अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

युवा पुस्तालाई लोकतन्त्रको मूल प्रवाहमा ल्याउने जिम्मेवारी तरुण विभागको काँधमा रहेको छ – सूर्य चन्द

बिआरटीनेपाल २०७८ साउन १४ गते ६:३९ मा प्रकाशित

काठमाडौँ : पार्टीलाई जीवन्त तथा क्रियाशील बनाउनको लागी युवाहरूको महत्त्वपूर्ण भूमिका रहेको छ। एक सक्षम नेतृत्वले तरुणहरूलाई सक्रिय रूपमा परिचालन गर्दै भविष्यको राजनीति खाका कोर्न सक्नु पर्छ। नेपाली काँग्रेस नेपालको एक समाजवादी-जनवादी राजनीतिक दल हो। ‘राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने नारा लिएको नेपाली काँग्रेसले वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य, बहुदलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य राखेको छ । काँग्रेस नेपालका पुराना राजनीतिक दलमध्येको एक हो । जब जब देशमा सङ्कट पर्छ तब नेपाली काँग्रेसको नेतृत्वले देशलाइ निकासा दिदैं आएको इतिहास हामी सँग साक्षी छ।

नेपाली काँग्रेस अहिले कठिन मोडमा उभिएर सरकारको नेतृत्व लिइरहेको छ। नेपाली काँग्रेस पछिल्लो समय वैचारिक र साङ्गठनिक दुवै दृष्टिले कमजोर हुँदै गएको हो कि भन्ने भ्रम सिर्जना भइरहेको पनि छ। दोस्रो र तेस्रो पुस्ताका नेपाली जनताबिच काँग्रेस आकर्षणको केन्द्र बन्न सकिरहेको छैन। पार्टी गुट उपगुटमा विभाजित भई निजी र वर्गीय स्वार्थमा चुर्लुम्म डुबेको छ। सैद्धान्तिक धरातल अस्पष्ट रहेको आरोप लागिरहेको छ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा तरुण विभागको भूमिका कस्तो रहन्छ भन्ने कौतुहलता तरुण बिच विद्यमान रहेको छ। मुलुकको सङ्घीय संरचना सहित जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगरपालिका, गाउँपालिका र नगरपालिका/गाउँपालिका र वडाहरू सम्म तरुणहरूको भूमिका निर्णायक हुन्छ। तसर्थ विशेषतः युवा पुस्तालाई लोकतन्त्रको मूल प्रवाहमा ल्याउने जिम्मेवारी अहिले तरुण विभागको काँधमा रहेको छ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री एवम् तरुण विभाग प्रमुख शङ्कर भण्डारीको नेतृत्वमा गठित तरुण विभाग अहिले सक्रिय रूपमा अगाडी बढेको छ। विभिन्न समिति तथा उपसमितिहरू गठन गर्दै युवा तरुणहरूलाई महत्त्वपूर्ण भूमिकाको जिम्मेवारी प्रदान गर्दै सङ्गठन निर्माणमा सक्रिय बन्दै गएको तरुण विभाग अहिले युवाहरूको आकर्षणको बिन्दु बनेको छ। तरुण विभाग प्रमुख शङ्कर भण्डारीको स्पष्ट नीति निर्देशन, कार्य योजना र दूरदर्शी सोचको कारण तरुण विभाग युवाहरूको आकर्षण बनेको तरुण नेताहरूको भनाइ छ।

नेपालको राजनीतिमा लामो समय सङ्घर्ष गरेको पार्टी, राणा,पञ्चायत र शाही शासन विरुद्धमा लोकतन्त्रको पक्षमा लडेको र पटक पटक सरकारको नेतृत्व गरेको पार्टी नेपाली काँग्रेस १४ औँ महाधिवेशनको मुखमा आइपुग्दा युवाहरूको राजनीति भूमिकालाई कसरी नेतृत्व सम्म पुर्याउछ र युवाहरूलाई सक्रिय राजनीतिमा परिचालन गर्छ भन्ने कुरा अहिले तरुण विभागको काँधमा आइपरेको छ। काँग्रेस कस्तो हुनुपर्छ र यसको नेतृत्व कस्ता नेताले लिनुपर्छ भन्ने कुरामा तरुणहरूले निर्णायक भूमिका निर्वाह गर्न सक्नुपर्छ। काँग्रेसको आन्तरिक राजनीति गुट र उपगुट भन्दा माथि उठेर हामीले सक्षम र सबल नेतृत्व चयन गर्ने जिम्मेवारी बहन गर्नुपर्ने समय आएको छ। काँग्रेस नेतृत्वमा पुग्ने नेताहरूले अबका दिनमा काँग्रेसलाई एक नम्बरको पार्टी बनाउने हुनुपर्छ । नेपाली काँग्रेसको चौधौँ महाधिवेशनले नेपाली काङ्ग्रेसलाई नयाँ दिशा तर्फ अगाडी बढाउनु पर्छ भन्ने हामी तरुणहरूको सोच रहेको छ।

युवाहरूमा जब सम्म राजनीति चेतना आउँदैन तब सम्म देश विकासको गतिमा उन्मुख हुँदैन। त्यसैले तरुण विभागले केन्द्र, प्रदेश र जिल्ला हुँदै वडा सम्म आफ्नो सङ्गठन निर्माणलाई युद्दस्तरमा लिएर राजनीति चेतनालाई, नेपाली काँग्रेसको नीति नियम र विधान स्पष्ट रूपमा जनता बिच राख्नु पर्ने आवश्यकता रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू