अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४ | Colorodo: 20:59

“बलात्कारका घटना मिलापत्र र छोपछाप पार्ने कुरा सह्य हुन सक्दैनन्” -प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ असोज ३० गते ७:०७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारका घटना मिलापत्र गराउने र छोपछाप पार्ने कुरा सह्य नहुने बताउनुभएको छ । नेपाल प्रहरीको ६५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले बलात्कारका घटनामा कुनै पनि प्रलोभनमा नपर्न पनि प्रहरीलाई आग्रह गर्नुभयो । मुलुकका विभिन्न ठाउँमा बलात्कारका घटनामा स्थानीय, पञ्चायतहरू मिलेर मिलापत्र गराउने कुरा सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री ओलीले त्यस्ता कार्य कुनै पनि हालतमा सह्य नहुने र अनुचित रहेको बताउनुभएको हो ।

मुलुकमा कानुनी राजको स्थापना हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले त्यसका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । तेजाब आक्रमणविरुद्ध कडा कानुन ल्याएको स्मरण गराउँदै प्रधानमन्त्रीले बलात्कार जस्ता घटनामा पनि त्यस्तो कानुन ल्याउने प्रतिवद्धता जनाउनुभयो । बलात्कारजस्ता घटनाविरुद्ध नागरिक समाज पनि अगाडि आउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

गृहमन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा दैनिक ७ वटा बलात्कारका घटना प्रहरी प्रशासनमा दर्ता हुने गरेका छन् । त्यसमा ठूलो संख्यामा बालिकाहरू रहेको पनि तथ्यांकमा उल्लेख छ । बलात्कारीलाई मृत्युदण्ड दिने कानुन निर्माण गर्नुपर्ने माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले कडा कानुन निर्माण गर्नेबारे जानकारी गराउनुभयो । महिला सांसद र अधिकारकर्मीहरूले कम्तीमा बालिकाका बलात्कारीलाई मृत्युदण्ड दिनेजस्ता कडा कानुन निर्माण गर्नुपर्ने भन्दै माग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू