कविता फाँटमा सरस, सरलताको चोपले थोरै लेखेर धेरै चर्चित हुने केही सर्जकहरूमा भूपि शेरचन पिएर पनि बाँचेका छन्, कुष्ठा दिएर पनि बाँचेका छन्, लिएर पनि बाँचेका छन् । मरे त व्यक्ति भूपेन्द्रमान शेरचन रक्सीले मरे, दमले फोक्सोको स्वाँर स्वाँर ओकलेर पीडित र व्यथित बनेर लतले तर कवि भूपि आफ्नो सिर्जनका अमर पथका अनन्त यात्री बनेर बाँचिरहेछन् र बाँचिरहने छन् ।

प्रतिक्रिया