अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 18:26

दक्षिण सुडानको शान्ति मिसनमा सशस्त्र प्रहरी युनिट उत्कृष्ट

बिआरटीनेपाल २०७७ फागुन १७ गते ७:१८ मा प्रकाशित

संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिस) मा दक्षिणी सुडानको जुवा भन्ने ठाउँमा तैनाथ विभिन्न देशका छवटा युनिटलाई उछिन्दै नेपालको सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट बनेको छ ।अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङको नेतृत्वमा गठित चार सदस्यीय कार्यसम्पादन परीक्षण तथा मूल्यांकन समितिले छवटा फर्म्ड पुलिस युनिट (एफपीयू) मध्ये राजधानी जुवामा तैनाथ नेपाल एफपियू– १ लाई सर्वोत्कृष्ट घोषणा गरेको हो । हाल दक्षिण सुडानमा नेपालको सशस्त्रका २, रुवान्डाका ३ र घानाको १ एफपीयु छन् ।

कार्यसम्पादन परीक्षण तथा मूल्यांकन प्रतिवेदनमा नेपाल एफपीयूले शतप्रतिशत नतिजा पाएको छ, जुन हालसम्मकै सर्वोत्कृष्ट भएको उक्त युनिटका कमाण्डिङ अफिसर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुमार न्यौपानेलेलाई उद्धृत गर्दै सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मिसनमा तैनाथ एफपीयूबीच विभिन्न विधामा मूल्यांकन गरी उत्कृष्ट छनोट गरिन्छ, जसमा मिसन कार्यादेशको ज्ञान र समर्थन, कमाण्ड एण्ड कन्ट्रोल, नागरिक सुरक्षा, अप्रेसनल तयारी र क्षमता, बन्दोबस्ती क्षमता, प्रशासन, तालिम र स्वास्थ्य तथा कल्याणकारी छन् । प्रत्येक विधामा अधिकतम चार–चार अंकका दरले ३२ पूर्णाङ्क छुट्याइन्छ । ६ फागनुमा लिइएको उक्त परीक्षण तथा मूल्यांकनमा सशस्त्रले ३२ अंक ल्याएको थियो ।

सशस्त्रको उक्त एफपीयूमा ३४ महिला सशस्त्र प्रहरीसहित १ सय ८० जनशक्ति तैनाथ छन् । २६ माघ २०७६ देखि दक्षिणी सुडानमा सशस्त्र प्रहरीको एफपीयू खटिँदै आएको छ । शान्ति प्रक्रियामा रहेको दक्षिण सुडानमा सन् २०२३ डिसेम्बरमा आमनिर्वाचनको मिति तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू