अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०८ | Colorodo: 15:23

यमनको आप्रवाशी शिविरमा भीषण आगलागी, ८ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ फागुन २४ गते ७:२० मा प्रकाशित

यमनको राजधानी शहरस्थित एक आप्रवाशी शिविरमा भएको आगलागीमा परी आइतबार कम्तीमा पनि आठ आप्रवासीको ज्यान गएको बताइएको छ । त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि परेको बताइएको छ । यस क्रममा अरु केही संख्यामा घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ ।

यस आगलागीमा परी आठ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेहरूको संख्या अझ धेरै रहेको हुनसक्ने स्थानीय सञ्चारमाध्यमले जनाएको कुरा आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले जानकारी दिनुभएको छ ।

उहाँले सोमबार आफ्नो ट्वीटरमार्फत् सो कुराको जानकारी दिनुभएको हो । आईओएमले विशेष गरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेको पनि बताएको छ । आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका छन् । तीमध्ये केही जना गम्भीर रुपमा घाइते भएका छन् । सो आगलागी के कसरी भएको हो भन्ने बारेमा भने केही थाहा भएको छैन ।

यमनमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ । यस हिंसामा परी दशौँ हजार नागरिकको ज्यान गएको छ । यस हिंसाका कारण यमन विश्वमा नै सबैभन्दा धेरै मानवीय सहायता आवश्यक पर्ने देशका रुपमा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू