अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

भर्जिनियामा किरण गजमेर, बाबु बोगटीले नचाए, मदन कृष्ण श्रेष्ठ सम्मानित

बिआरटीनेपाल २०७८ कार्तिक ७ गते १२:०६ मा प्रकाशित

डिसी महानगर क्षेत्र । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस सहरमा सम्पन्न बृहत् दसैँ तिहार मेला २०२१ वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको छ ।

गत अक्टोबर २३ शनिवारका दिन आयोजना भएको उक्त कार्यक्रममा भ्वाइस अफ नेपाल ३ का विजेता किरण गजमेर तथा चर्चित गायक तथा नायक बाबु बोगटी लगायतले दर्शकलाई नचाएका छन्। साथै दर्शकहरूले कलाकारहरूले प्रस्तुत गरेका गीतहरूमा साथ दिँदै झुम्दै नाचेका र रमाउन सम्म रमाएका थिए ।

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले उहाँले यस क्षेत्रमा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्ने इनास भर्जिनिया तथा नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक )ले संयुक्त रूपमा सम्मान गरेको हो । सम्मान गरे पछि न्याकका अध्यक्ष चिकित्सक मदन उप्रेती तथा ईनास अमेरिकाका सभापति कन्हैया सिंह परियारले उहाँ जस्तो इतिहास बोकेको व्यक्तिलाई सम्मान गर्न पाउँदा गौरव लागेको बताएका थिए । ईनास भर्जिनियाका सभापति कलाकार राहुल केसीले पनि मदन कृष्ण श्रेष्ठलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका थिए ।

सम्मान भए पछि आयोजकलाई धन्यवाद दिँदै मदन कृष्ण श्रेष्ठले आफू डेमोक्रेटिक(प्रजातान्त्रिक)हु र तपाइहरू यो देशमा भएकोमा तपाइहरूले गर्व गर्नु पर्छ भने । दर्शकहरूको अनुरोधलाई स्वीकार गर्दै आफूले हालसालै गाएको फुल बुट्टे सारी गीत गाउँदा दर्शकले साथ दिएका थिए । उनले आफ्ना सबै परिवारलाई कोरोना लागेको चर्चा गर्दै तपाइहरूले दिनु भएको हौसला र मायाले म छिटो कोरोनाबाट निको हुन् सकेको बताए ।

उनकी सुपुत्री गायिका तथा निर्देशक सराना श्रेष्ठले पनि नयाँ गीत प्रस्तुति गरेकी थिइन् । युवा गायक किरण गजमेर तथा चर्चित गायक बाबु बोगटीले ३-४ वटा गीत प्रस्तुत गरेका थिए । गजमेर र बोगटीले दुवैले झुम्ने खालका गीत प्रस्तुत गर्दै दर्शकलाई सुरु देखि नै आफू सँगै नचाएका थिए । दर्शकहरू आफै मञ्च नजिक पुगेर साथ दिएका थिए । गजमेरले तपाईँहरूको माया स्नेहले म भ्वाइस अफ नेपाल ३ को विजेता हुन् सके यो सबै तपाईँहरूको आशीर्वाद र प्रेमको कारण भयो भने । बोगटीले २ वर्ष सम्म कोरोनाको महामारीमा पछि लामो समय पछि कार्यक्रममा आफू सहभागी हुन् पाउँदा हर्ष लागेको भन्दै आयोजक र विशेष इनास भर्जिनियाका राहुल केसीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )भर्जिनिया तथा नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)ले संयुक्त रूपमा आयोजना गरेको हो । उक्त कार्यक्रम मनासस सहरको रोज गोल्ड इभेन्ट्स सेन्टरमा भएको थियो भने कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूको साथमा स्थानीय प्रतिभाहरूको समेत प्रस्तुति रहेको थियो ।

कार्यक्रममा प्रस्तुति गर्ने कलाकारहरूमा किरण गजमेर, बाबु बोगटी, अञ्जना गुरुङ, आभा मुकारुङ, चर्चित हास्य कलाकार गोपाल फिस्टेको व्यङ्ग्य प्रहसन, लोक दोहोरी चर्चित गायक गायिका लक्ष्मण पौडेल र कल्पना देवकोटा, रमेश परियार, बिन्ती कुमार गुरुङ, रिता श्रेष्ठ, सरोज अधिकारी, प्रनिंन राई, अपेक्षा सिंह गुरुङ परियार, रुबी पौडेल, अर्जुन थापा लगायतले प्रस्तुति दिएका थिए । साथै केसी डान्स सेन्टरका तर्फबाट पनि प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू