अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने

बिआरटीनेपाल २०७७ कार्तिक १ गते ७:२० मा प्रकाशित

यस वर्षको दसैंमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलने उच्च जोखिमका कारण सर्वसाधारणलाई राष्ट्रपति, प्रधानमन्त्रीलगायतले टीका नलगाइदिने बताईएको छ । विगतका वर्षहरुमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले समेत दुईरतीन दिनसम्म सर्वसाधारणलाई दसैंको टीका लगाइदिने गरिन्थ्यो । यस वर्षको दसैं शनिबारबाट सुरुवात भइसकेको छ । टीका लगाउने दिन कात्तिक १० गते परेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले विगतको जस्तो दसैंको टीका लगाउने कार्यक्रम नराखिएको जानकारी दिनुभयो । विगतका वर्षहरूमा राष्ट्रपतिले उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षानिकायका प्रमुखहरू, संवैधानिक आयोगका प्रमुखहरू लगायत उच्च पदस्थ व्यक्तिहरूलाई दसैंको टीका लगाइदिने गरिन्थ्यो ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पटकको दसैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नरहेको बताइएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयका अधिकारीहरूका अनुसार कोरोनाका कारण यसपटक त्यस्ता कार्यक्रम राखिएको छैन । विगतका वर्षहरूमा प्रधानमन्त्री ओलीले तीन दिनसम्म पनि सर्वसाधारणलाई दसैंको टीका लगाइदिने गर्नुभएकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू