अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३८ | Colorodo: 20:53

मङ्सिरदेखि विद्युतको नयाँ महसुल दर लागू हुने, घरासयी ग्राहकले २० युनिटको ३० रुपैयाँ मात्रै तिर्नुपर्ने

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ६:३० मा प्रकाशित

सरकारले मङ्सिरदेखि विद्युतको नयाँ महसुल दर लागू गर्ने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै आज नयाँ दर सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्ताव माथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर आयोगले नयाँ महसुल दर तय गरेको हो । मङ्सिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको लाइन लिने सिङ्गल फेज घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा सर्भिस चार्जबापत ३० रुपैयाँ मात्रै तिर्नुपर्नेछ । त्यसका लागि प्राधिकरणले वर्षमा ७५ करोड बराबर लगानी गनुपर्नेछ । आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महसुल दर घटाएको छ । त्यसैगरी सिँचाइका ग्राहकको महसुल पनि घटेको छ ।

अहिलेसम्म सिङ्गल फेजमा ५, १५, ३० र ६० एम्पियर गरी नौ वटा स्ल्याब राखेर महसुल लिँदै आएको छ । अब भने यस्तो स्ल्याबलाई ६ वटामा झारिएको छ । अब २० युनिटसम्मको पहिलो स्ल्याब हुनेछ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १ सय, १ सय १ देखि २ सय ५० र २ सय ५१ युनिट भन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ । अब महिनामा १ सय १ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल कम भएको छ । यी भन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि एक रुपैयाँसम्म कम महसुल कायम भएको छ । व्यवसाय सञ्चालनका लागि ४ सय भोल्टको थ्री फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले अब एक युनिटको वर्षामा १० दशमलव ५० र हिउँदमा ११ दशमलव ५० रुपैयाँ फरक–फरक महसुल तिर्नुपर्ने छ ।

यसअघि चार सय युनिट सम्म खपत गरेमा ११ दशमलव ५० रुपैयाँ र चार सय युनिटमाथि खपत गरेमा १२ रुपैयाँ महसुल थियो । सबैभन्दा बढी लाभ यसपटक सिँचाइका ग्राहकले पाएका छन् । उनीहरूको महसुल ८० प्रतिशतसम्म घटाइएको छ । २३०÷४०० भोल्ट बिजुली उपयोग गर्ने ग्राहकको हकमा सिँचाइका ग्राहकले अब प्रतियुनिट २ दशमलव २५ रुपैयाँ महसुल तिनुपर्ने छ । यसअघि यो तहमा प्रति युनिट ४ दशमलव ३० रुपैयाँ महसुल थियो । सिँचाइका ३३ केभीका ग्राहकले प्रतियुनिट २ दशमलव ५० रुपैयाँ महसुल तिर्नुपर्ने छ । यसअघि यो स्ल्याबमा प्रतियुनिट महसुल ४ दशमलव ८० रुपैयाँ थियो । ११ केभीका सिँचाइ ग्राहकले प्रतियुनिट २ दशमलव ६० रुपैयाँ महसुल तिरे पुग्नेछ । यसअघि यो स्ल्याबमा प्रतियुनिट ४ दशमलव ९० रुपैयाँ थियो । सिँचाइमा दिइएको सुविधाका लागि प्राधिकरणले वर्षमा ५६ करोड योगदान गर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू