अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

विमल भौकाजी ‘जसको जोत उसको पोत’ का भौकाजी

युबराज मैनाली २०७८ चैत ३ गते १६:५७ मा प्रकाशित

साहित्यिक वंश वृक्षको एक पल्लवित स्थापित हाँगो हुन् यिनी । छापा सञ्चारमाध्यमका स्तम्भकर्ताका नियमित चित्रकार पनि हुन् यिनी । काव्यबाट अल्पिँदै अन्य रचनामा प्रकट पोख्त अर्थात् व्यङ्ग्य, सोधखोज आदि–इत्यादिमा लटरम्म झुकेका हाँगामा देख्न पाइन्छ यिनलाई । हावाले हल्लाएर हो वा आफ्नै धुनमा मच्चिएर २०६४ मा हास्यव्यङ्ग्यको पुस्तक सङ्ग्रह जसको जोत उसको पोत स्वात्त निकाले उनले र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डी.सी.बाट उत्कृष्ट पुस्तक पुरस्कार पनि भेट्टाइहाले । राशिको रास फलिफाप भएपछि डोकोमा दूध थापे पनि अड्किन्छ भने भई यही पुस्तक पहिलो दोस्रो हुँदै तेस्रो संस्करण पनि फुत्त–फुत्त उपियाँ उफ्रेझै उफ्रन थाल्यो । भनूँ, यो पुस्तकका बारेमा लेख्न बस्दा यसलाई धेरैले चाटिसके । सवरीको जुठो बयर रामलाई भनूँ वा बलेको आगो ताप्ने संस्कार जे भने पनि मिल्ने बयर जुरेको छ भन्नुपर्ला यतिखेर । यति भन्दैमा धेरैले थाहा पाइसकेको छ स्रष्टा को हो भनेर ? हो, तिनै विमल भौकाजीको जसको जोत उसको पोतबारे हात उचाल्ने तर्फ डोरिइँदै छ यतिखेर ।

वि.सं. ०५५ देखि ०६२ सम्मका पोखाइ, विभिन्न पत्रपत्रिकाहरूमा चटाइपछि भेट्टाई–भेट्टाई फेरि चटाउन पस्केका बासी जोताइ, पोताइ वा पस्काइ हो यो । अर्को शब्दमा भनूँ, पात–पातहरूमा पस्केर फेरि चाँदीको प्लेटमा सजाइएको झुल्काइ हो यो । तर पनि बासीको राग कतै भेट्टिइन्न यसमा । चटकमटक, रौनक भेटिन्छ ताजापनको । यो ताजापनमा पनि आफ्नै प्रकारको बुनौटले गुँदपाकमा मरमसला काजु, किसमिस, पेस्ता छरिए जस्तो संरचनाका स्वत्वको पहिचानबाट विमलमा अस्तित्वको तीव्र तिर्खा भेटिन्छ । अग्रज भैरव अर्याल, पिँडाली, वासुदेव लुइटेल, घटोत्कच शर्मा (गोकर्णदेव पाण्डे), रामकुमार पाँडे, श्याम गोतामे, नरेन्द्रराज पौडेल, चट्याङ मास्टर आदि–आदिलाई गहिरिएर अवलोकन गरेपश्चात् आफ्नोपनको खनिजतत्व पहिल्याएर सब मेरा, मेरा सबका लागि भन्ने मनसायबाट अभिप्रेरित जसको जोत उसको पोत सँगालोमा सु स्पष्ट झल्किन पुगेको पाइन्छ ।

तेस्रो संस्करण २०६९ मा मेरा मबाट हामी सबैका शिल्प प्रस्फुटित यस सङ्ग्रहभित्र चवालीस चुक्लीहरू चुलिएका छन् । त्यसमाथि एउटा फोस्साको रूपमा ‘अन्त्यमा…’ दिएर अत्याउन खोजिएको छ । यो ‘अन्त्यमा…’ले अत्याउन त दिँदैन नै, बरु पत्याउन पो कर लगाउँछ । विमलले किन लेखे, केलाई लेखे अनि कसको लागि लेखे भन्ने कुरा । यसमा उनी भन्दछन्,
“लेख्नु र लेखिरहनु एउटा आत्मरति पनि शायद
अक्षरहरूलाई शब्द बनाउनु
शब्दहरूलाई वाक्य बनाउनु
र, त्यही वाक्यको हवाई घोडामा उड्नु… उडिरहनु ।
उड्दाउड्दै पछारिनु
फेरि उड्नु
फेरि पछारिनु
अर्थात्, लेख्दै आफूलाई क्षणिक सहानुभूति दिनु
लेख्दै क्षणिक सन्तुष्टिको अनुभूति गर्नु
एक अर्थमा मेरो बाध्यता पनि हो ।
शायद, मभित्र एउटा अर्को मान्छे छ
जो सचेत छ र हरहमेसा जुरमुराइरहन्छ
कथित सामाजिक परिवेशप्रति मलाई घचघच्याइरहन्छ ।
र मलाई लेखाइरहन्छ … लेखाइरहन्छ निरन्तर… ।”

भौकाजीले स्वयम्को परिचय यसरी दिएका छन् भूमिका नबाँधीकनै । आफ्नो भूमिका पनि स्वप्रयुक्तमा चुरोटको धूवाँझैँ उछालिरहेछन् आफैलाई । उनको यही उछालको बान्की देखेर आफ्नो मन्तव्यमा डा. दुर्गाप्रसाद भण्डारी लेख्छन्– “…नेपालका धेरै साहित्यकारहरूभन्दा विमल भौकाजीको मूल्य दृष्टि माथिल्लो कोटीको छ । कुनै पनि कलाकारको व्यक्तित्वको आश्रित हुन्छ उसको मूल्य दृष्टि र त्यहीअनुरूपको कृति र स्वभावमाथि… ।”

निश्चय पनि कृष्णचन्द्र सिंह प्रधानको मन्तव्य– “बेग्लै छाँटको, सङ्क्षिप्त भनाइ, भाषा, साङ्केतिक अर्थ छिटोछरितो शैलीको यो गद्यरचनाले दिने विम्बभित्रको सम्प्रेषण संवादमा परिणत भएर व्यङ्ग्यमय मुखरित हुन्छ ।…” यी दुई मूलबाट मिश्रित प्रवाहको विम्ब हो जसको जोत उसको पोत, भनौँ भौकाजीका रचनाको स्रोत । यही स्रोतको परिपुष्टिका निमित्त ‘हात्तीको दाँत’ देश विकासको क्रममा निस्किन्छ, उनका उर्वरता यसरी पस्किइन्छ– ‘हाँस्दाखेरि उसको अगाडिको दाँत मज्जाले देखियो… त्यसमा एउटा अनौठो चमक थियो…’

उपमा अलङ्कारको अँध्यारो गुफातर्फm डो¥याउँदै कौतूहल कायम गर्दछ यस पाटोमा, जब अर्को प्रवाहको मुहानीमा आउँछ तब रोमाञ्चक क्षणको रूपमा बसाउँछ उनको लेखनी । वृत्ति, प्रवृत्तिलाई सहज एवम् सरल ढङ्गबाट उराल्नु नै उनको लेखन आकृति बन्न पुगेको छ यहाँनेर । यसअघिको ‘भोलिवाद’ कौतूहल दिँदैन तापनि स्वयथार्थको स्वाद दिन सक्दछ । तर फेरि ‘धराप’मा आएर शिल्पको चमत्कारिता ओकलिएको छ । ‘पख्’को अदृश्य आवाज सचेतनाको खबरदारीमा मबाट हामीबीचैमा ओर्लिन्छ र भन्न पुग्छन्– ‘धरापहरूसँग बाँच्ने दैनिकी भइसकेको छ हाम्रो… ।’ ‘धरापै धराप’ भोगाइको यथार्थ भन्न मात्र हैन कि जुध्न प्रेरित पनि गर्न पुगेको पाइन्छ । यसअघिको ‘अघि–अघि दोसल्ला: पछि–पछि म’ मनोविनोदको राम्रो परिकल्पनाको रूपमा उरालिएको छ । ‘मिटिङ कल्चर’ले सुसूचित अधिकार र त्यसको छेकोको पोको बिसाइएको छ । ‘एकै ड्याङका मुलाहरू’ विन्यासले बाँधिन्छन् र शब्दको नाच यसरी नाचेका छन् यसमा–
‘सुदूर पश्चिमको बारीमा फलेका हुन् या मेचीतिर फलेका हुन् आखिर मुला न हुन्; ठाउँ पाउनु मात्र पर्छ उम्रिहाल्छन्… ।
कुनै भुँडे आकारका छन्
कुनै चुच्चे आकारका छन्
कुनै डल्ले–डल्ले छन्…’
कस्ता छन् त ती मुलाहरू ? यसको जवाफ पनि फकफकाउँदा छन्–

‘पुरै मुलुकको भविष्य कालो अन्धकारमा गइरहेको अवस्थामा पनि तिनीहरूको रङ सधैँ नै साहै्रै नै सेतो छ– निख्खर सेतो, तलदेखि माथिसम्मै सम्पूर्ण सेतो… ।’ यो उपमाको उर्वरता फैलिएबाट आकाश र पाताल ढाक्दैनन् त…? यो त पढ्नै पर्छ अनि पो… । बयानको तानले सङ्गीतको मज्जा आउँदैन । यस्तै ‘उपहार’मा पनि सोचकै उपहार दिन पुग्छन् विमल ।

‘फेरि मुस्कुरायो शहीद’ २०५९÷११÷१५ मा प्रकाशित रचना हो । शहीद किन मुस्कुरायो को जवाफमा ‘एक दिन यहाँ शहीदै शहीदका तस्बिरहरू लस्कर लाग्नेछ । आहा, कति रमाइलो होला यो शहीदभूमि ?… ’ यो ०७० सालसम्म आइपुग्दा भवितव्य ठ्याम्मै मिलेको देखिएन र ? सोधाइ आपैmभित्र मडारिन पुग्दछ । ‘युवा साहित्यिक पुरस्कार’ बोर नभएर पनि विषयगत भोर भएकै विषयवस्तु रहेछ, तापनि शब्द चयन र टपक्क ओराल्ने कलाको विशेषता यसले राख्दछ नै । अनि यसअघिको ‘सपनीको स्वस्तिक छाप’ले समयकै छाप अमिट रूपमा ढ्याप्पै लगाउन पुगेको छ ।

काव्यमन र पुरस्कार पाए पनि काव्यै पस्कन कञ्जूस्याइँ गर्ने भौकाजी काव्य भावचाहिँ बिर्सन्नन् । यहाँ एउटा उतार–
‘कहिले पार्टी एकताको कुरा गर्छ
कहिले राष्ट्रियताको ढोङ रच्छ
कहिले चुनावको हल्ला गर्छ
कहिले स्थिर सरकारको कुरा गर्छ
हाड नभएको जिब्रो
…हाड नभएको यो जिब्रोको बकबक सुनिरहन्छु ।’
काव्यात्मक लयकै कुरा गर्दा ‘मेरो वृहत् संसार’ भित्र
‘यो धरतीमा किन भौगोलिक सीमा ?
प्रकृतिमा पनि भागबन्डा हुन्छ ?
हावा सबैको हो
पानी सबैको हो
घाम सबैको हो
त्यसो भए माटोमा मात्रै किन अंश लाग्ने ?… ’

दर्शनको डाम डोब्न पछि परेका छैनन् यहाँ संवाद शैलीका रचनाकार । यसभित्र पनि प्रश्न उठाउने थुप्रै कुरा छन् । माथिकै पङ्क्तिमाथि औँल्याउन पर्ने कुराहरू छँदै छन् । तर पनि बोल्ने विषय नभएर सोच्ने विषय भएकाले सोचलाई सबै जिम्मा दिएर संविधानविद्को होस्टेमा हैँसे मिलाउन पुगेका छन् व्यङ्ग्यकार ।

नौलो कुरा नहुँदामा पनि नौलोकै पाराको घुम्टो उघार्न उद्यतमा सफल भौकाजी ‘दौरा सुरुवाल’को पनि दर्शन छाँट्न पुगेका छन् । संवाद पारा उनको मौलिक अधिकारको अधिकारलाई प्रयोग गर्दै उनले कसिलो कन्याइ घसेको पाइन्छ । क्लाइमेक्सभन्दा फिल्मको टिकट काटिइसकेकोलाई फिल्मको कथा भन्न जत्तिकै हुन्छ । यसअघि एउटा प्रेम पत्र रहेको छ, तर थाहा छैन प्रेमीको बगलीमा के छ ? त्यो थाहा पाउन उद्यत प्रेमी वा प्रेमिका मुखमा रामराम भएकोमा मक्ख देखिन्छन् भने बगलीभित्र के छ मात्र सोचिरहन्छन्, सोचिरहन्छन् । यो सोधाइ नै पूरक जवाफ हो, बगलीमा के छ, सोधाइ एक प्रतीकात्मक विम्ब हो र शिल्पकारिताको दम्भ पनि हो ।

यसअघि छापिएको तोडका (जादु) को शीर्षक रहेको छ ‘प्रतिबन्ध’ । साइकल एउटा प्रतीक रहेको छ यहाँ कृष्ण चन्दको जामुनको पेटझैँ । निम्नवर्गको प्रतिनिधित्व मोटरसाइकल, हुनेखानेको आनन्द । यही आनन्दमाथिको काल्पनिक बन्द बन्देजको मौनानन्द अनि परिवर्तनका नियमहरूको छेपारे छोपहरूमाथि चोप हाल्ने काम विना कुनै छलछाम पूरा गरिएको देखिन्छ ।

चोप हाल्ने काममा ‘धृत राष्ट्रहरू’ सत्ताको स्वरूप उजागर गर्न सक्षम देखिन्छन्, तर यहाँ नदेख्ने मात्र हैन नसुन्ने (ज्ञानेन्द्रिय नै प्रतिक्रियाविहीन देखिएको हुँदा धृत राष्ट्रको उपमा उपयुक्त नरहेको देखिन्छ । तर पनि खोजिएको लक्ष्य प्राप्तिमा सबलै देखिन्छ । ‘मेरो पारिश्रमिकको ट्याक्स’ शीर्षकबाटै विषयवस्तु उजेलिएको छ । यहाँचाहिँ पारिश्रमिकको रूप तलब नभई एउटा कविको कविता छापेबापत पाइने पारिश्रमिकमा पनि कर लगाइनुको औचित्य र त्यसको उपयोगबारेको झापड हो ।

‘नेता निबन्ध’मा नेताका २१ बुँदे योग्यताको चर्चा गरिएको छ । अन्य निबन्धमा भन्दा यसमा शैली बेग्लै अर्थात् परम्परागत रूपमा रहेको देखिन्छ । यस्तै पाराको रहेको छ ‘मेरो गल्लीको बोर्डिङ’ । कलिला नानीहरूको आजको गतिविधि र बोर्डिङ व्यापारको खाका त्यति कसिलो बन्न नसकेको देखिन्छ । ‘बिचरा संविधान’माथिका दुईभन्दा केही उम्दा अनि गहिराइमा पनि पैठ पुगेको देखिन्छ । निष्कर्षमा जे छ यहाँ यथार्थको प्रस्तुति भएको छ ।

‘हाई हाई टाई’ क्रममा एकनासको उभ्याइ भेटिन्छ, तर पनि संस्कृतिको आँसु चुहाइ यसमा पोतिएको छ । शब्दका कञ्जुस्याइँले हो कि यसमा अमिलोपन पाइन्छ । योभन्दा ‘वार्ता निबन्ध’ चहकिलो देखा परेको छ । स्रष्टा स्वयम्ले भन्न पुगेका छन् यहाँ– ‘वास्तवमा वार्ता सम्बन्धी कुरो गर्दै जाने हो भने एकै चरणमा भ्याउँदै भ्याइन्न…।’ दोधारे तरबारको यो प्रयुक्तिले व्यङ्ग्यको घैँटो छताछुल्ल भई चारैतिर बग्न पुगेको भेटिन्छ । रवि र कविको आह्वानसरि नै नयाँ सोचलाई कुन्नि कुन खोँचबाट तानेर ल्याएका छन् विमल भौकाजीले । शिल्प संयोजनको सानो नमुना हेरौँ–

‘यदि हिमालहरूलाई घेरेर पुरै जाम गरिदिने हो भने कसरी बग्न सक्लान् नदीहरू ? छटपटिऊन् न छिमेकीहरू पानीको तिर्सनाले… । कति भोग्नु दुःख हामीले मात्र हँ ?’ दुःख ? यहाँ भोगाइ सिङ्गो माटोको पाटोले भोग्नु नियतिभइदिएको छ । स्वभित्रैबाट स्वार्थ कपटको परिणति पहिलो हो त्यसपछि अर्को । यही परिदृश्यले भन्नै परिरहेको छ … ‘कति भोग्नु दुःख हामीले मात्र हँ ?’ सब घटना आँखासामु एक–एक गरेर जम्न थाल्दछ, दह जमेझै । व्यङ्ग्य यहाँ आफैमाथि खनिँदो छ । चेतनको आगोभित्र–भित्र दन्कँदा छन् । यसैले कान्तिपुरमा रेवतीरमण सुवेदी भन्दछन्, ‘भौकाजीको व्यङ्ग्य–लेखनले दाँत देखाउने यो अवधारणालाई अलिकति छेउ लगाएर आफ्नै मौलिक मार्ग स्थापना गर्ने कोसिस गरेको देखिन्छ । त्यो मौलिक मार्ग भनेको घाउ देखाउने हो । अर्थात् समाज, राष्ट्र र प्रणालीलाई धमिराले भई भित्र–भित्र तहसनहस र पतन पार्दै अन्धकार तर्फm धकेलिरहेको चरित्र एवम् प्रवृत्तिलाई नङ्ग्याउने–बिझाउने अवधारणालाई प्रस्टाउने साहस गरिएको छ । निश्चय नै सन्दर्भगत अवधारणामा सहमत नभई धरै पाइन्न ।… ’
‘डाक्टर साहेब’बारे स्पष्टै कथन छ । यसबारे मन्थन गरिरहन परोइन जस्तो लाग्छ ।

‘भाते सङ्गठन’लाई त्यति शब्दले उचाल्न नपर्ने देखिन्छ । यससँगको ‘शपथ’ भने शपथकै आस्वाद साइनाइड चाख्नेसरह लतलाई लतार्न कति कठिन, जब लतार्न सक्यो त्यसलाई खानु वा चाख्नुको स्वाद कति सार्थक भन्ने सन्देश समावेश जुन रूपमा गरिएको छ त्यो रोचक अनि घोचक दुवै रहेको छ । यसै गरी ‘पे्रमथलो’ सचेतनाप्रतिको औँला ठड्याइको रूपमा उचालिएको छ । पवित्र आदर्श उत्पादन थलो विकृति र विसङ्गतिको थलो बन्दै पछि गएर घेरोमै बाँधिएर परिवर्तन स्वरूप कस्तो हुँदो हो भन्ने चिसो मुटुभरि हुँडलिएको छ । व्यङ्ग्यमा यो हथौडा प्रयोगको चमत्कार प्रदर्शन हो ।

उल्टो क्रमको क्रमिकतामा शीर्षक कृतिको पहुँचमा पुग्दा पुस्तककै नाम जुराइएको उत्सुकता पैदा हुनु स्वाभाविक रहन्छ नै । अर्थात् ‘जसको जोत उसको पोत’मा घुस्रिँदा आहानहरू उफ्रिन्छन् । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनिएको हो कि ! ‘म गर्छु गाग्राका कुरा तिमी गर्छौ आग्राको कुरा’ तर्फ तानिएको हो वा कुरो र कुलो जतातिर लगे पनि हुन्छ भनिएको हो ? यस्तै–यस्तै प्रश्नहरू उठाइहालिन्छ । भनिएको छ, ‘धनीहरूको धन सम्पत्ति, जग्जाजमीन घट्नु र म केही नभएको दरिद्रको चाहिँ सबै थोक जोडिनु अनुपातमै हेर्ने हो भने मात्रै पनि म असाध्यै धनी ठहरिनेछु… ।’ यो निष्कर्षमा थप टेवा उनलाई जसले सरकारबाट जुन क्रान्तिकारी उद्घोषण गरेको कुरा सुनाउने मित्रको त्यस्तै व्यवहारबाट प्राप्त हुन पुग्यो । ‘जसले जुन थालमा खाने काम गर्दछ, थाल उसकै हुन्छ ।… ’ यसलाई निबन्ध मान्ने कि कथा ? प्रबन्ध मान्ने कि व्यथा ? सविस्तार कथा नै कोरिएको जस्तो लाग्दछ । ‘अब भन्नोस् त ! मैले सरकारको नयाँ नीतिलाई कसरी नपत्याउने ? विश्वास गर्नै पर्‍यो मैले, जग्गा हुने भएछ जोत्नेको ।… ’ लाग्दैन त यो कथानुकरण ? तर निश्चय पनि यो व्यङ्ग्यै हो ।

कथ्यकर्ताको शिल्प संप्रेषनीयताको बान्की बुनोटको कमाल तन्काउने कलाको भरपुर प्रयोगले घोचक रोचक बन्न पुगेको मात्र हो । ए्यस्ट्रयाक्ट आर्टझै अक्षर, शब्द र वाक्यको ठ्याक्क ठ्याक्क ट्याक्क ट्याक्कले जताबाट हेरे पनि हेर्नेको मनले देख्ने आकृति कला यसभित्र छ । शायद यसैले मुख्य पुस्तककै नाम यसैबाट जुरेको हो ।

रिसल्लाको पछि–पछि दौडन नजानेरै दोसल्लाको पछि–पछि दौडिएको कुरा गइसके, तर अहिले फेरि आएको छ दोसल्लाकै टाउको फेरिएको छ ‘सम्मान बजार’को पगरी गुथाएर । ठाउँ विशेषको नाम होइन, कुनै पनि स्थानमा कुनै पनि समयमा स्थापना हुन सक्ने अस्थायी प्रकारको बजार हो यो । परिचय बजारको यही दिइएको छ । अरू अगाडि भनिएको छ, ‘यस मानेमा सम्मान बजारको एउटा प्रमुख र महत्त्वपूर्ण आकर्षण हो दोसल्ला ।… अस्ति भर्खर दोसल्ला ओढाएर हर्षबढाइँ गर्ने सम्मान बजारमा… बालश्रम गराउने तथाकथित मानव अधिकारवादी, अर्का थिए आश्वासनको भाषण र गलत कामबाहेक केही नगर्ने धूर्त राजनीतिज्ञ, कोही एकातिर नारी–पुरुषको हक बराबरी गर्नुपर्छ भन्दै अर्कोतिर तीन वटा विवाह गर्ने ढोँगी समाजसेवी थिए, फेरि कोही थिए प्रत्येक शब्दमा प्रगतिशीलताको डिङ हाँक्ने तर दिनरात रक्सी पिएर लरखराउँदै हिँड्ने पाखण्डी लेखक ।… ’

यही लामको फेहरिस्त उतार हो दोसल्लाधारीको । यसपछि भन्नुपर्ने बाँकी नै रह्यो के ? तर भन्न त बाँकी नै रहन्छ नै । जति भने पनि तर सबै भन्न सकिँदैन नै, मात्र यो त भनूँ, व्यङ्ग्य–जगत्मा नौलो चिटिक्क परेको षोडषीजस्तै वाक्य विन्यास र शब्दको आफ्नै प्रकारको उतारले भौकाजीलाई उत्कृष्ट पङ्क्तिमा उभ्याएको छ । यसैले त ‘मार्क्सको खुसी’मा उनको कल्पना फोहरा नौरङ्गी प्वाँख लगाएर मात्र नपुगी कवि राजवको कविताको पुच्छर लगाएर मार्क्सको खुसी व्यक्त्याउन पुगेको छ । देहयाष्टि कोमलाङ्गीको बेग्लै हुन्छ, पहलमानको बेग्लै हुन्छ, स्रष्टाको देहयाष्टि त शब्दको कलात्मक प्रतीकात्मक उतारमा हुन्छ । यस यथार्थको छाप यही हो ।

‘महान् मोबाइल पत्रकार’ एउटा जन्म पनि हो तथाकथित पत्रकारको, जो हाम्रै वरिपरि वा हाम्रो काँध चढेर पीत छ्यापिरहेका होलान् र हामी चुपचाप तिनका लीला सहिरहेका हुन्छौँ । त्यसैलाई समेत हाँक दिँदै पोतकार भौकाजी सोच अनि व्यवहारमा अङ्कुश लगाउन खोजेका देखिन्छन् । यसअघि ‘फाइलभित्रको चरित्र’मा पनि कुरा क्रम अर्कै भएता पनि चिनारी आँफै नदिएर स्व जातीय पात्रद्वारा दिन लगाएका छन्, ती हुन् गीतकार दिनेश अधिकारी । हो, ‘मार्क्सको खुसी’मा भई दिनेश अधिकारीको मुक्तक फाइलभित्रको चरित्रको चिनारी यसरी दिएका छन्–
‘ईश्वर र भ्रष्टाचार
लाग्छ हिजोआज एउटै भएको छ
कतै देखिँदैन
तर सर्वत्र व्याप्त छ ।’
जसलाई पाठक आफैले पढे रोचकता कायम राख्नकै निम्ति यतिमै आफूलाई रोक्दा भलो होला कि !

अबको शीर्षक सामु छ ‘जमनिष्ट’ । के हो त यो जमनिष्ट ? के हो यो जमनिष्ट भनेको ? उत्सुकता । त्यो उत्सुकता धेरै बेर रहँदैन, रहन पनि दिँदैन । स्वयम् भौकाजीको भित्री चरित्रलाई पनि उनैले नचाहेर पनि उजिल्याइदिएका छन् । यसैले तुरुन्तै उनी भन्न पुगेका छन्, ‘…तर होइन, म पक्का जमनिष्ट नै हुँ, कुनै कमनिष्ट होइन, कमनिष्टभन्दा अलग, काङ्ग्रेसभन्दा अलग, विशुद्ध जमनिष्ट ।… ’ जमनिष्टको परिभाषा वा परिचय उनी यसरी ओकल्छन्, ‘जतिखेर जहाँ पनि जम्न सक्ने क्षमता भएको जमनिष्ट । पानी चिसिएर शून्य डिग्रीमा जम्ने एउटा प्राकृतिक प्रक्रिया छ तर मलाई जम्नको लागि कुनै विशेष प्रक्रियाको जरुरत छैन । लिसोको पर्याय हो जमनिष्ट ।… ’ जम्नुका ठाउँ र काम पनि उदाहरणसमेत दर्शन गराएका छन् उनले । यतिमै चुप लाग्दैनन्, एउटा घोषणापत्र नै उजाउँछन् सबैको अगाडि शब्दको खुकुरीको स्वरूपमा । घोषणापत्रको नालीबेलीतर्फ नगएर उनको अन्त्यको बोली मात्र उजाउँदै जमनिष्टसँग बिदा माग्नु नै श्रेयकर ठान्दछु, ‘…हाल आफ्नो करोडौँको सम्पत्तिका साथ राजधानीमा म यसरी जमेर बसेको छु कि मेरो जीवनशैली हेरेर जसले पनि भन्न सक्छ, म एक सच्चा जमनिष्ट हुँ ।’ प्रयोगको चातुर्य यहाँ पनि चुप्पी चलाउँछन् भौकाजी निःसङ्कोच ।

मानव अधिकार टाउकैमा चन्दन घसेपछि धर्म के हो भनेर सोध्ने कुरा भयो र ? यसैले सम्पूर्ण ‘मानवअधिकार’ पढ्ने पाठकलाई नै छोडेर त्यही अन्तको शब्द ‘…जहाँसम्म मानव अधिकारको प्रसङ्ग छ, यदि झन्डाहरूको चाहिँ आफ्नो मानवअधिकार छ भने हामी बन्दुकहरूको पनि उत्तिकै मानवअधिकार छ भने हामी बन्दुकहरूको पनि उत्तिकै मानवअधिकार छ, यस अर्थमा के हामी बन्दुकलाई गोली चलाउने छुट छैन ?’ यसमा यति नै ।

‘किन औँलाहरू एउटा दुःखी मान्छेको आँसु पुछ्न लम्कँदैनन् आजकल ? किन घाइते मान्छेको घाउमा मलमपट्टी बाँध्न तम्सँदैनन् ? के भयो औँलाहरूलाई ? जता हेर्छु, आधुनिकताको पोलिसले चिटिक्क टल्काइएका… लामा–लामा नङ्ग्रा भएका औँलाहरू हरहमेसा एउटा हिंस्रक भालुजस्तो, आफूmजस्तै अर्को मान्छेलाई चिथोर्न आतुर–आतुर छन् ।… ’ बयानमा औँलाहरू पनि बन्दैनन्, औँलाहरूका चलायमान चालमा संवेदना बौरिन्छन् विमलका र एउटा व्यङ्ग्यात्मक प्रबन्धमै सलबलाउँछन् उनका औँलाहरू । मानवीय चरित्रको व्यङ्ग्यमा गहिरो संवेदनशीलताको ज्वारभाटा ? लाग्दैन यो विरोधाभासको गहिरोपना ?? ओर्लिएको छैन यसभित्र दर्शन ? यो एउटा मिश्रित अन्तर्द्वन्द्व हो भावुक अन्तर्मनको । हो, यही पङ्क्तिसँगै थचक्क बसेको छ फर्सी अनि दशा बनेर ओर्लिएको छ दसैँ । हरिदायीको खसी किन्ने आर्थिक क्षमता थिएन । भाउ सोधे खसीको र झन्डै बिस किलोको फर्सी किन्न बाध्य छ ऊ । फर्सीलाई खसीमा रूपान्तर गरेर छोराको चित्त वाक्पटुताले बुझाउन खोज्छ त फर्सीका टुक्राहरूलाई कबाफ, सेकुवा, छोयला, कचिलामा सिँगारेर हरिदायीको घर एक छिन थर्किन्छ र क्षणभरमै चकमन्न वातावरणमय बन्छ । अरण्यता विवशताको खित्काको तह कति भित्रसम्म गडेको छ त ? प्रश्नै प्रश्नहरू अनगिन्ती ओइरिन्छन् ।

‘छेपारोको रङ’मा कवि एउटा प्रतीकात्मक रूपमा खडा छ । सधैँ देख्दा पनि अपरिचित त्यही कविको सामीप्यमा एकाएक आत्मीयताको बोलीचाली अप्रत्याशित रूपमा प्रकट हुनु, त्यो परिवर्तन किन ? प्रश्नको उत्तरमा आउँछ, समयअनुसार संसारमा जेसुकै परिवर्तन हुनु प्रकृतिको नियमै हो र प्रकृतिले व्यवहारमा पनि असर पु¥याउँछ । यही व्यवहारले कविको कविताको रङ पनि बदलिन्छ । विद्रोहको स्वर भजनमा बदलिन्छ । भौतिक सुविधाको माध्यमले उनलाई साधन जुट्दछ तर अन्तरमन सत्य नै ओकल्दछ । यसैले त कविको माध्यमबाट शब्द बन्न पुग्दछ, ‘मेरा नशा मान्छेको रगत होइन, छेपारोको रगत बगेको छ ।’

हिलोको होली खेल्न बर्सात पर्खन पर्दैन, यसको अभाव कहिल्यै पनि भएन, अहिले पनि भरिपूर्ण छ । हिलो एउटा कटु सत्यलाई ओरालिएको छ यहाँ । यो राजनीतिमा व्यापक चल्दै थियो, चल्दै छ, चलिरहनेछ । चाहिन्छ, मात्र दृष्टिको सूक्ष्म अवलोकन । मानिस आवश्यकता र अनिवार्यता भन्दा तह चढेर सानको तानमा कसरी बगेका छन् भन्ने ज्ञान मोबाइल सङ्गीतले सुसेलेको छ । ‘वेश्यालय’ त्यो पनि पुरुष वेश्यालय अनौठो लाग्न सक्दछ । प्रेम र राजनीतिमा सबै जायज छलाई खरो रूपमा उतारको नमुना प्रस्तुत छ यसमा ।

‘म देशको कर्णधार’ शिक्षामा व्यापारीकरण र अन्य शैक्षिक विकृतिको आकृति कोराइ हो भने साहित्यिक लेनदेन’ पनि अदृश्य रूपमा मौलाउँदै गइरहेको त्यसैको आकृति हो भन्न सकिन्छ । सबतिर उस्तै भए म मात्रै बसूँ जस्तैको भाव धारामा विचार प्रवृत्ति सब बागमती विष्णुमती बन्दै गइरहेको आवृत्तिको भण्डाफोर हो । ‘चम्चा राज्य’ विषय कुनै नौलो होइन चम्चा कुन प्रकारका कस्ता–कस्ता सब विस्तारपूर्वक भनिएको र सबैले सुनिदेखी सकेको हुँदा यसबारे नभनौँ नै ।

अन्तमा एउटै शीर्षक रहेको छ, ‘ऐतिहासिक झुत्रो’ पात्रमध्ये एक सत्यवर घटना दन्त्यकथा पनि हुन सक्दछ तर प्रतीकात्मक स्वरूपमा थोत्रो भोटो र दौरा छ । सचेतन राज्य मुहालीप्रति खबरदारीको रूपमा छ प्रसङ्ग जेसुकै भए पनि पुरानो बोटलमा नयाँ रक्सीबाहेक प्रायः उहीको व्यङ्ग्यात्मक निराशा स्वर लहरी छ ।

चवालीस शाब्दिक चड्कनको चटारो बोकेर जसको जोत उसको पोत पुस्तकाकारमा पाउनु पनि पहिलो उपलब्धिको रूपमा लिनुपर्ने हुन्छ । किनकि हास्य–व्यङ्ग्यको क्षेत्रमा खडेरीको आपूर्ति–भिजाइ यसले समेटेको छ । महाकवि देवकोटालाई भेट्टाउन नसकेको आजसम्मको साहित्यिक पानामा एउटा कुना यस्तो पनि छ, त्यो हास्य–व्यङ्ग्य हो जसलाई देवकोटा मात्रले छोए, भीमनिधिले गोड्न खोजे, भैरव अर्यालले खेतै रोपे । यसो त भानुभक्तले फाँटेका हुन् नेपाली व्यङ्ग्य फाँट पनि । केशवराज पिँडाली, रामकुमार पाण्डे, चट्याङ मास्टर आदि–आदिले यस फाँटलाई हराभरा तुल्याएको व्यङ्ग्य फाँटमा नव प्रयोगवादीको रूपमा विमल भौकाजी देखा पर्छन् । वस्तुतः उनको सिर्जनामा व्यङ्ग्यको प्रचुरता रहेता पनि हाँसेको शुष्कता एउटा कमजोरीपन हो । निबन्धगत स्वरूपमा हेर्ने हो भने संवादात्मक शैलीको प्रस्तुतिले निबन्धगत परिधिमा यसलाई भित्र्याउन सकिन्छ कि भन्ने आभास हुन्छ । यसैलाई लघुकथामा ढल्केको हुनाले व्यङ्ग्याख्यानभित्र पारिन सकिन्छ कि भन्ने लाग्दछ । उनका व्यङ्ग्यमा भारतका हरि शङ्कर परसाइलाई पछ्याएको हो कि भन्ने कतै–कतै । तर पनि जसको जोत उसको पोतमा भित्र्याइएका रचनाहरूमध्येमा अधिकांशमा आफ्नैपन भने छँदै छ । आफ्नै माटोको पाटोभित्र समेटिएको आचार–विचार विश्व परिवेशलाई छुँदै नछोइएबाट जोगिन/पन्छिन खोजेका प्रतीत हुन्छ ।

ठाडो भाषा, घुमाउरोपनको अभाव, अखबारी बोली आदि फितलो पक्ष हो । कतै–कतै परिभाषित गर्दा गर्दै चुक्नु सबभन्दा ठुलो कमजोरी हो । तर पनि भौकाजीमा चित्रण–पहुँचको क्षमताबाट ठुलै आशा गर्ने ठाउँ भने प्रशस्त रहेको यस कृतिबाट देखिन्छ ।

०००

प्रतिक्रिया